आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको छ । सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले  १५ सय राजनीतिक नियुक्ति खारेज गरेको बताएका हुन् । उनले ‘हेल्लो सरकार’ मार्फत १० हजार ९३२ गुनासो प्राप्त भएको जानकारी गराएका छन् । उनले प्राप्त गुनासोमध्ये ८७७ वटाको समाधान र ३ हजार २८६ गुनासो समाधानको प्रक्रियामा रहेको बताए । साथै उनले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् । उनले सरकारको मुख्य प्राथमिकता सुशासन भएको बताउँदै यसअवधिमा सात वटा मुद्दा दर्ता भएको र १०१ व्यक्ति संस्थाप्रति प्रतिवादी र ११८ अर्ब विगोदावी गरेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । साथै सरकारको नीतिगत सुधार अन्तर्गत संघीय मन्त्रालयको संख्या २५ बाट घटाएर १८ कायम गरिएको बताइएको छ । मन्त्री पोखरेलले मन्त्रालयको संख्या घटाउँदा मुलुकको मन्त्रालयगत व्यवभार वार्षिक २० अर्ब कम हुने जानकारी गराएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्रमा समेत मन्त्रालयको संख्या घटाउने प्रतिवद्धता रहेको जनाउँदै मन्त्रालयको संख्या घटाएर १७ कायम गर्दा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय नयाँ बनाइएको जानकारी । उनले नीतिगत सुधारका कार्यक्रम अन्तर्गत नै ट्रेड युनियनहरु खारेज गरिएको समेत बताएका छन् । साथै जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ । बस विषयमा जानकारी दिदै मन्त्री पोखरेल ले ५३ परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत क्षतिपूर्ति वितरण गरेको, ३५ सहिद परिवारलाई मासिक ७ हजार जीवन निर्वाह प्रदान गरेको, ३३ सहिद परिवारलाई परिचयपत्र उपलब्ध गराएको, प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’ मनाउने व्यवस्था कार्यान्वयन गरेको, ८४३ जनालाई परिचयपत्र वितरण गरेको, १ हजार ५५५ जनालाई राहत तथा भइपरी सहायता वितरण गरेको, ५१३ गम्भीर घाइतेलाई मासिक उपचार सहयोग उपलब्ध गराएको र  सहिद परिवारका ३३ सदस्यलाई नेपाल विद्युत प्राधिकरणअन्तर्गत करार सेवामा रोजगारी प्रदान गरेको जानकारी गराएका हुन् ।

२- सरकारले किसानको पहिचान, सम्मान र संरक्षणलाई व्यवस्थित बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रमअन्तर्गत हालसम्म देशभर २६ लाख ४५ हजार किसान परिवार सूचीकृत भएका छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुसार राष्ट्रिय अभियानका रूपमा सञ्चालन भइरहेको यो कार्यक्रम सरकारको एक सय बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश गरिएको छ। पछिल्लो समय कृषि, वन तथा वातावरण मन्त्रालयको सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय तथा स्थानीय तहहरूको निरन्तर प्रयासका कारण सूचीकरण अभियानले तीव्र गति लिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत गर्ने लक्ष्य राखिएको थियो। तर लक्ष्यभन्दा बढी प्रगति गर्दै हालसम्म २६ लाख ४५ हजार किसान परिवार सूचीकरण प्रणालीमा आबद्ध भएका छन्। यो संख्या देशका कुल किसान परिवारमध्ये करिब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि किसानको वर्गीकरणसहित परिचयपत्र वितरण कार्यक्रम अघि बढाउने तयारी गरेको छ। त्यसका लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्रलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । केन्द्रले सूचीकरण प्रणालीको अद्यावधिक, प्रदेश र स्थानीय तहसँग समन्वय तथा सहजीकरणलाई तीव्र बनाएको जनाएको छ। साथै स्थानीय तहलाई सूचीकरण र प्रमाणीकरणको कामलाई प्राथमिकतामा राखी यथाशीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ । सरकारका अनुसार किसान परिचयपत्र वितरण भएपछि किसानको औपचारिक पहिचान र सम्मान सुनिश्चित हुने, सरकारी सेवा तथा सुविधा एकीकृत रूपमा उपलब्ध गराउन सहज हुने, कृषि तथ्याङ्क व्यवस्थापन प्रभावकारी बन्ने, अनुदानको अनुगमन सुदृढ हुने तथा विभिन्न सरकारी प्रणालीबीच अन्तरसम्बन्ध कायम गरी सेवा प्रवाहलाई थप सरल र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

३- इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरमा लाखौँ मानिस भेला भएका छन् । शिया परम्पराअनुसार कालो पोसाक लगाएका श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले छाती पिट्दै शोक व्यक्त गरेका छन् । यस क्रममा ‘रगत बग्नेछ’, ‘अमेरिका मुर्दावाद’ र ‘बदला, बदला’ जस्ता नारासमेत घन्किएका छन् । खामेनीको अन्त्येष्टिसम्बन्धी कार्यक्रम जुलाई ३ देखि सुरु भएको हो, जुन जुलाई ९ सम्म सञ्चालन हुनेछ । शुक्रबार सम्पन्न कार्यक्रममा एक सयभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।  यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई खामेनीको अन्त्येष्टिका लागि एक साताको समय दिएको दाबी गरेका छन् । उनले मानवीय आधारमा यस्तो निर्णय गरिएको बताउँदै कार्यक्रम सकिएपछि इरानले अमेरिकाले अघि सारेका सर्तहरू स्वीकार गर्नुपर्ने टिप्पणी गरेका छन् । खामेनीको निधन हुँदा इरान र अमेरिकाबीच युद्ध चलिरहेको थियो । इरानका विभिन्न क्षेत्रमा निरन्तर बमबारी भइरहेका कारण शवयात्रामा लाखौँ मानिसको ज्यान जोखिममा पर्ने सम्भावना थियो । यही कारण सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अन्त्येष्टि कार्यक्रम चार महिनापछि आयोजना गरिएको बताइएको छ । जुलाई ३ देखि ९ सम्म सञ्चालन हुने कार्यक्रमलाई इरानले राष्ट्रिय एकता र शक्ति प्रदर्शनका रूपमा पनि अघि बढाएको छ । करिब दुई करोड मानिस सहभागी हुने अपेक्षा गरिएको छ भने एक सयभन्दा बढी देशका प्रतिनिधिको उपस्थिति रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्लेषकहरूले विशाल जनसहभागितामार्फत इरानले आफ्नो शासन व्यवस्था र इस्लामिक क्रान्ति अझै मजबुत रहेको सन्देश विश्वलाई दिन खोजेको बताएका छन् । शिया इस्लाममा मुहर्रम महिनालाई शोक र बलिदानको प्रतीक मानिन्छ । सातौँ शताब्दीमा इमाम हुसेनको शहादत यही महिनामा भएको विश्वास गरिन्छ । खामेनीको वंश पनि इमाम हुसेनसँग जोडिएको मानिने भएकाले यही महिनामा अन्त्येष्टि कार्यक्रम आयोजना गरिएको हो । खामेनीको पार्थिव शरीरलाई कम तापक्रमयुक्त शवगृहमा सुरक्षित राखिएको थियो । इस्लाम धर्ममा रासायनिक पदार्थ प्रयोग गरेर शव संरक्षण गर्न अनुमति नहुने भएकाले चिसो तापक्रममार्फत मात्र सुरक्षित राखिएको जनाइएको छ । युद्धजस्ता असाधारण अवस्थामा अन्त्येष्टिमा ढिलाइ गर्न र पार्थिव शरीर सुरक्षित राख्न शिया धार्मिक परम्पराले अनुमति दिने भएकाले त्यसका लागि धार्मिक स्वीकृति पनि लिइएको थियो । खामेनीको अन्तिम यात्रा पाँच महत्वपूर्ण शहर हुँदै अघि बढ्नेछ । तेहरानबाट अन्तिम दर्शन सुरु हुनेछ । यहाँ ग्रान्ड मोसल्लामा धार्मिक तथा सरकारी कार्यक्रमहरू आयोजना गरिन्छ र यही शहर इरानको राजनीतिक शक्ति केन्द्र पनि हो । त्यसपछि यात्रा कोम पुग्नेछ, जुन शिया धार्मिक शिक्षाको सबैभन्दा ठूलो केन्द्र मानिन्छ । यहाँ रहेको फातिमा मासूमाको दरगाह शिया समुदायको प्रमुख धार्मिकस्थलमध्ये एक हो । तेस्रो चरणमा यात्रा इराकको करबला पुग्नेछ । इमाम हुसेनको दरगाह रहेको यो शहर शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिन्छ र बलिदान तथा संघर्षको प्रतीकका रूपमा हेरिन्छ । त्यसपछि यात्रा नजफ पुग्नेछ, जहाँ इमाम अलीको दरगाह रहेको छ। नजफलाई शिया धर्मगुरु र धार्मिक अध्ययनको विश्वकै प्रमुख केन्द्र मानिन्छ । अन्तिम चरणमा यात्रा मशहद पुग्नेछ । इमाम रिजाको दरगाह रहेको यो शहर इरानकै सबैभन्दा पवित्र धार्मिक शहर मानिन्छ । खामेनीको जन्म पनि यही शहरमा भएकाले उनको अन्तिम संस्कार पनि यहीँ गरिनेछ । अन्त्येष्टि कार्यक्रममा सहभागी धेरै व्यक्तिका हातमा रातो झण्डा देखिएका छन् । शिया परम्परामा रातो झण्डालाई बदलाको प्रतीक मानिन्छ । तेहरान विश्वविद्यालयका अनुसन्धानकर्ता मोहम्मद इस्लामीका अनुसार यी झण्डाले खामेनीका समर्थकहरूबाट उनको हत्यामा संलग्नमाथि कारबाहीको माग र बदलाको सन्देश व्यक्त गरेका हुन् ।  अन्त्येष्टि कार्यक्रमका कारण इरानले अमेरिकासँग युद्ध अन्त्यका विषयमा भइरहेको अप्रत्यक्ष वार्ता हालका लागि स्थगित गरेको छ । साथै इरानी सेनाले अन्त्येष्टिका क्रममा कुनै पनि सैन्य कारबाही नगर्न अमेरिका र इजरायललाई चेतावनी दिएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अन्त्येष्टिका लागि एक साताको समय दिएको दोहोर्याउँदै त्यसपछि सम्झौताका लागि इरान तयार हुने विश्वास व्यक्त गरेका छन् ।

