
सञ्जय मिश्रा
रौतहट, १६ असार। रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तियाका युवा कुस्ती खेलाडी त्रिलोकी प्रसाद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम खेलकुद क्षेत्रमा चम्काएका छन्।
लगातारको मेहनत, अनुशासन र लगनशीलताले उनी रौतहटबाट अन्तर्राष्ट्रिय स्तरमा कुस्ती खेल्ने पहिलो खेलाडीका रूपमा परिचित बनेका छन्।

स्वर्गीय सन्तलाल राय यादवका नाति तथा रामनरेश प्रसाद यादवका छोरा त्रिलोकीले नेपालको प्रतिनिधित्व गर्दै कजाकिस्तानमा आयोजित काजाक कुरेस विश्व च्याम्पियनसिप, किर्गिस्तानमा सम्पन्न फ्रिस्टाइल रेस्लिङ एसियाली च्याम्पियनसिप, बेल्ट रेस्लिङ एसियाली च्याम्पियनसिप, पुनः कजाकिस्तानमा आयोजित काजाक कुरेस प्रतियोगिता तथा चीनमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। उनका यी सहभागिताले नेपाली कुस्तीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन समेत योगदान पुर्याएको छ।


राष्ट्रिय प्रतियोगितामा पनि त्रिलोकीको प्रदर्शन उत्तिकै प्रभावशाली रहेको छ। २०८३ असार ५ गते जनकपुरमा सम्पन्न राष्ट्रिय कुस्ती प्रतियोगिताको ९७ केजी तौल समूहमा स्वर्ण पदक जितेका उनले २०८३ असार १५ गते काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित रामवृक्ष राष्ट्रिय कुस्ती प्रतियोगितामा पनि सोही तौल समूहमा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेका छन्।
आफ्नो सफलताको श्रेय त्रिलोकीले परिवार, गुरु र साथीभाइलाई दिएका छन्। आमाबुबाको प्रेरणा, गुरुहरूको आशीर्वाद, साथीहरूको साथ तथा विशेषगरी दाइ बिके यादव र भाइ सुजित यादवको निरन्तर सहयोगले आफू यो स्थानसम्म आइपुगेको उनले बताए। साथै, प्रशिक्षणमा सहयोग गर्ने सम्पूर्ण प्रशिक्षक, विभाग र शुभेच्छुकहरूप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

रौतहट प्रायः फुटबल, क्रिकेट र भलिबलका कारण चर्चामा रहने भए पनि त्रिलोकी यादवले कुस्तीजस्तो परम्परागत खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हासिल गरेर जिल्लाको खेल इतिहासमा नयाँ अध्याय थपेका छन्। आवश्यक प्रशिक्षण, आधुनिक पूर्वाधार र राज्यको उचित प्रोत्साहन प्राप्त भए उनी भविष्यमा नेपालका लागि दक्षिण एसियाली, एसियाली तथा विश्वस्तरीय प्रतियोगितामा पदक जित्ने सम्भावना बोकेका प्रतिभावान खेलाडीका रूपमा स्थापित हुन सक्ने खेलकर्मीहरूको विश्वास छ।




