
राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ सार्वजनिक गरेको छ । नेपालमा आन्तरिक पर्यटनको अवस्था, खर्चको ढाँचा र अर्थतन्त्रमा यस क्षेत्रको योगदान मापन गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा यो विस्तृत सर्वेक्षण गरिएको हो ।
पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित यस सर्वेक्षणले आन्तरिक तथा वाह्य (आउटबाउन्ड) पर्यटनका विविध पक्षहरूलाई समेटेको छ ।


आधाभन्दा बढी घरपरिवार पर्यटनमा संलग्न
सर्वेक्षणकाअनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत (करिव ३६ लाख २१ हजार) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन् । पर्यटक घरपरिवारको औसत सदस्य संख्या ३.९४ रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले बताउनु भयो । जसमा पर्यटनमा ग्रामिण क्षेत्रको हिस्सा शहरी क्षेत्रको तुलनामा बढी देखिएको पनि उहाँले बताउनु भयो । उहाँले यो रिपोर्टले प्रदेश सरकारलाई समेत पर्यटन नीति निर्माण गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । शोधकर्ताहरुका लागि पनि यो तथ्यांक महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई पनि पर्यटन सम्बन्धि नीति निर्माण तय गर्नलाई व्यवसायीहरूलाई पनि त्यत्तिकै उपयोगी हुने र अन्य अध्ययन शोधकर्ताहरूलाई पनि एउटा शोध सामग्रीको रूपमा यसले काम गर्न सक्ने मैले महशुस गरेको छु यो रिपोर्टले । यसमा हामीले देखेको कुराहरूमा हामीले तथ्याङ्कलाई प्रश्तुतीकरण गरेका छौँ टेबलमा र ल्याङ्ग्वेजमा । अब त्यसलाई विभिन्न एङ्गलबाट अझै पनि हेर्न सकिन्छ । यो थप त्यसमा काम गर्ने इन्ट्रेस्ट हुने महानुभावहरूको अगाडिको जिम्मेवारी हो जस्तो मलाई लाग्छ । अब केही महत्वपूर्ण डेटाहरू आएको छ जस्तै स्टिल ४८५ हाम्रो इभन यो डोमेस्टिक टुरिजममा इनबाउण्ड टुरिजममा पनि निस्कन नसक्ने महानुभावहरू हुनुहुँदो रहेछ नेपालमा । हामी मध्येकै ५ सय २५ हामी निस्कन सक्ने रहेछौँ, ४ सय ८५ त निस्कनै सक्ने छैनौँ । त्यसकारणले यसमा समावेशिताको हिसाबले हैन, सामाजिक किसिमको इक्विटीको हिसावले पनि यसलाई विश्लेषण गरेर हेर्न सकिने जस्तो मलाई लाग्छ ।’
आन्तरिक भ्रमणमा ‘एकै दिन फर्किने’ पर्यटकहरूको मुख्य उद्देश्य किनमेल (३२.६ प्रतिशत) रहेको पाइएको छ भने स्वास्थ्य उपचार र आफन्त भेटघाट समान २०.१ प्रतिशत रहेको छ । ‘रात बिताउने’ पर्यटकहरूको हकमा भने ६५.५ प्रतिशतले साथीभाई तथा आफन्त भेटघाटलाई मुख्य उद्देश्य बनाएको देखिएको पोख्रेलले बताउनु भयो ।


रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन र वार्षिक औसत भ्रमण आवृत्ति ४.८१ पटक रहेको छ । प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेस प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा लामो (८.१८ दिन) पाइएको छ भने भ्रमण आवृत्तिका हिसावले गण्डकी प्रदेश (६.२६ पटक) अगाडि रहेको छ । आन्तरिक पर्यटनका लागि काठमाडौं, चितवन र कास्की प्रमुख गन्तव्य जिल्लाका रूपमा देखिएका छन् । जसमा मनोरञ्जनका लागि कास्की सबैभन्दा लोकप्रिय रहेको छ ।
युवा पुस्ताको बाहुल्यता
पर्यटकीय गतिविधिमा युवा पुस्ताको आकर्षण बढी देखिएको छ । पर्यटकहरूमध्ये २६.६ प्रतिशत ‘जेनेरेसन जेड’ (१३-२८ वर्ष) समूहका रहेका छन् । उमेर बढ्दै जाँदा भ्रमण गर्ने दरमा क्रमिक रूपमा कमी आएको सर्वेक्षणले देखाएको छ ।
वाह्य (आउटबाउन्ड) पर्यटनको अवस्था
नेपाली बासिन्दाले गर्ने वाह्य भ्रमणको उद्देश्यमा मुख्यतया किनमेल र धार्मिक यात्रा देखिएको प्रमुख तथ्यांक अधिकारी पोख्रेलले बताउनु भयो । सोही दिन फर्किने वाह्य भ्रमणमा ६३.९ प्रतिशत र रात बिताउने वाह्य भ्रमणमा ४०.३ प्रतिशत हिस्सा किनमेलको रहेको छ । बाह्य भ्रमणहरू विशेषगरी असोजदेखि पुससम्मको अवधिमा बढी हुने गरेको पाइएको छ ।

आर्थिक खर्च र योगदान
नेपाली घरपरिवारले पर्यटन सम्बन्धी गतिविधिमा वार्षिक कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये आन्तरिक पर्यटनमा ३ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ र वाह्य पर्यटनमा ६३ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको छ । खर्चको शिर्षकअनुसार किनमेलमा सबैभन्दा बढी (२६ प्रतिशत) खर्च हुने गरेको छ भने स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा प्रतिभ्रमण खर्चको हिस्सा अन्यको तुलनामा उच्च (३१.७८ प्रतिशत) रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा आन्तरिक पर्यटनले अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान पु¥याएको अनुमान गरिएको उहाँले बताउनु भयो । यस्तै, आन्तरिक पर्यटनबाट सिर्जित कुल वस्तु तथा सेवाको उत्पादन ३ खर्ब ८१ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको र यसले कुल १ खर्ब ४४ अर्ब ४९ करोड बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको पोख्रेलले बताउनु भयो ।
आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटन एक बलियो आधारस्तम्भका रूपमा उदाएको पुष्टि गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार यस सर्वेक्षणको नतिजाले आगामी दिनमा पर्यटन नीति निर्माण, पूर्वाधार विकास र क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । २०८१ को असोजदेखि २०८२ को भदौसम्म नेपाली बासिन्दाले कुल २ लाख ९३ हजर सोही दिन फर्किने तथा क६ लाख २० हजार रात बिहताउने वाह्य भ्रमण गरेका छन् ।