४- नारायणघाट-बुटवल सडक आयोजनाअन्तर्गत जैविक विविधता संरक्षण तथा अभिवृद्धि कार्यक्रमका क्रममा नेपालमै पहिलो पटक बाँदरलाई सुरक्षित रूपमा सडक वारपार गराउन माथिल्लो आवरण पुल निर्माण गरिएको छ । आयोजनाका अनुसार नारायणघाट-बुटवल सडकखण्डको पितौजी क्षेत्र (कि.मि. ९+१२०) मा बाँदरका लागि विशेष रूपमा माथिल्लो आवरण पुल निर्माण गरिएको हो । यस पुलमार्फत बाँदरले सडक पार गर्दा सवारी दुर्घटनाको जोखिम कम हुनुका साथै प्राकृतिक वासस्थानबीचको आवागमन सहज हुने विश्वास गरिएको छ । यस पुलको उपयोगिता र प्रभावकारिताको अध्ययनपछि भविष्यमा उपयुक्त अन्य स्थानहरूको छनोट गरी यस्ता थप माथिल्लो आवरण पुल निर्माण गर्ने योजना रहेको आयोजनाले जनाएको छ ।आयोजनाले सडक पूर्वाधार विकाससँगै वन्यजन्तु संरक्षण र जैविक विविधताको दीर्घकालीन संरक्षणलाई पनि प्राथमिकतामा राख्दै यस्ता संरचना निर्माण गरिएको जनाएको छ ।

५-  काठमाडौँ महानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरले काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गरेकी थिइन् ।  समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो ।  त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताइन् ।  पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको थियो ।  घरधुरी सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको महानगरले जानकारी दिएको हो । काठमाडौँ महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा छन् । यसमध्ये घरधुरी सर्वेक्षणमा २० हजार ५१ जना बालबालिकासँग सम्पर्क भएको थियो ।  घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्मका ३५ हजार ३३२ जना बालबालिका लक्षित समूहमा थिए । यस समूहमा ४ हजार ८ सय बालबालिका भेट्टाइए । यीमध्ये ३ जनामा शुन्य डोज खोप थियो भने १६ जनाले आंशिक खोप लगाएका थिए ।  १६ महिनादेखि २३ महिनासम्मका ९ हजार १०७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणका क्रममा ३ हजार ८६८ जना बालबालिका भेटिए । जसमा १ जनामा शून्य डोज थियो । ५० जनामा आंशिक डोज थियो ।  २४ महिनादेखि ५ वर्षसम्मका ४४ हजार ६१७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणमा ११ हजार ३८३ जना बालबालिका भेटिए । यसमा २ जनामा शून्य डोज र ८३ जनामा आंशिक डोज थियो । यसरी भेट्टाइएका बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो ।

६- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा २ जना तथा मधेश र गण्डकी  प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने काठमाडौँमा १८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ३ जना र कर्णालीमा ५ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा ९  जना र सुदूरपश्चिममा २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

७- हलिउड गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल खेलाडी ट्राभिस केल्स विवाह बन्धनमा बाँधिएका छन् । टेलर स्विफ्टका प्रतिनिधिले दुवैको विवाह भएको पुष्टि गरेका छन्। प्रतिनिधिका अनुसार उनीहरूले अमेरिकाको न्युयोर्क सहरस्थित म्याडिसन स्क्वायर गार्डेनमा विवाह गरेका हुन् । विवाह समारोहको औपचारिकता हलिउड अभिनेता एडम स्यान्डलरले सम्पन्न गराएका थिए । पीपल म्यागजिनका अनुसार विवाह समारोहमा हलिउडका थुप्रै चर्चित कलाकार तथा सेलिब्रिटीहरूको उपस्थिति रहेको थियो । समारोहमा जीजी हदीद, ब्राड्ली कुपर, डकोटा जोन्सन, मारिस्का हार्गिटे, पिटर हर्मन, एड शीरन, चेरी सीबोर्न, हाइम दिदीबहिनी, एली गोल्डिङ, बेन्सन बुन, मारेन मोरिस, केल्सी ब्यालेरिनी, मिरान्डा ल्याम्बर्ट, ब्राड पेस्ली, किम्बर्ली विलियम्स पेस्ली, ह्यु ग्रान्ट, कार्ली क्लस, जोशुआ कुशनर, जो क्राभिट्ज, जेसन सुडेकिस, इथन हक, जिमी फ्यालोन र टमी हिलफिगरलगायत सहभागी भएका थिए । विवाहअघि टेलर स्विफ्ट र ट्राभिस केल्सले परिवार तथा निकट साथीभाइसँग विशेष रात्रिभोजको आयोजना गरेका थिए । उक्त कार्यक्रम म्याडिसन स्क्वायरस्थित इन्फोसिस थिएटरमा सम्पन्न भएको बताइएको छ । यद्यपि, विवाह सम्पन्न भए पनि टेलर स्विफ्ट र ट्राभिस केल्सले हालसम्म आफ्नो विवाह समारोहका कुनै तस्बिर वा सामाजिक सञ्जालमा कुनै पोस्ट सार्वजनिक गरेका छैनन् । दुवैले २०२५ अगस्ट २६ मा इन्स्टाग्राममार्फत आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए । त्यसबेला ट्राभिसले फूलले सजिएको सुन्दर बगैँचामा टेलरलाई विवाहको प्रस्ताव राखेका थिए, जसका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनेका थिए ।

