
मुम्बई,, १५ असार । सन १९६० को दशकको सुरुवातमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी प्रख्यात अभिनेत्री बिन्दुले सिनेमाका केही महान् दिग्गजहरूसँग धेरै चलचित्रहरूमा काम गरेकी छिन्।
हिन्दी सिनेमको स्वर्ण युगमा थुप्रै स्टारहरूसँग काम गरिसकेकी उनले ९० को दशक र त्यस पछिका कलाकारहरूसँग पनि स्क्रिन सेयर गरेकी छिन्।


तर, हालै उनले त्यतिबेलाका चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू साझा गरेकी छिन, जस मध्ये चलचित्र ‘जोशिला’ को छायांकन दुई घण्टा रोकिएको एउटा प्रसङ्ग सुनाएकी छिन् । अभिनेत्री बिन्दुले फिल्म ‘जोशिला’ को छायांकनको एउटा किस्सा सुनाएकी हुन् । १९७३ को यो फिल्ममा उनले देवा आनन्द, हेमा मालिनी र राखी गुलजार जस्ता दिग्गजहरूसँग काम गरेकी थिइन्। यो फिल्म यश चोपडाले निर्देशन गरेका थिए।

अभिनेत्रीले खुलासा गरिन् कि उनलाई अचानक एक दृश्यको लागि बिकिनी लगाउन भनिएको थियो तर उनलाई यसबारे पहिले नै जानकारी भने दिइएको थिएन। युट्युबर विक्की लालवानीसँगको हालैको अन्तर्वार्तामा यस घटनाको बारेमा बोल्दै अभिनेत्रीले भनिन्, ‘मैले दुई घण्टाको लागि सुटिङ रोकेँ किनभने म उचित बिकिनी लगाउन तयार थिइनँ, बिकिनी आखिर बिकिनी नै हो। मैले यशजीलाई भनें, ‘कृपया, तपाईंले मलाई पहिले कहिल्यै यसबारे भन्नु भएको थिएन। अहिले सेटमा आई पुगे पछि मात्र मलाई यसको बारेमा थाहा भयो।’


बिन्दुले अगाडि भनिन्, ‘त्यसपछि यशजीले भन्नुभयो, ‘सकेसम्म पानीमा बस। हामी त्यसरी नै छायांकन गर्नेछौं, तिम्रो मात्र साइड र ब्याक शटहरू मात्र लिनेछौं, बिचरा देव आनन्दजी त्यहाँ चुपचाप बसिरहे तर एक शब्द पनि बोलेनन्। लगभग दुई घण्टासम्म सुटिङ रोकियो। म सोचिरहेँ कि उनको दिमागमा के चलिरहेको होला तर यशजीले मलाई आश्वस्त पार्दै भने, ‘हामी यसलाई सम्हाल्नेछौं, चिन्ता नगर।’
अभिनेत्रीले थप अगाडी भनिन, ‘उनीहरूले मलाई पोखरीमा पस्न भने र त्यहाँ पसे पछि भटाभट तस्बिरहरू लिए र त्यसपछि छेउ र पछाडिबाट मात्र छायांकन गर्ने काम भयो । पछि, मैले छायांकनकर्तालाई यो कस्तो देखिन्छ भनेर सोधें पछि उनले भने, ‘चिन्ता नगर्नुहोस्, तपाईं राम्रो देखिनुहुन्छ, यो अश्लील होइन, उनले त्यसो भनेपछि मलाई आश्वस्त महसुस भयो।’

आफ्नो करियरमा ८५ वर्षीया बिन्दुले जोशिला, डोली, आया सावन झूमके, इत्तेफाक, कटी पतंग, दो रास्ते, जंजीर, मेहबूबा, अभिमान, आइँहौं जस्ता धेरै फिल्महरूमा अभिनय गरेकी छिन्। ‘मै हुन ना’ मा नकारात्मक भूमिकाले उनलाई थप चर्चित बनाएको थियो ।




