आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउन डिजिटल निर्वाचन प्रणालीलाई प्राथमिकता दिने निर्णय गरेको छ । समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा आइतबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले आगामी महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न यसअघि निर्वाचन समितिमा रहेर काम गरेका पदाधिकारी तथा निर्वाचन अधिकृतहरूको अनुभव, राय र सुझावका आधारमा विभिन्न निर्णय गरेको हो । बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्यसहित निर्वाचन प्रक्रियालाई कागजरहित (पेपरलेस) प्रणाली वा विद्युतीय मतदान प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको जनाएको छ। यसैगरी, निर्वाचन प्रक्रिया सुरु भएपछि लागू हुने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै तह र निकायलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ। विधानमा अन्यथा व्यवस्था भएका बाहेक निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण कार्यान्वयन गरिने समितिले जनाएको छ। निर्वाचन व्यवस्थापनलाई समावेशी बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गतका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेशागत समूहलाई सहभागी गराउन रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि गरिएको सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

२- कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय बीउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बीउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।  विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिए । धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलनजस्ता प्रविधि विस्तारमा जोड दिइएको उनले बताए । कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवद्र्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ । चैते धान प्रवद्र्धनमा किसानलाई अनुदान उपलब्ध गराइने छ । विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का आठ स्थानीय तहमा सुरु गरेको छ ।

३- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई स्वागत तथा सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राखेप परिसरमा आयोजित कार्यक्रममा सांसद् रजनी श्रेष्ठ तथा राखेपका सदस्य सचिव रामचरित्र मेहताले खेलाडी र प्रशिक्षकलाई बधाइ दिँदै स्वागत गरेका हुन्। यसअघि टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सांसद् रजनी श्रेष्ठ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा आफन्तले स्वागत गरेका थिए । प्रतियोगितामा विनु जिटीले महिला स्विमसुट विधामा स्वर्ण तथा मोडल फिजिक विधामा रजत पदक जितिन् । सगेन्द्र सिंहले पुरुष ८० केजी तौल समूहमा स्वर्ण पदक जित्दा आकाश श्रेष्ठले पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि विधामा स्वर्ण पदक आफ्नो नाममा पारेका थिए । त्यसैगरी सीता खत्रीले महिला एथलेटिक फिजिक विधामा रजत पदक जितिन् भने नेपाली महिला टोली समग्र टिम च्याम्पियनसिपमा रजत पदक विजेता बन्यो । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि विधामा पुकार शाक्यले कांस्य पदक जितेका थिए । यस्तै सागर श्रेष्ठ पुरुष ८५ केजी तौल समूहमा पाँचौँ र दीपजंग रोका मगर पुरुष ७५ केजी तौल समूहमा पाँचौँ स्थानमा रहे।

४- इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई शिया मुस्लिमहरूको अत्यन्तै पवित्र धार्मिकस्थल मानिने इमाम रजाको दरगाहमा दफन गरिने भएको छ । यो दरगाह इरानको मशहद सहरमा रहेको छ, जहाँ हरेक वर्ष विश्वभरबाट लाखौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन् । शिया इस्लामका १२ पवित्र इमाममध्ये इमाम रजा मात्र यस्ता इमाम हुन्, जसको समाधि इरानमा रहेको छ । अन्य सबै इमामका समाधि साउदी अरेबियाको मदिना तथा इराकका नजफ, करबला र सामर्रामा छन् । शिया परम्पराअनुसार इमाम रजा आठौँ इमाम हुन् । उनको बढ्दो लोकप्रियताबाट त्रसित तत्कालीन अब्बासी शासकले विष खुवाएर हत्या गराएको विश्वास गरिन्छ । उनलाई दफन गरिएको स्थानलाई पछि ‘मशहद’ अर्थात् ‘शहादत भएको स्थान’ नाम दिइएको हो । अहिले मशहद इरानको दोस्रो ठूलो सहर हो र शिया समुदायका लागि मक्का, मदिना र करबलापछि सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक मानिन्छ । तेहरानमा अत्यधिक गर्मीका बीच पनि हजारौँ मानिस अयातुल्ला खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन सडकमा उत्रिएका छन् । ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रमका बीच कालो पोसाकमा सहभागी श्रद्धालुहरू अन्तिम यात्रामा सहभागी भएका थिए । गर्मीबाट राहत दिन दमकलका गाडीमार्फत भीडमाथि पानी छर्किएको थियो । विभिन्न स्थानमा श्रद्धालुहरूलाई तरबुजा र चिसो पेय पदार्थ पनि वितरण गरिएको थियो । इरानी रेड क्रिसेन्ट सोसाइटीले सहभागीहरूलाई गर्मीबाट बच्न, भीडभाडमा धक्का-मुक्का नगर्न र जुलुससँगै सावधानीपूर्वक अघि बढ्न आग्रह गरेको थियो ।