images

८-  अल्जेरियाका कप्तान रियाद महरेजले फिफा विश्वकप २०२६ बाट टोली बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । स्विजरल्यान्डसँग अन्तिम ३२ को चरणमा पराजित भएपछि उनले राष्ट्रिय टोलीका लागि उक्त खेल नै आफ्नो अन्तिम भएको बताएका हुन् । हारपछि प्रतिक्रिया दिँदै महरेजले टोलीको लक्ष्य अर्को चरणमा पुग्ने भए पनि आफ्नै गल्तीका कारण दुई गोल बेहोर्नुपर्दा ठूलो मूल्य चुकाउनुपरेको बताए । उनले उक्त खेल जित्न सकिने विश्वास भए पनि अवसर गुमेको स्वीकार गर्दै राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा यहीँ समाप्त भएको बताए । फ्रान्समा जन्मिएका महरेजले सन् २०१३ मा अल्जेरियाबाट खेल्ने निर्णय गरेका थिए । सोही वर्ष उनले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए । सन् २०१४ को फिफा विश्वकपमा उनले अल्जेरियालाई अन्तिम १६ सम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ को अफ्रिका राष्ट्रकपको उपाधि रह्यो । सेमिफाइनलमा नाइजेरियाविरुद्ध इन्जुरी समयमा गरेको आकर्षक फ्रि-किक गोल प्रतियोगिताकै सबैभन्दा सम्झनलायक क्षणमध्ये एक मानिन्छ । त्यसपछि अल्जेरियाले फाइनलमा सेनेगललाई हराउँदै करिब तीन दशकपछि महादेशीय उपाधि जितेको थियो । फिफा विश्वकप २०२६ पनि महरेजका लागि व्यक्तिगत रूपमा स्मरणीय रह्यो । उनले चार खेलमा तीन गोलमा प्रत्यक्ष योगदान दिए । अस्ट्रियाविरुद्ध दुई गोल गरे भने जोर्डनविरुद्ध एक गोलका लागि अवसर सिर्जना गरेका थिए । यससँगै उनी विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै गोलमा योगदान दिने अल्जेरियाली खेलाडी बने । साथै, विश्वकपको नकआउट चरणको खेल सुरु गर्ने दोस्रो सबैभन्दा पाका अफ्रिकी फुटबलरको कीर्तिमान पनि उनले बनाए । ३५ वर्षीय महरेजले १२ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अल्जेरियाका लागि १२० खेल खेल्दै ४० गोल गरेका छन् । उनी देशका सबैभन्दा प्रभावशाली फुटबलरमध्ये एकका रूपमा परिचित छन् । सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने दोस्रो अल्जेरियाली खेलाडीका रूपमा उनले आफ्नो अन्तर्राष्ट्रिय यात्रा टुंग्याएका छन् ।

९- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ । विभागले मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएसँगै नेपाल आयल निगमले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको उल्लेख गर्दै आम उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न विभागले आग्रह गरेको हो । विभागले खाद्यान्नलगायत सबै वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन सबै विक्रेता, व्यवसायी, ढुवानीकर्ता तथा सेवा प्रदायकलाई अनुरोध गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरेको छ ।

images

१०-  ह्वाट्सएपमा प्रस्तावित प्रयोगकर्ता नाम सुविधा (युजरनेम) सम्बन्धी विषयमा भारत सरकार र मेटाबीचको छलफल निर्णायक चरणमा पुगेको छ । विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयका अधिकारी र मेटाको टोलीबीच भएको बैठकमा सरकारले यस सुविधासँग सम्बन्धित सुरक्षा चिन्ताबारे विस्तृत रूपमा जानकारी गराएको छ । साथै, मेटालाई तीन दिनभित्र आफ्नो अन्तिम र विस्तृत जवाफ पेश गर्न निर्देशन दिइएको छ । बैठकमा मन्त्रालयले प्रस्तावित सुविधाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे मेटासँग स्पष्टिकरण मागेको थियो । सरकारले तोकिएको समयभित्र कम्पनीले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको छ । त्यसपछि प्राप्त जवाफका आधारमा आवश्यक निर्णय लिइने बताइएको छ । भारत सरकारले मुख्य चिन्ता साइबर अपराधको जोखिमसँग जोडिएको बताएको छ । पर्याप्त सुरक्षा व्यवस्था बिना प्रयोगकर्ता नाम सुविधा लागू भएमा अनलाइन ठगी, जानकारी चोरी गर्ने प्रयास, डिजिटल पक्राउको नाममा हुने ठगी तथा अरूको पहिचान दुरुपयोग गर्ने घटनामा वृद्धि हुन सक्ने सरकारको भनाइ छ । त्यसैले सुविधा सार्वजनिक गर्नुअघि आवश्यक सबै सुरक्षा मापदण्ड सुनिश्चित हुनुपर्नेमा सरकारले जोड दिएको छ । यसअघि नै केन्द्र सरकारले मेटालाई औपचारिक सूचना पठाएर प्रस्तावित सुविधाबारे प्रश्न उठाएको थियो । सूचनामा यस्तो सुविधा लागू भएपछि साइबर अपराध बढेमा सूचना प्रविधिसम्बन्धी कानुन र सम्बन्धित नियमअनुसार कम्पनीविरुद्ध किन कारबाही नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ मागिएको थियो । सरकारले मेटालाई यस विषयमा आफ्नो सन्तुष्टिअनुसार छलफल पूरा नभएसम्म प्रयोगकर्ता नाम सुविधा लागू नगर्न पनि निर्देशन दिएको छ । साथै, ह्वाट्सएप महत्त्वपूर्ण सामाजिक सञ्जाल सेवा प्रदायक भएकाले सूचना प्रविधिसम्बन्धी कानुन र नियमअनुसार आवश्यक सावधानी अपनाउने तथा प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने कानुनी दायित्व कम्पनीकै हुने सरकारको भनाइ छ ।

११- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ । मोरङका कार्की हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत छन् । सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नेछन् ।  दिनेश थपलियाको पदावधि सकिएपछि निर्वाचन आयोगको प्रमुख आयुक्त पद रिक्त रहँदै आएको छ । रामप्रसाद भण्डारीले कार्यवाहक नै रहेर २०८२ फागुन २१ गतेको आम निर्वाचन सम्पन्न गराएका थिए । संवैधानिक परिषद्ले पूर्वप्रहरी नायब महानिरीक्षक डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा. सुब्बा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भएर अवकाश भएका थिए । वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् । हाल उनी सूचना प्रविधि विषयमा अध्ययन-अध्यापन गराउँछन् । वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधिवक्ता) पनि हुन् ।  निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त थियो । भण्डारी पनि अवकाशमा जाने भएपछि तीन जनाको पद रिक्त हुने भएको हो । त्यसैकारणले परिषद्ले तीन जनाको नाम सिफारिस गरेको छ ।

images

१२-  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुंदा बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ । सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको हो । आज असार २० गते घटनास्थल पुगेर ती उपकरणसहित खोजीकार्य हुनेछ । सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामर सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण  लिएर गएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी  असार १८ गते सडकबाट अन्दाजी ६÷७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली  खटिएको थियो । सोही दिन दुर्घटनास्थलबाट करीव ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुष व्यक्तिको शव निकालिएको थियो ।  गाडी र अन्य यात्रुको अबस्था अहिले सम्म अज्ञात छ ।

१३- जारी फिफा विश्वकपको अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान अन्तिम ३२ का खेलहरुसकिएसँगै नकआउट चरणको अन्तिम १६ को समीकरण पुरा भएको हो । अन्तिम ३२ बाट जर्मनी, नेदरल्याण्डस, सेनेगल, जापान जस्ता देशहरु बाहिरिएका छन् भने केप भर्डेजस्तो सानो देशले अनुशासित र शानदार फुटबल खेलेर सबैलाई प्रभावित पारेको छ । विश्वकपबाट बाहिरिए पनि अर्जेन्टिना जस्तो बलियो टिमलाई केप भर्डेले दिएको चुनौतीको सबैले प्रसंशा गरेका छन् । विश्वकपको अन्तिम १६ मा आयोजक तीन देश अमेरिका,मेक्सिको र क्यानडा पुगेका छन् । त्यस्तै फ्रान्स, पराग्वे, मोरक्को, पोर्चुगल, स्पेन, बेल्जियम, ब्राजिल नर्वे, इङल्याण्ड, अर्जेन्टिना, इजिप्ट, स्वीजरल्याण्ड र कोलोम्बिया पुगेका छन् ।  अब अन्तिम १६ मा पराग्वेले फ्रान्सको सामना गर्ने छ भने क्यानडाले मोरक्कोको सामना गर्ने भएको छ ।  त्यस्तै पोर्चुगलले स्पेनको सामना गर्दैछ भने अमेरिकाले बेल्जियमको सामना गर्दैछ । त्यसैगरी ब्राजिलले नर्वेको सामना गर्दै छ भने मेक्सिको इङल्याण्डसँग भिड्दैछ । त्यस्तै अर्जेन्टिना र इजिप्ट अन्तिम १६ मा खेल्दैछन् भने कोलम्बियाले स्वीजरल्याण्डको सामना गर्दैछन् ।  अन्तिम १६ का खेलहरु आजै रातिदेखि हुदैछन् ।  अन्तिम १६ को पहिलो खेल आज राति नेपाली समय अनुसार १०:४५ बजेदेखि क्यानडा र मोरक्को आमने सामने हुदैछन् भने आजै राति २:४५ बजे फ्रान्सले पराग्वेको सामना गर्दैछ ।

