
काठमाडौं, २० असार – चार जिल्लामा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कैलाली : लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित सडकमा भे१क २५९६ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

तनहुँ : शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७९१७ नम्बरको इभी माइक्रोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ शान्तिटोल बस्ने ४४ वर्षीय बाबुराम गौतमको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको तनहुँ सेवा अस्पताल दुलेगौडा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।


बाँके : बैजनाथ गाउँपालिका-१ चिसापानी देउरालीस्थित सडकमा रा१च १३७८ नम्बरको पिकअप गाडीले भे.८ प ५९७३ नम्बरको स्कुटरलाई शुक्रबार बेलुकी ठक्कर दिँदा स्कुटरमा सवार सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई बस्ने ३८ वर्षीया गायत्री वलीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका स्कुटर चालकको न्युरो अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। प्रहरीले पिकअप गाडी चालकलाई नियन्त्रणमा लिएको छ।
बाँके : कोहलपुर नगरपालिका-३ मदनचोकस्थित सडकमा बा.प्र.०३-००१ ख २५३४ नम्बरको बसले भे२ह २५७ नम्बरको इ-रिक्सालाई शुक्रबार राति ठक्कर दिँदा ई-रिक्सा चालक सोही ठाउँ बस्ने २२ वर्षीय राज बुढाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

मोरङ, लेटाङ नगरपालिका-३ फारलाइनस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको सिटी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा सिटीमा सवार सोही नगरपालिका-४ सिद्धार्थ लाईन बस्ने ६० वर्षीया सन्चमाया लाहोतीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटना घाइते भएका सिटी चालक र सिटीमा सवार अन्य दुई जनाको एडभान्स अस्पताल लेटाङमा उपचार भइरहेको छ।




