
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । यस रिटको सुनुवाई बिहीबार हुने भएको छ । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ । पौडेललाई विशेष अदालतले मंगलबार ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो ।

२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध ५० लाख बराबरको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगका अनुसार विशेष अदालतमा विचाराधीन झलकराम अधिकारीसमेत प्रतिवादी रहेको घुस तथा भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका चापागाईले अदालतमा दिएको बयान अनुसन्धानका क्रममा आयोगसमक्ष दिएको बयान र प्रमाणसँग बाझिएको पुष्टि भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थायी घर भएका चापागाईलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा सहयोग गरेबापत सरकारी साक्षी बनाइएको थियो। त्यसक्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार सजायमा पूर्ण छुट दिइएको थियो । तर, चापागाईले जेठ १३ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अभिव्यक्ति दिएको आयोगले जनाएको छ । आयोगका अनुसार झलकराम अधिकारीले राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने तथा अनुसन्धान प्रक्रिया अघि नबढाउने उद्देश्यले गैरकानुनी लाभ लिन खोजेका थिए। त्यसका लागि एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट ५० लाख बराबरको चेक विकासकुमार चापागाईको नाममा काट्न लगाइएको थियो । उक्त रकम चापागाईले आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनअनुसार जग्गा खरिदका लागि भुक्तानी गरिएको आयोगको आरोप छ । यसरी चापागाईले भ्रष्टाचारजन्य कार्यमा सहयोगी तथा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको भन्दै ५० लाख रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि सहयोगी तथा मतियारको भूमिका खेलेको पुष्टि भएको भन्दै सोही रकमलाई बिगो कायम गरी कानुनबमोजिम सजायको मागदाबी गरिएको छ ।


३- नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन र निजी क्षेत्रमैत्री बनाउँदै आर्थिक गतिविधि विस्तारमा केन्द्रित गर्न नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायीका लागि सहज वातावरण सिर्जना हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । चेम्बरले मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन तथा सेवा क्षेत्र अपेक्षाअनुसार चलायमान हुन नसकेको र निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको उल्लेख गर्दै आर्थिक पुनरुत्थानलाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ । प्रतिनिधिमण्डलले ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशतभन्दा बढी कर्जा प्रवाह हुने व्यवस्था गर्न सुझाव दिएको छ। साथै, एकल अंकको ब्याजदरलाई स्थायी नीति बनाउन, बैंक दर ५ प्रतिशत कायम गर्न, स्प्रेड दर ३ दशमलव ५ प्रतिशतमा सीमित गर्न तथा कार्यशील पुँजी कर्जा निर्देशिका २०७८ तत्काल खारेज गर्न माग गरेको छ । चेम्बरले व्यवसायीलाई सहज रूपमा कार्यशील पुँजी उपलब्ध गराउनुपर्नेमा जोड दिँदै सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई थप व्यवहारिक र व्यवसायमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। २०६४ सालअघि आर्जित सम्पत्तिको अभिलेख व्यवस्थित नभएकाले त्यस अवधिका सम्पत्तिको स्रोत सम्बन्धमा व्यावहारिक दृष्टिकोण अपनाउनुपर्ने सुझाव पनि दिएको छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थामा ग्राहक पहिचान प्रक्रिया अत्यधिक झन्झटिलो, दोहोरो र बैंकअनुसार फरक रहेको भन्दै एकीकृत डिजिटल प्रणाली लागू गर्न आग्रह गरिएको छ। एक पटक कुनै बैंकमा ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि अन्य बैंक तथा वित्तीय संस्थामा पुनः सोही