१४- सरकारले प्रशासनिक र सञ्चालन खर्च घटाउने नीति अन्तर्गत नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती गर्ने निर्णय गरेको छ । ‘नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियामावली, २०८३’ तयार पारिएको हो । विशेष गरी विनियामावलीको परिच्छेद-१५ को विनियम १५.१ लाई प्रतिस्थापन गर्दै कर्मचारीहरूको अतिरिक्त समय भत्ता (ओभरटाइम जब) सम्बन्धी व्यवस्थामा कडाइ गरिएको छ। नयाँ विनियामावलीमा समावेश गरिएका बुँदा ‘क’ र ‘ख’ लाई मुख्य आधार बनाएर निगमभित्रको अनावश्यक वित्तीय भार कम गर्ने निर्णय गरिएको हो । नयाँ विनियामावलीको बुँदा ‘क’ अनुसार निगमको २४सै घण्टा सञ्चालन हुनुपर्ने र संवेदनशील प्रकृतिका क्षेत्रमा खटिने कर्मचारीहरूलाई मात्र अतिरिक्त समय भत्ता उपलब्ध गराइनेछ। यस अन्तर्गत हवाई इन्धन डिस्पेंसर, इन्धन वितरण गर्ने डिपोहरू र पाइपलाइन सम्बन्धी कार्यमा प्रत्यक्ष खटिने कर्मचारीहरूले मात्र कार्यालय खुल्ने समयभन्दा बढी समय बसी काम गरेमा नियमानुसार अतिरिक्त समय भत्ता पाउनेछन् । जस अनुसार, बुँदा ‘क’ मा तोकिएका यी प्राविधिक क्षेत्र बाहेकका अन्य कुनै पनि प्रशासनिक वा गैर-प्राविधिक क्षेत्रका कर्मचारीहरूलाई ओभरटाइम कार्य (भत्ता) नदिने व्यवस्था सुनिश्चित गरिएको छ । हरेक बर्ष ओभरटाइमको नाममा करोडौ राज्यको खर्च हुँदै आएको र चुहावट रोक्न यो निर्णय गरिएको हो । विनियामावलीको बुँदा ‘ख’ मा अतिरिक्त समयमा काम लगाउनुपर्ने स्पष्ट कारण र यसको व्यवस्थापन सम्बन्धी कडा मापदण्ड तोकिएको छ । जसअनुसार कुनै पनि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउँदा त्यसको स्पष्ट कारण, कार्यबोझ, र कर्मचारीको उपलब्धतालाई हेरिनेछ । आकस्मिकता तथा थप कार्यको औचित्य पुष्टि भएमा मात्र अधिकारप्राप्त अधिकारीको पूर्वस्वीकृतिमा काममा लगाउन पाइनेछ । स्वीकृति दिने अधिकारीले अनिवार्य रूपमा मितव्ययिता, कार्यदक्षता र प्रभावकारितालाई मुख्य आधार मान्नुपर्ने व्यवस्था गरिएको छ । निगममा भइरहेको प्रशासनिक खर्च र ओभरटाइमका नाममा हुने बेथिति रोक्न उद्योग तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका उच्च पदाधिकारीहरूबीच लामो समयसम्म सघन छलफल भएको थियो। सोही छलफलको निष्कर्ष स्वरूप यो विनियामावली तयार पारिएको हो, जसले निगमको आर्थिक अनुशासन कायम गर्न र सार्वजनिक खर्च कटौतीको सरकारी लक्ष्यलाई सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

१५-  कोलम्बियाले जारी फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को अन्तिम खेलमा घानालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । कोलम्बियाको जितमा पहिलो हाफमा जोन आरियासले गरेको एकमात्र गोल नै खेलको निर्णायक गोल  बन्यो । लुइस स्वारेज मैदान प्रवेश गरेपछि कोलम्बियाको आक्रमण अझ प्रभावकारी बनेको थियो । खेलभर अधिकांश समय बलमा नियन्त्रण राखेको कोलम्बियाले थुप्रै अवसर सिर्जना गरे पनि थप गोल गर्न भने सफल हुन सकेन । घानाले अनुशासित र व्यवस्थित रक्षात्मक प्रदर्शन गर्दै खेलमा टिकिरहने प्रयास गरेको थियो । गोलरक्षक लरेन्स अटी जिगीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म प्रतिस्पर्धामा कायम राखेका थिए । तर आक्रमणमा सिर्जना भएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा घानाको यात्रा अन्तिम ३२ मै टुंगियो । समूह चरणमा अपराजित रहँदै समूह ‘के’ को विजेताका रूपमा अघि बढेको कोलम्बियाले आफ्नो प्रभावशाली लयलाई नकआउट चरणमा पनि कायम राखेको छ । अब कोलम्बियाले अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यता, घानाले संघर्षपूर्ण प्रदर्शन गरे पनि अवसरको सदुपयोग गर्न नसक्दा विश्वकप यात्राको अन्त्य निराशाजनक बनेको छ ।

