मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको तयारी पूरा, देशभर २७७ हेभी उपकरण तैनाथ

काठमाडौं, असार १८ — मनसुनका कारण हुन सक्ने सडक अवरोध र प्राकृतिक विपत्तिको सामना गर्न सडक विभागले देशभर उच्च सतर्कतासहित पूर्वतयारी पूरा गरेको जनाएको छ। विभागले यस वर्ष राजमार्गमा हुने अवरोध तत्काल हटाई यातायात सुचारु राख्न २७७ वटा हेभी उपकरण तथा प्राविधिक जनशक्ति तयारी अवस्थामा राखेको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार विभागअन्तर्गत रहेका १५ हजार किलोमिटर सडकमध्ये करिब १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष निगरानी र तयारी गरिएको छ। मुख्य राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

यस वर्षदेखि विभागले ‘सेतु’ सफ्टवेयरमार्फत देशभर रहेका उपकरण र अपरेटरको ‘लाइभ लोकेसन’ निगरानी गर्ने व्यवस्था मिलाएको छ। पहिरो वा अन्य अवरोधको सूचना प्राप्त हुनासाथ सबैभन्दा नजिकको उपकरण तत्काल परिचालन गरिने विभागको भनाइ छ।

विभागले नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ, कान्ति लोकपथलगायत पहिरो प्रभावित क्षेत्रमा बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ प्रविधिबाट जोखिम न्यूनीकरणको काम अघि बढाएको जनाएको छ।

मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा आपत्कालीन अवस्थामा सडक विभाग, सुरक्षा निकाय वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।