
चितवन । नारायणघाट-बुटवल सडक आयोजनाअन्तर्गत जैविक विविधता संरक्षण तथा अभिवृद्धि कार्यक्रमका क्रममा नेपालमै पहिलो पटक बाँदरलाई सुरक्षित रूपमा सडक वारपार गराउन माथिल्लो आवरण पुल निर्माण गरिएको छ ।
आयोजनाका अनुसार नारायणघाट-बुटवल सडकखण्डको पितौजी क्षेत्र (कि.मि. ९+१२०) मा बाँदरका लागि विशेष रूपमा माथिल्लो आवरण पुल निर्माण गरिएको हो । यस पुलमार्फत बाँदरले सडक पार गर्दा सवारी दुर्घटनाको जोखिम कम हुनुका साथै प्राकृतिक वासस्थानबीचको आवागमन सहज हुने विश्वास गरिएको छ ।


यस पुलको उपयोगिता र प्रभावकारिताको अध्ययनपछि भविष्यमा उपयुक्त अन्य स्थानहरूको छनोट गरी यस्ता थप माथिल्लो आवरण पुल निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले सडक पूर्वाधार विकाससँगै वन्यजन्तु संरक्षण र जैविक विविधताको दीर्घकालीन संरक्षणलाई पनि प्राथमिकतामा राख्दै यस्ता संरचना निर्माण गरिएको जनाएको छ ।