प्रक्रिया दोहोर्याउन नपर्ने व्यवस्था गर्नुपर्ने चेम्बरको सुझाव छ। चेम्बरले बैंकिङ कागजात तथा फारामलाई पनि एकरूप बनाउन आग्रह गरेको छ। साथै, समयमै किस्ता र ब्याज तिर्न नसकेका उद्योगी–व्यवसायीलाई तत्काल कालोसूचीमा राख्नुको सट्टा व्यवसायको प्रकृति हेरेर पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा दिनुपर्ने जनाएको छ। विशेषगरी आवासीय तथा घरजग्गा क्षेत्रलाई पुनर्जीवित गर्न कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा धितो मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यसैगरी, कर्जा-आम्दानी अनुपातसम्बन्धी कठोर व्यवस्था पुनरावलोकन गर्न, व्यक्तिगत जमानी दिने व्यक्तिको दायित्व उसको सेयर स्वामित्वको अनुपातसम्म सीमित गर्न तथा सीमित दायित्वको सिद्धान्तलाई बैंकिङ क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको मतदान राति साढे ८ बजेदेखि शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मतदान साढे ८ बजेदेखि शुरु हुने जानकारी दिएको छ । आयोगले ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक सूची समेत सार्बजनिक गरेको छ । आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने समय तोकेको छ । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ । त्यस्तै दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ । एउटा कम्पनी कालोसूचीमा पर्दैमा सम्बन्धित अन्य कम्पनीको कारोबार प्रभावित नहुने व्यवस्था गर्नुपर्ने, बैंकिङ सेवा शुल्कलाई नियमन गर्नुपर्ने तथा बैंकिङ प्रक्रियालाई सरल, डिजिटल र सेवाग्राहीमैत्री बनाउनुपर्ने सुझाव पनि चेम्बरले दिएको छ ।

५- भीषण गर्मीका कारण फ्रान्समा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार गर्मीबाट राहत पाउन नदी, ताल र नहरमा पौडी खेल्न जाने क्रम बढेसँगै डुबेर ४० जनाको ज्यान गएको हो। मृतकमध्ये अधिकांश युवा रहेका छन् । त्यसैगरी, लू लागेर दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको जनाइएको छ । बढ्दो तापक्रमका कारण फ्रान्सको गोलफेस आणविक विद्युत् केन्द्र सोमबार रातिदेखि बन्द गरिएको छ । विद्युत् केन्द्रलाई चिसो बनाउन प्रयोग हुने गारोन नदीको तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएकाले उत्पादन रोकिएको हो । फ्रान्स मात्र होइन, युरोपका २६ देश अहिले भीषण गर्मीको चपेटामा परेका छन् । स्पेन, इटाली र बेलायतसहित १४ देशमा रातो सतर्कता जारी गरिएको छ। अधिकांश देशमा तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुग्ने अनुमान गरिएको छ । फ्रान्स सरकारले अत्यधिक गर्मीका कारण सार्वजनिक स्थानमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएको छ । मौसम निकायले सोमबार राति सन् १९४७ यता अभिलेख राख्न थालिएपछि सबैभन्दा तातो रात रहेको जनाएको छ। देशका केही क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण देशभर एक हजार ३५० भन्दा बढी विद्यालय बन्द गरिएको छ । वार्षिक रूपमा आयोजना हुने ‘फेत द ला म्युजिक’ सङ्गीत महोत्सवका क्रममा पनि सरकारले सार्वजनिक स्थानमा मदिरा सेवनमा प्रतिबन्ध लगाएको छ । हरेक वर्ष लाखौँ मानिस सडकमा उत्रिएर सहभागी हुने यस महोत्सवमा अत्यधिक गर्मीका बेला मदिरा सेवनले स्वास्थ्य जोखिम बढाउन सक्ने भन्दै रातो सतर्कता जारी गरिएका क्षेत्रमा प्रतिबन्ध लागू गरिएको हो । फ्रान्सको मौसम निकायले अहिलेको गर्मीको अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग मिल्दोजुल्दो रहेको जनाएको छ । सन् २००३ मा १६ दिनसम्म चलेको भीषण गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । उक्त घटना युरोपको इतिहासकै सबैभन्दा घातक गर्मीजन्य विपत्तिमध्ये एक मानिन्छ ।
