ऋषभ पन्त पारिश्रमिक घटाएर पुनः दिल्ली क्यापिटल्समा फर्किए

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासकै सबैभन्दा महँगा खेलाडी ऋषभ पन्त पुनः दिल्ली क्यापिटल्समा फर्किएका छन् । दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच भएको खेलाडी आदानप्रदानअन्तर्गत पन्त दिल्लीमा फर्किएका हुन् भने स्पिनर कुलदीप यादव लखनउमा आबद्ध भएका छन् ।

लखनउले २०२५ को खेलाडी लिलामीमा पन्तलाई कीर्तिमानी २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । यो इन्डियन प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो बोली थियो । तर नयाँ सम्झौताअनुसार पन्त १५ करोड रुपैयाँ पारिश्रमिकमा दिल्लीमा फर्किएका छन् । यता कुलदीप भने आफ्नो १३ करोड ५० लाख रुपैयाँको पारिश्रमिकमै लखनउमा आबद्ध भएका छन् ।

पन्तले यसअघि २०१६ देखि २०२४ सम्म लगातार नौ सिजन दिल्लीबाट खेलेका थिए । उनले दिल्लीका लागि १११ खेल खेल्दै तीन सिजनमा ४३ खेलमा टोलीको कप्तानीसमेत गरेका थिए । तर २०२५ को मेगा लिलामीअघि व्यवस्थापनसँगको मतभेदका कारण उनलाई टोलीले रिलिज गरेको थियो ।

लखनउमा बिताएका दुई सिजन भने पन्तका लागि अपेक्षाअनुसार सफल हुन सकेनन् । कप्तानका रूपमा रहेका पन्तको नेतृत्वमा लखनउ २०२५ मा सातौँ र २०२६ मा तालिकाको अन्तिम अर्थात् दशौँ स्थानमा रह्यो। उनले दुई सिजनमा २८ खेल खेल्दै ५८१ रन बनाए पनि कीर्तिमानी मूल्यअनुसारको प्रदर्शन गर्न नसकेको मूल्याङ्कन गरिएको छ ।

यता कुलदीप यादवको पाँच वर्ष लामो दिल्ली यात्रा समाप्त भएको छ । सन् २०२२ मा दिल्लीमा आबद्ध भएका उनले टोलीका लागि ६५ खेलमा ७२ विकेट लिएका थिए । अब उनी घरेलु क्रिकेट खेल्ने उत्तर प्रदेशकै टोली लखनउबाट खेल्नेछन् । त्यस अर्थमा यो कुलदीपका लागि पनि घरफर्काइ जस्तै बनेको छ ।

यस खेलाडी आदानप्रदानपछि दुवै टोलीले नयाँ सिजनका लागि आफ्नो संयोजनमा महत्वपूर्ण परिवर्तन गरेका छन् । दिल्लीले अनुभवी कप्तान र विकेटकिपर ब्याटर पन्तलाई पुनः टोलीमा भित्र्याएको छ भने लखनउले आफ्नो बलिङ आक्रमणलाई थप बलियो बनाउन कुलदीपलाई अनुबन्ध गरेको छ ।

यसबीच, इन्डियन प्रिमियर लिग इतिहासमा सबैभन्दा ठूलो पारिश्रमिक कटौतीको कीर्तिमान वेंकटेश अय्यरको नाममा रहेको छ । कोलकाताले २०२५ को मेगा लिलामीमा उनलाई २३ करोड ७५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । तर त्यसको एक सिजनपछि रोयल च्यालेन्जर्स बेङ्गलुरुले उनलाई केवल ७ करोड रुपैयाँमा अनुबन्ध गरेपछि उनको पारिश्रमिक १६ करोड ७५ लाख रुपैयाँले घटेको थियो ।

यो सूचीमा दोस्रो स्थानमा साम करन रहेका छन् । पञ्जाबले उनलाई १८ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । तर पछि चेन्नईले केवल २ करोड ४० लाख रुपैयाँमा अनुबन्ध गर्दा उनको पारिश्रमिक १६ करोड १० लाख रुपैयाँले घटेको थियो ।