Nepal life insurance

१६- अमेरिका र इजरायलबीच घनिष्ठ सम्बन्ध रहे पनि इरानसँगको युद्धका क्रममा दुवै देशको रणनीति सबै विषयमा एउटै नरहेको दाबी गरिएको छ । एक नयाँ प्रतिवेदनअनुसार अमेरिकाले पश्चिम एसियाका आफ्ना साझेदार राष्ट्रमार्फत इरानलाई इजरायलले वार्तामा संलग्न दुई शीर्ष इरानी नेतालाई लक्षित गर्न सक्ने सम्भावित योजनाबारे सचेत गराएको थियो । प्रतिवेदनका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघची र संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ युद्धविराम र त्यसपछिको वार्ताका मुख्य पात्र थिए । उनीहरूले अमेरिका, कतार, पाकिस्तानलगायत क्षेत्रीय मुलुकसँग होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ताको आधार तयार गर्ने विषयमा छलफल गरिरहेका थिए । अमेरिकाको यी दुई नेतामाथि आक्रमण भएमा जारी कूटनीतिक प्रक्रिया पूर्ण रूपमा विफल हुन सक्ने र क्षेत्र फेरि ठूलो युद्धतर्फ धकेलिन सक्ने आशंका गरेको थियो । यही कारण अमेरिकाले आफ्ना क्षेत्रीय साझेदारमार्फत इरानलाई सतर्क गराएको र इजरायललाई पनि संयम अपनाउन आग्रह गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा इजरायलले अराघची र गालिबाफलाई सम्भावित लक्ष्यको सूचीमा राखेको दाबी गरिएको छ । तत्कालीन अमेरिकी प्रशासनको बुझाइमा उनीहरूको हत्या भए शान्ति प्रयास समाप्त हुने भएकाले वार्तालाई निरन्तरता दिनु नै उचित विकल्प हुने ठानिएको थियो । प्रतिवेदनअनुसार गालिबाफ सन् २०२५ को १२ दिने युद्ध र यस वर्षको द्वन्द्वका क्रममा दुई पटक सम्भावित आक्रमणको लक्ष्य बनेका थिए, तर दुवै पटक जोगिएका थिए । अप्रिलमा इस्लामाबादमा भएको वार्तापछि इरानी सांसद मोहसिन जंगानेहले गम्भीर सुरक्षा चुनौतीका बाबजुद पनि वार्ता जारी राखिएको बताएका थिए । इरानी प्रतिनिधिमण्डल बोकेको विमानलाई पाकिस्तानको सीमादेखि इस्लामाबादसम्म पाकिस्तानी लडाकु विमानले सुरक्षा दिएको पनि उल्लेख गरिएको छ । फर्कने क्रममा सुरक्षा जोखिमको सूचना आएपछि विमानलाई इरानको मशहद विमानस्थलमा आकस्मिक अवतरण गराइएको र त्यसपछि प्रतिनिधिमण्डल सडकमार्ग हुँदै तेहरान पुगेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनका अनुसार युद्ध सुरु भएपछि इजरायलको प्राथमिकता इरानका शीर्ष सैन्य तथा राजनीतिक नेतृत्वलाई कमजोर बनाउने रहेको थियो । यसले इरानको वर्तमान सत्ता संरचनामा परिवर्तन ल्याउने लक्ष्य राखेको दाबी गरिएको छ । त्यसैले वार्तामा संलग्न तुलनात्मक रूपमा व्यावहारिक मानिएका नेताहरू पनि जोखिममा परेको उल्लेख छ । यता अमेरिकाले भने सैन्य दबाबसँगै वार्तामार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने पक्षमा जोड दिएको बताइएको छ । सम्भावित आक्रमणको जोखिमपछि इरानले आफ्ना शीर्ष नेताहरूको सुरक्षा व्यवस्था थप कडा बनाएको प्रतिवेदनमा उल्लेख छ । अराघची र गालिबाफ पाकिस्तानमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ताका लागि जाँदा इरानले पाकिस्तान र कतारमार्फत अमेरिका समक्ष प्रतिनिधिमण्डलमाथि कुनै आक्रमण नहुने सुनिश्चितता मागेको दाबी गरिएको थियो । यसपछि पनि दुवै नेता कतार, स्विट्जरल्यान्ड र भारतलगायत मुलुकको कूटनीतिक भ्रमणमा सहभागी भएका थिए । यसले सुरक्षा चुनौतीका बाबजुद इरानले वार्ताको प्रक्रिया नरोक्ने नीति अपनाएको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा युद्धका क्रममा अमेरिका र इजरायल प्रारम्भमा एउटै धारमा देखिए पनि पछि उनीहरूको प्राथमिकतामा स्पष्ट भिन्नता देखिएको दाबी गरिएको छ । अमेरिकाले युद्धविराम र वार्तालाई प्राथमिकता दिएको भने इस्राइलले इरानको सैन्य क्षमता, क्षेप्यास्त्र कार्यक्रम र वर्तमान शासनमाथि दबाब कायम राख्न चाहेको उल्लेख छ । यद्यपि प्रतिवेदनमा गरिएका यी दाबीहरूको अमेरिका, इस्राइल वा इरानमध्ये कुनै पनि देशले आधिकारिक पुष्टि गरेका छैनन् । यदि यी दाबी सत्य साबित भएमा पश्चिम एसियामा अमेरिका र इस्राइलबीचको रणनीतिक दृष्टिकोणमा रहेको अन्तर थप स्पष्ट हुने विश्लेषण गरिएको छ ।

१७- राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द हुने विभागले जनाएको हो । विभागका अनुसार हाल प्रयोगमा रहेको प्रणालीलाई असार २९ गते नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ । विभागले जारी गरेको सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुनेछ । विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ । सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै नयाँ प्रणाली कार्यान्वयनका क्रममा सहयोग र सहकार्य गरिदिन सबै सेवाग्राही तथा सरोकारवालासँग अनुरोध गरेको छ ।