६- गैरकानुनी रूपमा आधुनिक चिकित्सा उपचारमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिल बाँसबारीले नियमित अनुगमनका क्रममा काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन एएम (पौडेल) गैरकानुनी रूपमा चिकित्सकीय अभ्यासमा संलग्न रहेको फेला पारेपछि उजुरी दिएको थियो । काठमाडौँ जिल्लाको साविक मातातीर्थ गाउँ विकास समिति–७ स्थायी ठेगाना भएकी पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार जाँच तथा उपचार गरिरहेको भेटिएको जनाइएको छ । अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेपछि नेपाल मेडिकल काउन्सिलले छानबिन प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि प्रहरीसमक्ष उजुरी दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि मंगलबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–८ स्थितबाट पौडेललाई पक्राउ गरेको हो । प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

७- नेपाल आयल निगमले कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको एक ट्यांकर चोरी भएको र त्यसबाट ९७३ लिटर पेट्रोल हराएको जनाएको छ । निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्यांकरले भारतीय आयल निगमको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते बिहान करिब ८ बजे विराटनगरस्थित डिपोबाट करिब ३०० मिटर टाढा रहेको कञ्चनबारी पार्किङ क्षेत्रमा राखिएको थियो । ढुवानीकर्ताले असार ८ गते बिहान ९ बजे उक्त ट्यांकर पार्किङ स्थलबाट हराएको भन्दै निगमलाई लिखित जानकारी गराएको थियो । त्यसपछि निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराएर अनुसन्धान थालेको थियो । बन्द सर्किट क्यामेराको दृश्य अध्ययन गर्दा असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा ट्यांकर पार्किङ स्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । त्यसपछि निगम, प्रहरी र ढुवानीकर्ताको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा ट्यांकर बेवारिसे अवस्थामा फेला परेको थियो। ट्यांकरमा जडान गरिएको सुरक्षा ताला काटिएको अवस्थामा भेटिएको निगमले जनाएको छ । घटनास्थलमै प्रहरी, निगमका कर्मचारी र ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा मुचुल्का तयार गरी थप अनुसन्धानका लागि कागजात जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको थियो । त्यसपछि ट्यांकरलाई पुनः निगमको डिपोसँगै रहेको पार्किङ क्षेत्रमा ल्याएर सिलबन्दी गरी राखिएको थियो । असार १० गते जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा ट्यांकरको सिल खोली इन्धनको गुणस्तर र परिमाण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पेट्रोलको गुणस्तरमा कुनै समस्या नदेखिए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको निगमले जनाएको छ । बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ अनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको जनाएको छ ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ । असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आज पनि मतदान शुरु हुन नसकेपछि विहिबार बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि सारिएको छ । संघीय संसद सचिवालयले बिहिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक शुक्रबार दिउसो १ बजेदेखि बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको छ ।
९- नेप्सेमा आज दोहोरो अंकमा गिरावट आएको छ । आज बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुंग हाइड्रोको शेयर १४.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.०५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड ६२ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १७ करोड २२ लाख बराबरको कारोबार भएको छ ।
