तीन वर्षमा १० रुपैयाँले घट्यो राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर, आईपीओ तयारीमै चुनौती

काठमाडौं, १५ असार । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने घोषणा गरेको राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमालेखमा प्रदान गर्दै आएको बोनसदर लगातार तेस्रो वर्ष पनि घटाएको छ। कम्पनीले आर्थिक वर्ष २०८३÷८४ का लागि प्रतिहजार बीमाङ्कमा ५० रुपैयाँ बोनसदर कायम गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ रुपैयाँले कम हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार मुनाफामा सहभागी हुने सबै प्रकारका जीवन बीमा योजनामा बीमा अवधिको भिन्नता नराखी समान रूपमा प्रतिवर्ष प्रतिहजार ५० रुपैयाँ बोनस प्रदान गरिनेछ। यसअघि आर्थिक वर्ष २०८२÷८३ मा कम्पनीले प्रतिहजार ५५ रुपैयाँ र आर्थिक वर्ष २०८१÷८२ मा ६० रुपैयाँ बोनस उपलब्ध गराएको थियो। यसरी हेर्दा कम्पनीले पछिल्ला तीन वर्षमा बोनसदर कुल १० रुपैयाँले घटाएको देखिन्छ।

नेपाल बीमा प्राधिकरण स्रोतका अनुसार कम्पनीको विगतका आर्थिक दायित्व तथा हिसाब–किताब व्यवस्थापनमा देखिएका समस्यालाई समाधान गर्दै घाटा व्यवस्थापन (रिकभरी) गर्न बोनसदर घटाउने नीति अपनाइएको हो।

प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्मको आर्थिक अवस्था, लेखाजोखा तथा दायित्व मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन २०८२ पुस २९ गते स्वीकृत गरेको थियो। सोही आधारमा कम्पनीले आर्थिक वर्ष २०८३÷८४ का लागि बोनसदर निर्धारण गरेको जनाएको छ।

कम्पनीका अनुसार अर्को बीमाङ्कीय मूल्याङ्कन सम्पन्न नभएसम्म यही बोनसदरलाई अन्तरिम बोनसदरका रूपमा लागू गरिनेछ। हाल कम्पनीले सावधिक जीवन बीमा, जीवन सुरक्षा, बच्चाको शिक्षा तथा विवाह बीमा, बाल उमङ्ग, सामूहिक सावधिक जीवन बीमा, राष्ट्र सेवक सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, संयुक्त जीवन बीमा योजना, जीवन बन्धु तथा वात्सल्य बीमालेख सञ्चालन गर्दै आएको छ। यी सबै योजनामा समान रूपमा प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरिएको छ।

यता सरकारले बजेटमार्फत राष्ट्रिय जीवन बीमा कम्पनीको पूँजी संरचना सुदृढ गर्न सर्वसाधारणमा सेयर बिक्री गर्ने घोषणा गरे पनि कम्पनीको वित्तीय तथा संस्थागत अवस्था भने चुनौतीपूर्ण देखिएको छ। कम्पनीले विगत सात वर्षदेखि नियमित लेखापरीक्षण सम्पन्न गर्न सकेको छैन भने साधारण सभा तथा वार्षिक प्रतिवेदनसमेत समयमै पारित हुन नसक्दा आईपीओ निष्कासन प्रक्रिया अघि बढ्न सकेको छैन।