
सञ्जय मिश्रा
रौतहट, १३ असार। नेपालमै पहिलो पटक अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन गर्ने आधुनिक उद्योग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। मधेश प्रदेशको रौतहटस्थित फतुवा विजयपुर नगरपालिका–९ हिमालीवासमा एमआर फर्टिलाइजर्स प्रा.लि.ले निर्माण गरिरहेको उद्योगले अगामी असोज महिनादेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका अनुसार उद्योग सञ्चालनमा आएपछि वार्षिक ५० हजार मेट्रिक टन अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन हुनेछ। नेपालमै पहिलो पटक यस प्रकारको मल उत्पादन हुन लागेकाले कृषि क्षेत्रमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।


उद्योगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अर्गानो–मिनरल मलसँगै विभिन्न प्रकारका प्लान्ट न्युट्रिएन्ट उत्पादन गर्ने तयारी गरेको छ। पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको चिन्ताका बीच अर्गानो–मिनरल मलले माटोको जैविक गुण संरक्षण गर्दै उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुग्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

कृषि विज्ञहरूका अनुसार सन्तुलित पोषकतत्व युक्त मलको प्रयोगले बालीको वृद्धि, उत्पादन र गुणस्तरमा सकारात्मक प्रभाव पार्छ। स्वदेशमै यस्ता मल उत्पादन हुन थालेपछि किसानले गुणस्तरीय मल सहज रूपमा प्राप्त गर्ने, उत्पादन लागत घट्ने तथा कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
उद्योग सञ्चालनसँगै मधेश प्रदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्थानीय युवाका लागि रोजगारीका अवसरसमेत सिर्जना हुने कम्पनीको दाबी छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै औद्योगिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।


हाल उद्योगको भौतिक संरचना निर्माण, अत्याधुनिक मेसिन जडान तथा प्राविधिक परीक्षणको काम तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ। निर्धारित समयमै सबै तयारी पूरा गरी असोजदेखि नियमित उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ।
नेपालको कृषि क्षेत्र वर्षौंदेखि आयातित रासायनिक मलमा निर्भर रहँदै आएको छ। समयमै मल अभाव हुने, आपूर्ति अनियमित रहने र किसानले सास्ती भोग्नुपर्ने समस्या दोहोरिने गरेको अवस्थामा स्वदेशमै अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन सुरु हुनु कृषि क्षेत्रका लागि सकारात्मक संकेत मानिएको छ।

यदि उद्योगले गुणस्तर कायम राख्दै निरन्तर उत्पादन गर्न सके, यसले आयातमा निर्भरता घटाउने, माटोको स्वास्थ्य सुधार्ने, किसानलाई सहज आपूर्ति सुनिश्चित गर्ने र दीर्घकालीन रूपमा कृषि उत्पादन तथा खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ। साथै, रौतहटमा स्थापना भएको यो उद्योग मधेश प्रदेशको औद्योगिकीकरण र रोजगारी विस्तारका दृष्टिले पनि महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।