१०- लामो समयदेखि घट्दो जन्मदरको समस्यासँग जुधिरहेको दक्षिण कोरियाका लागि राहतको खबर आएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२६ को अप्रिल महिनामा जन्मिने बालबालिकाको संख्या पछिल्लो सात वर्षयताकै उच्च स्तरमा पुगेको छ । दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिल महिनामा २४ हजार ५२१ बालबालिकाको जन्म भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १८ प्रतिशतले बढी हो । यो सन् २०१९ यताकै अप्रिल महिनामा दर्ज भएको सबैभन्दा ठूलो संख्या हो । अप्रिल महिनामात्रै होइन, जनवरीदेखि अप्रिलसम्म कुल ९९ हजार ५३४ बालबालिकाको जन्म भएको छ । यो संख्या पनि पछिल्लो सात वर्षयताकै उच्च रहेको र गत वर्षको तुलनामा १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिएको छ । विशेषज्ञहरूले विवाहको संख्या बढ्नु र परिवार विस्तारप्रति नागरिकको सोचमा आएको परिवर्तनलाई जन्मदर बढ्नुको मुख्य कारण मानेका छन् । अप्रिल महिनामा विवाहको संख्या पनि ९ प्रतिशतले बढेर २० हजार ६२२ पुगेको छ, जुन पछिल्लो एक दशककै उत्कृष्ट तथ्याङ्कमध्ये एक हो । देशको कुल प्रजनन दर पनि बढेको छ। अप्रिलमा यो दर ०.९३ पुगेको छ, जबकि एक वर्षअघि यो ०.८० थियो । यद्यपि, जनसंख्या स्थिर राख्न आवश्यक मानिने २.१ को स्तरभन्दा यो अझै निकै तल रहेको छ । यसबीच सम्बन्धविच्छेदका घटनामा पनि वृद्धि भएको छ । अप्रिल महिनामा सात हजार ८२९ सम्बन्धविच्छेद भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो । अर्कोतर्फ, मृत्यु हुनेको संख्या भने सामान्य रूपमा घटेको छ । अप्रिलमा २८ हजार ४०५ जनाको मृत्यु भएको छ, जुन गत वर्षको तुलनामा १.३ प्रतिशतले कम हो । यद्यपि जन्मभन्दा मृत्युको संख्या अझै बढी रहेकाले देशको जनसंख्यामा तीन हजार ८८४ जनाको प्राकृतिक कमी आएको छ । त्यसका बाबजुद लगातार केही महिनादेखि जन्मदरमा देखिएको वृद्धि दक्षिण कोरियाका लागि आशाको नयाँ संकेतका रूपमा हेरिएको छ । सरकार र विज्ञहरूले यो सकारात्मक प्रवृत्ति आगामी दिनमा पनि कायम रहे घट्दो जनसंख्याको समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

११- नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव पेश गरेको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि तयार पारिएका सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत आर्थिक सूचकहरू उत्साहजनक र बलियो रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको भन्दै त्यसलाई पुनः लयमा फर्काउने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । परिसंघले आगामी मौद्रिक नीतिलाई तीन प्रमुख क्षेत्रमा केन्द्रित गर्न सुझाव दिएको छ। तत्काल कमजोर रहेको बजार माग बढाएर आर्थिक गतिविधि विस्तार गर्ने, मौद्रिक नीतिको अभ्यासमा सुधार गर्ने तथा नेपाल राष्ट्र बैंकभित्र संरचनागत सुधार अघि बढाउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । परिसंघले निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा घटाउन, कार्यशील पूँजीसम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिक बनाउन तथा धितोयुक्त कर्जाको वर्गीकरण र कालोसूचीकरणको समयसीमा विस्तार गर्न सुझाव दिएको छ । यस्तै, सरकारको उद्यम प्रवर्द्धन सुविधासँग आबद्ध नवप्रवर्तनशील उद्यमका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र नेपाल राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्नुपर्ने सुझाव पनि परिसंघले दिएको छ । अध्यक्ष पाण्डेले बजार माग बढाउने, लगानीकर्ताको आत्मविश्वास बलियो बनाउने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने खालको मौद्रिक नीति आवश्यक रहेको बताए । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति मुख्य रूपमा ब्याजदर व्यवस्थापन र वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक रहेको उल्लेख गर्दै लगानी र आर्थिक गतिविधि प्रवर्द्धनका लागि नियामक निकाय र उद्योग क्षेत्रबीचको घनिष्ठ समन्वय आगामी दिनमा पनि अपरिहार्य रहने धारणा राखे । सुझाव हस्तान्तरण कार्यक्रममा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, गभर्निङ परिषद् सदस्य शशिकान्त अग्रवाल, बैंक तथा वित्तीय समिति सभापति वरुणकुमार तोदीलगायतको सहभागिता रहेको थियो।
१२- प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिदै काठमाडौँ फर्किएका छन् । रास्वपाको नयाँ नेतृत्वको मतदान आज हुने तयारी भइरहेका बेला प्रधानमन्त्री शाह काठमाडौँ फर्किएका हुन् । शाह महाधिवेशनबाट यसअघिकै वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था गरेपछि चुनाव लड्न नपर्ने भएको छ । अर्कोतर्फ रास्वपाको आज हुने भनिएको मतदान अहिलेसम्म शुरु हुन नसक्दा महाधिवेशन अझै लम्बिने भएको छ भने कतिपय महाधिवेशन प्रतिनिधिहरु फर्किन समेत लागेका छन् ।

१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर तोलाको ४४८५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो ।

१४- ड्यानियल मुन्योसको डिफ्लेक्ट भएको प्रहारको मद्दतले कोलम्बियाले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोलाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । खेलमा घरेलु समर्थकको ठूलो साथ पाएको कोलम्बियाले थुप्रै अवसर खेर फाले पनि खेलको ७६औँ मिनेटमा क्रिस्टल प्यालेसका विङ्गब्याक मुन्योसले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । जुआन फर्नान्डो किन्तेरोको सुन्दर पास मुन्योससम्म पुगेको थियो । उनको बायाँ खुट्टाको प्रहार डिफेन्डरमा लागेर दिशा परिवर्तन हुँदा डिआर कङ्गोका गोलकिपर लियोनेल म्पासीलाई छल्दै नजिकको पोस्टबाट जाली चुम्यो । यो जितसँगै कोलम्बियाले लगातार दोस्रो खेल जित्दै समूह के को शीर्ष स्थानमा पुगेर अन्तिम ३२ मा स्थान पक्का गरेको छ । डिआर कङ्गो भने तेस्रो स्थानमा रहँदै बाहिरिने जोखिममा पुगेको छ । अब उनीहरूले अन्तिम खेलमा उज्बेकिस्तानलाई हराउनुपर्नेछ, मात्र त्यसपछि अगाडि बढ्ने सम्भावना रहनेछ । मुन्योस खेलको सुरुदेखि नै खतरनाक देखिएका थिए । खेलको चौथो मिनेटमै उनले गोल गर्ने राम्रो अवसर गुमाए, जदमा उनलाई आएको बल उनले साइड नेटमा प्रहार गरेका थिए । त्यसको दुई मिनेटपछि उनले हेडरमार्फत बल जालीमा पुर्याए पनि अफसाइडका कारण गोल मान्य भएन । पहिलो आधा घण्टासम्म कोलम्बियाले खेलमा पूर्ण दबाब बनाए पनि गोल गर्न सकेन । दोस्रो हाफमा पनि दबाब कायम रह्यो । ५०औँ मिनेटमा लुइस डियाजले स्पष्ट अवसर गुमाए, त्यसपछि रिबाउन्डमा जुआन आरियासको प्रहार पनि बाहिर गयो । तर खेल बराबरीतर्फ जाँदै गर्दा किन्तेरोले दिएको पासलाई मुन्योसले उत्कृष्ट रूपमा नियन्त्रण गर्दै निर्णायक गोल गरे । अन्तिम समयमा डिआर कङ्गोले बराबरी गोलका लागि प्रयास गरे पनि कोलम्बियाले अग्रता जोगाउँदै महत्वपूर्ण जित निकाल्यो ।
१५- अमेरिकाको न्युयोर्कमा ऐतिहासिक तथा पुरातात्विक महत्वका दुईवटा नेपाली मूर्तिहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष समारोहका बीच न्युयोर्क काउन्टी डिस्ट्रिक्ट एभिन्युको कार्यालयले १३औँ शताब्दीको ‘पद्मपाणि’ र १६औँ शताब्दीको ‘नृत्यदेवी’ को मूर्ति नेपाललाई बुझाएको हो । मूर्तिहरूको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्बन्धी सहमति पत्रमा नेपालका तर्फबाट महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन डिस्ट्रिक्ट एटर्नी कार्यालयको एन्टिक्स ट्राफिकिङ युनिटका प्रमुख कर्नल म्याथ्यु बोग्डानोसले हस्ताक्षर गरेका छन् । लामो समयअघि चोरिएका बहुमूल्य सम्पदा हस्तान्तरण गरिएका मूर्तिहरूमध्ये १३औँ शताब्दीको काँसको ‘पद्मपाणि’ मूर्ति काठमाडौँको थमेलस्थित विक्रमशील महाविहार (भगवान बहाल) को मुख्य धरोहर हो । सन् १९७१ सम्म मन्दिरमै रहेको यो मूर्ति सन् १९७१ देखि १९७७ को बीचमा अवैध रूपमा अमेरिका तस्करी गरिएको विश्वास गरिन्छ । त्यसैगरी, १६औँ शताब्दीको काठबाट बनेको ‘नृत्यदेवी’ को मूर्ति पाटनको इ-बहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना हो । सन् १९६९ देखि १९८३ को बीचमा नेपालबाट हराएको यो मूर्ति न्युयोर्कको प्रसिद्ध मेट्रोपोलिटन म्युजियमबाट बरामद गरिएको थियो । यी दुवै अमूल्य मूर्तिहरू न्युयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालय र अमेरिकी गृह सुरक्षा अनुसन्धान विभागको विशेष सक्रियतामा संकलन गरिएका हुन् । महावाणिज्यदूतावासका अनुसार यी दुवै मूर्तिहरूलाई पूर्ण सुरक्षाका साथ प्याक गरी जुन २५, २०२६ मा नेपालतर्फ ढुवानी गरिनेछ । ढुवानीको सम्पूर्ण व्यवस्थापन महावाणिज्यदूतावास र नेवाः गुठी न्युयोर्कको समन्वयमा भएको छ भने गुठीका प्रतिनिधिहरू स्वयम् मूर्तिहरूसँगै नेपाल जानेछन् । काठमाडौँ आइपुगेपछि यी मूर्तिहरूलाई नेपाल सरकारको पुरातत्व विभागलाई बुझाइने बताइएको छ । विभागले आवश्यक संरक्षण र प्रक्रिया पूरा गरेपछि मूर्तिहरूलाई तिनीहरूकै मूल स्थान (थमेल र पाटन) मा पुनस्र्थापित गरिने जनाइएको छ ।
१६- देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण फैलिएको भन्दै पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो तीन महिनादेखि देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । विभागका अनुसार २०८२ चैत ४ गते मोरङ जिल्लामा पहिलोपटक बर्ड फ्लु (एच ५ एन १ ) पुष्टि भएपछि हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ । त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ । कोशी प्रदेशमा संक्रमण फैलिन नदिन गृह मन्त्रालयसँगको समन्वयमा एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो । अहिले अवस्था नियन्त्रणमा आएपछि उक्त व्यवस्था खुकुलो बनाइएको छ । पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी गस्ती परिचालन गरिएको र अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको विभागले जनाएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, क्षेत्रीय प्रयोगशाला तथा राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामार्फत रोग पहिचानको कामलाई प्रभावकारी बनाइएको छ । संक्रमण पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन टोली र द्रुत कार्यदल परिचालन गरेर संक्रमित क्षेत्रमा रहेका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्री सुरक्षित रूपमा नष्ट गरिएको छ ।
विभागका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको छ । तर पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण बढ्दै गएको छ । यसैबीच, नेपालमा देखिएको बर्ड फ्लु भाइरसको स्वरूप परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको आनुवंशिक परीक्षण प्रक्रिया पनि सुरु गरिएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न र ढुवानीका सवारीसाधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन आग्रह गरेको छ । त्यस्तै, काग लगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी र दाना सम्पर्कमा आउन नदिने गरी पन्छीपालन गर्न पनि सुझाव दिइएको छ । पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था पालना गर्न विभागले आग्रह गरेको छ । विभागका अनुसार पछिल्लो समय बर्ड फ्लुसँगै कम घातक एभियन इन्फ्लुएन्जा, रानिखेत र इ. कोलाईजस्ता रोगको संक्रमण पनि धेरै पन्छीमा देखिएको छ । यस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई गहिरो खाडलमा पुरी आवश्यक निसंक्रमण गर्न आग्रह गरिएको छ । कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। साथै, बर्ड फ्लु नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको जनाएको छ ।