१८- इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ । यससँगै इजिप्टले अन्तिम १६ मा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएको छ । निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । इजिप्टका लागि महमुद साबेर, रामी राबिया, मोहम्मद सलाह र होसाम अब्देलमागुइदले गोल गरेका थिए । अस्ट्रेलियाका ह्यारी साउटर र १८ वर्षीय लुकास हेरेङ्टनले प्रहार चुकाउँदा ज्याक्सन इर्भिन र आवर माबिलले मात्र गोल गर्न सके । डलास रंगशालामा भएको खेलको १३औँ मिनेटमा करिम हाफेजको दायाँ विङबाट आएको क्रसलाई इमाम आशुरले शक्तिशाली हेडमार्फत जाली चुमाउँदै इजिप्टलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा उनको यो दोस्रो गोल थियो । यससँगै इजिप्टले यस विश्वकपमा गरेको कुल गोल संख्या ६ पुगेको छ, जुन सन् १९३४, १९९० र २०१८ का तीन संस्करणमा मिलाएर गरेको गोलभन्दा बढी हो । खेलको सुरुआतमै अस्ट्रेलियाले अग्रता लिने अवसर पाएको थियो । पाँचौँ मिनेटमा क्रिस्टियन भोल्पाटोको लामो दूरीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । पहिलो हाफमा अस्ट्रेलियाले बराबरी गर्ने केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । ३६औँ मिनेटमा अजिज बेहिचले उत्कृष्ट अवसर पाए पनि इजिप्टका गोलरक्षक मोस्तफा शोबेरलाई छल्न सकेनन् । दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै इजिप्टले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । उमर मरमुश एक्लै अगाडि बढ्दा उनको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । त्यसको १० मिनेटपछि अस्ट्रेलियाले बराबरी गोल फर्कायो । एडन ओ’निलको फ्रिकिकलाई इजिप्टका डिफेन्डर मोहम्मद हानीले आफ्नै पोस्टमा छिराउँदा आत्मघाती गोल भएको थियो । यो प्रतियोगितामा उनको दोस्रो आत्मघाती गोल बनेको छ । विश्वकप इतिहासमा एउटै संस्करणमा दुई आत्मघाती गोल गर्ने उनी दोस्रो खेलाडी बने । यस संस्करणमा आत्मघाती गोलको संख्या १३ पुगेको छ, जसले सन् २०१८ को १२ गोलको कीर्तिमान पनि तोडेको छ । इन्जुरी समयको चौथो मिनेटमा मोहम्मद सलाहको उत्कृष्ट क्रसमा रामी राबियाले गरेको शक्तिशाली हेडरलाई अस्ट्रेलियाका गोलरक्षक प्याट्रिक बिचले शानदार बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टीको तयारीस्वरूप अस्ट्रेलियाले अतिरिक्त समय सकिएपछि अनुभवी गोलरक्षक म्याट रायनलाई मैदानमा उतारे पनि उनले इजिप्टका कुनै पनि प्रहार रोक्न सकेनन् । यस जितसँगै इजिप्ट पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा पुगेको छ। अब उसले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

१९-  साविक विजेता अर्जेन्टिनाले केप भर्डेमाथि कठिन संघर्षपूर्ण जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । मियामीमा सम्पन्न अन्तिम ३२ को खेलमा अर्जेन्टिनाले अतिरिक्त समयसम्म लम्बिएको प्रतिस्पर्धामा केप भर्डेलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । निर्णायक गोल अतिरिक्त समयको १११औँ मिनेटमा भयो । लियोनल मेसीले प्रहार गरेको सेटपिसमा क्रिस्टियन रोमेरोसँग हवाई प्रतिस्पर्धा गर्ने क्रममा केप भर्डेका डिने बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले जित सुनिश्चित गरेको हो । खेलको २९औँ मिनेटमा लिसान्द्रो मार्टिनेजको पासलाई बायाँ खुट्टाको बाहिरी भागले उत्कृष्ट नियन्त्रण गर्दै मेसीले गोलरक्षक भोजिन्हालाई छलाएर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै मेसी विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । तर केप भर्डेले ५९औँ मिनेटमा बराबरी गोल फर्कायो । डेरोय डुआर्टेको शक्तिशाली तल्लो प्रहार अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई पराजित गर्दै जालीमा पुगेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । निर्धारित समयभर अर्जेन्टिनाले लगातार दबाब बनाए पनि ४० वर्षीय केप भर्डेली गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरे । उनले मेसीका केही आकर्षक प्रहार तथा फ्रिकिक बचाउँदै टोलीलाई खेलमा कायम राखे । अतिरिक्त समयको सुरुआतमै मेसीको कर्नरमा लिसान्द्रो मार्टिनेजले शक्तिशाली प्रहार गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । तर १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालले बायाँतर्फबाट भित्र छिर्दै उत्कृष्ट घुमाउरो प्रहारमार्फत फेरि बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । खेल पेनाल्टी सुटआउटतर्फ जाने संकेत देखिएको अवस्थामा अर्जेन्टिनाले १११औँ मिनेटमा भाग्यशाली निर्णायक गोल पायो । मेसीको सेटपिस क्लियर गर्ने प्रयासमा डिने बोर्जेसबाट आफ्नै पोस्टमा गोल भएपछि अर्जेन्टिनाले ३-२ को अग्रता लियो । अन्तिम समयमा केप भर्डेले फेरि बराबरी गर्ने प्रयास गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले लगातार दुई उत्कृष्ट बचाउ गर्दै टोलीको जित जोगाए । यस जितसँगै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने पहिलो पटक नकआउट चरण खेलेको केप भर्डेको ऐतिहासिक यात्रा अन्त्य भएको छ । अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टको सामना गर्ने छ ।

२०-  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ ।  त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त भएका छन् । नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरे । खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो । उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरिएको हो । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको थियो । सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो ।