
काठमाडौँ । जारी फिफा फुटबल विश्वकपको सहआयोजक मेक्सिकोले दोस्रो हाफमा तीन गोल गर्दै चेक गणतन्त्रलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै मेक्सिकोले समूह चरणका सबै खेल जित्दै शतप्रतिशत अंकका साथ प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ भने चेक गणतन्त्रको यात्रा समूह चरणमै समाप्त भएको छ ।
मेक्सिकोले यसअघि दक्षिण अफ्रिका र दक्षिण कोरियालाई पराजित गर्दै अन्तिम खेलअघि नै समूह विजेताको रूपमा स्थान सुरक्षित गरिसकेको थियो । त्यसैले मुख्य प्रशिक्षक हाभियर अग्विरेले टोलीमा केही परिवर्तन गर्ने अवसर पाए ।

अघिल्लो खेलको तुलनामा सुरुआती टोलीमा समावेश गरिएका पाँच खेलाडीमध्ये एक मातेओ चाभेजले दोस्रो हाफ सुरु भएको केहीबेरमै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पहिलो गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए ।


प्रतियोगितामा पहिलो पटक सुरुआती टोलीमा मौका पाएका किशोर खेलाडी गिल्बर्टो मोराले पनि उत्कृष्ट प्रदर्शन गरे । मिडफिल्डमा प्रभावशाली देखिएका उनले दोस्रो गोलको अवसर सिर्जना गरेका थिए । मोराको पासमा जोर्ज सान्चेज गोलतर्फ अघि बढे । उनको प्रारम्भिक प्रयास गोलरक्षक मातेय कोभारले रोके पनि चेक गणतन्त्रको गोलक्षेत्रभित्र उत्पन्न भएको अव्यवस्थित अवस्थामा जुलियन किन्योनेसले बललाई जाली चुमाउँदै मेक्सिकोको दोस्रो गोल गरे। यो विश्वकपमा उनको दोस्रो गोल थियो । १७ वर्ष २५३ दिनका मोरा पुरुष विश्वकपको खेल सुरुआत गर्ने इतिहासकै छैटौँ कान्छा खेलाडी बने । साथै, मेक्सिकोका लागि विश्वकपमा सुरुआती टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान पनि उनले बनाए । ७२औँ मिनेटमा मैदानबाट बाहिरिँदा मोराले दर्शकबाट भव्य सम्मान पाएका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका आल्भारो फिदाल्गोले १५ यार्ड टाढाबाट आकर्षक प्रहार गर्दै तेस्रो गोल थपे ।
खेलका गोलबाहेक अज्टेका रंगशालामा सबैभन्दा ठूलो स्वागत ४० वर्षीय गोलरक्षक गुइलेर्मो ओचोआका लागि देखिएको थियो । खेलको अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनलाई समर्थकहरूले विशेष सम्मान दिएका थिए ।

ओचोआ आफ्नो छैटौँ विश्वकप अभियानमा सहभागी भएका छन् । यससँगै उनले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीको कीर्तिमान बराबरी गरेका छन् । यद्यपि उनी छ विश्वकप टोलीमा परे पनि चार संस्करणमा मात्र मैदानमा उत्रिएका छन् ।