१७- जारी फिफा विश्वकप अन्तर्गत समूह एलको दोस्रो खेलमा इङ्ग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा क्रोएसियामाथि प्रभावशाली जित निकालेको इङ्ग्ल्यान्डले यसपटक भने घानाविरुद्ध त्यही लय दोहोर्याउन सकेन । प्रशिक्षक थोमस टुचेलको टोलीलाई यस खेलमा जित हात पार्न सके अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने अवसर थियो । तर घानाको सुदृढ र व्यवस्थित रक्षापङ्क्तिले इङ्ग्ल्यान्डलाई निराश बनायो । खेलको ५७औं मिनेटसम्म इङ्ग्ल्यान्डले लक्ष्यमा पहिलो प्रहार नै गर्न सकेन । रक्षापङ्क्तिमा पनि टोली दबाबमा देखियो र घानाले गरेको तीव्र प्रतिआक्रमणका क्रममा केही जोखिमपूर्ण अवस्थाबाट बच्न सफल भयो । गोलको खोजीमा टुचेलले एचिलिसको समस्याका कारण सीमित समय खेलाइँदै आएका बुकायो साकालाई मैदानमा उतारे । उनले जुड बेलिङ्घमलाई बाहिर निकाल्दै मोर्गन रोजर्सलाई मैदानमा पठाएका थिए । साकाले गरेको प्रहारलाई घानाका गोलरक्षक बेन्जामिन असारेले उत्कृष्ट बचाउ गरेका थिए । वैकल्पिक खेलाडी निको ओ’राइलीको हेडर क्रसबारमा लागेर फर्कियो भने मार्क गेहीको अर्को हेडरलाई रक्षापङ्क्तिले गोल रेखाबाटै फर्काएको थियो । दबाब बनाए पनि खेलको अन्त्यतिर इङ्ग्ल्यान्ड भाग्यमानी सावित भयो । एजरि कोन्साले पेनाल्टी क्षेत्रमा प्रिन्स क्वाबेना अडुलाई बलमा कुनै स्पर्श नगरी लडाएका थिए । तर रेफ्रीले पेनाल्टी दिएनन् । यो नतिजापछि इङ्ग्ल्यान्ड समूह एलको शीर्ष स्थानमा कायम रहेको छ । तर विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्न अब उसले अन्तिम खेलमा पानामाविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने भएको छ । त्यस्तै घानाको पनि २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । अब घानाले अन्तिम खेलमा क्रोसियाको सामना गर्ने छ ।
१८- क्रोसियाले पानामालाई १-० ले पराजित गर्दै फिफा फुटबल विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम राखेको छ । बुधबार बिहान सम्पन्न समूह एलको खेलमा पहिलो जित दर्ता गर्दै क्रोसियाले महत्वपूर्ण तीन अंक जोडेको हो । यस जितसँगै क्रोसियाले घानाविरुद्धको खेल जिते नकआउट चरणमा स्थान पक्का गर्नेछ । यसअघि घानाले इङ्ग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको नवौं मिनेटमा वैकल्पिक खेलाडी आन्ते बुडिमिरले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनको गोलसँगै लगातार दोस्रो हार बेहोरेको पानामाको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ । पहिलो हाफमा पानामाको तीव्र आक्रमणले सन् २०१८ को उपविजेता क्रोसियालाई दबाबमा राखेको थियो । टोलीको प्रदर्शनबाट असन्तुष्ट प्रशिक्षक ज्लाट्को डालिचले विश्रामपछि दुई आक्रामक परिवर्तन गरेका थिए । तीमध्ये एक परिवर्तनले तुरुन्तै नतिजा दियो। जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले सहज रूपमा पोस्ट नजिकबाट गोलमा परिणत गरेका थिए । यो जितसँगै क्रोसियाका कप्तान लुका मोड्रिचले आफ्नो दुई सयौं अन्तर्राष्ट्रिय खेललाई स्मरणीय बनाएका छन् । ४० वर्षीय मोड्रिच ८१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनी पुरुष फुटबलमा दुई सय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने चौथो खेलाडी बनेका छन् । पानामाले खेल बराबरीमा ल्याउने र प्रतियोगितामा आफ्नो सम्भावना जीवित राख्ने अवसरहरू सिर्जना गरेको थियो । तर क्रोसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले दोस्रो हाफको हाइड्रेसन ब्रेकअघि लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए । लगातार दोस्रो हारसँगै पनामाको विश्वकप यात्रा भने समुह चरणबाटै टुंगिएको छ । यद्यपी समुह चरणको अन्तिम खेलमा पनामाले इङल्याण्डको सामना गर्ने छ ।
१९- कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले जारी फिफा फुटबल विश्वकपमा उज्बेकिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित निकालेको छ । यससँगै रोनाल्डो विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । ४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ क्यान्सेलोको क्रसलाई नजिकको पोस्टमा हाफ भलीमार्फत गोलमा परिणत गर्दै कीर्तिमान बनाएका हुन् । यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग १-१ को बराबरी खेलेपछि आलोचना खेपेको पोर्चुगलले यसपटक भने विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । पोर्चुगलले १७औं मिनेटमा अग्रता दोब्बर बनायो । नुनो मेन्डेसले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा पुगेको थियो । उज्बेकिस्तानले अजीज गानिएभमार्फत शानदार गोल फर्काएको जस्तो देखिए पनि अब्बोसबेक फैजुल्लाएभले क्यान्सेलोलाई फाउल गरेको पाइएपछि गोल मान्यता पाएन । त्यसपछि खेलको ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले मध्यभागबाट उत्कृष्ट पास उपलब्ध गराएपछि रोनाल्डोले सहज रूपमा बललाई जालीको कुनामा पुर्याएका थिए । त्यसपछि उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले ४-० को अग्रता बनायो । अन्तिम समयमा वैकल्पिक खेलाडी राफाएल लिआओले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए । यो जितसँगै पोर्चुगल दुई खेलबाट शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि बुधबार हुने अर्को खेलमा कोलम्बियाले डिआर कङ्गोलाई हराएमा पोर्चुगललाई पछि पार्न सक्नेछ । उज्बेकिस्तान भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ । रोनाल्डोले भने अब विश्वकपमा कुल १० गोल पुर्याएका छन् । उनले सन् २००६, २०१०, २०१४ र २०२२ मा एक-एक गोल गरेका थिए भने सन् २०१८ मा चार गोल गरेका थिए । त्यसक्रममा स्पेनविरुद्धको ३-३ को बराबरीमा उनले ह्याट्रिक समेत पूरा गरेका थिए ।
२०- अमेरिकी संसदको माथिल्लो सदन सिनेटले इरानसँग सम्भावित युद्धको विरोध गर्दै प्रस्ताव पारित गरेको छ । ५०-४८ मतले पारित भएको उक्त प्रस्तावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य कारबाही रोक्न आग्रह गरिएको छ । यसअघि प्रतिनिधिसभाले पनि यही प्रस्ताव स्वीकृत गरिसकेको थियो । सन् १९७३ को युद्ध अधिकार ऐनपछि पहिलो पटक अमेरिकी संसदका दुवै सदनले कुनै राष्ट्रपतिलाई युद्धजस्तो कदम अन्त्य गर्न औपचारिक रूपमा आग्रह गरेका हुन् । मतदानका क्रममा चार रिपब्लिकन सांसदले डेमोक्रेट सांसदहरूको पक्ष लिएपछि ट्रम्पको दलभित्र असन्तुष्टि बढ्दै गएको संकेत देखिएको छ । यता ह्वाइट हाउसले भने यो प्रस्तावको कुनै कानुनी असर नहुने प्रतिक्रिया दिएको छ । साथै, अमेरिकी सैन्य कारबाही पहिले नै अन्त्य भइसकेको दाबी पनि गरिएको छ । यसैबीच अमेरिकी विदेश मन्त्री मार्को रुबियो संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतको भ्रमणमा पुगेका छन् । उनको उद्देश्य अमेरिका–इरान सम्झौताबारे खाडी मुलुकहरूमा देखिएको चिन्ता कम गर्नु हो। यी देशहरूले सम्झौतापछि होर्मुज जलडमरूमध्यमा इरानको प्रभाव बढ्न सक्ने भन्दै चासो व्यक्त गरेका छन्। साथै, इरानको क्षेप्यास्त्र कार्यक्रमबारे स्पष्ट सर्त नहुनु पनि चिन्ताको विषय बनेको छ। अमेरिका र इरानबीच भइरहेको वार्तामा इरानको पुनर्निर्माणका लागि करिब ३०० अर्ब डलरको कोषबारे पनि छलफल भइरहेको बताइएको छ । यसका लागि खाडी मुलुकहरूबाट आर्थिक सहयोग मागिन सक्ने अनुमान गरिएको छ। यही कारण वासिङ्टनले आफ्ना सहयोगी देशहरूको समर्थन जुटाउन प्रयास तीव्र पारेको छ । वार्ता अघि बढ्ने सम्भावनासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ०.५ प्रतिशतले घटेर प्रति ब्यारेल ७६.७१ डलर पुगेको छ, जुन मार्चपछि सबैभन्दा कम स्तर हो । विज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्य पुनः सहज रूपमा सञ्चालन हुने अपेक्षाले आपूर्ति बढ्ने संकेत दिएको छ, जसका कारण बजारमा दबाब कम भएको हो ।