५- बलिउड अभिनेता आमिर खान र उनकी जीवनसाथी गौरी स्प्राटको विवाह सम्पन्न भएको हो । आइतबार मुम्बईको पाली हिलस्थित आमिर खानको निवासमा विवाह सम्पन्न भएको हो । विवाहमा करिब एक सयदेखि एक सय पचास जनासम्म आफन्त, बाल्यकालका साथी तथा चलचित्र क्षेत्रका सीमित सहकर्मी सहभागी भएका थिए । चलचित्र निर्देशक आशुतोष गोवारिकर पनि समारोहमा उपस्थित थिए । आमिर खान र गौरी स्प्राट पहिलो पटक करिब २५ वर्षअघि भेटिएका थिए । त्यसपछि लामो समय उनीहरूको सम्पर्क टुटेको थियो । सन् २०२४ मा आमिरकी बहिनी नुजहत खानमार्फत बेंगलुरुमा उनीहरूको पुनः भेट भएको बताइएको छ । त्यसपछि दुवैबीच टाढाबाट सम्बन्ध अघि बढेको थियो । आमिरले आफ्नो ६०औँ जन्मदिनको अवसरमा सन् २०२५ को मार्च महिनामा गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा परिचय गराएका थिए । त्यसयता गौरी बेंगलुरुबाट मुम्बई सरेकी छन् र आमिरको चलचित्र निर्माण संस्थासँग पनि आबद्ध रहेकी छन् । दुवैको निजी विवाह समारोहको पहिलो तस्बिर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरले मुम्बईस्थित पाली हिलमा रहेको आमिरको निवासमा सम्पन्न अन्तरंग विवाह समारोहको झलक देखाएको हो । सार्वजनिक तस्बिरमा आमिर विवाह दर्ताका लागि आधिकारिक कागजातमा हस्ताक्षर गर्दै देखिएका छन् ।  यस्तै आमिरका कान्छा छोरा आजाद राव खान पनि बाबुको छेउमा बसेर विवाह दर्ताको प्रक्रिया नियालिरहेका छन् । विवाहस्थललाई हल्का रङका फूल, मैनबत्ती र सादगीपूर्ण सजावटले आकर्षक बनाइएको थियो । समारोहमा सहभागी परिवारका सदस्य तथा निकट साथीभाइले यो विशेष क्षणलाई आफ्नो मोबाइलमा कैद गरिरहेका देखिन्छन् । आमिरले यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो ।  मिडिया रिपोर्ट अनुसार गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ । रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।

६- डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको छ । जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ । उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

७-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकको जनजीविकाको चिन्ता नगरेको भन्दै आलोचना गरेका छन् । सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारले जनताको लाइफ भन्दा सामाजिकको लाइकलाई महत्व दिएको बताए हुन् ।  सभापति थापाले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको भन्दै आलोचना गरेका छन् ।  सभापति थापाल रासवपाले दलित समुदायसँग माफी मागेको कुरा आफूहरुले समेत स्वागत गरेको बताउदै दलित समुदायहरुसँग सरकारले माफी माग्दै गर्दा उनीहरुको जीवनलाई सहज बनाउन के गरियो भन्ने प्रश्न आएको बताए ।  सभापति थापाले सरकारले यसपटक परीक्षाफल छिटो प्रकाशित गरेको भए पनि छिटो नतिजा प्रकाशन गर्दै गर्दा अहिले पनि सयौं विद्यार्थीहरु अहिले माइतीघर मण्डलामा नारा लगाएर बस्नु परेको अवस्था रहेको टिप्पणी गरे । सभापति थापाले सरकारको काम गर्ने शैली र प्रक्रियाको विषयमा आपति जनाउदै डेमोक्रेसीमा सरकार प्रतिनिधि मात्र भएकाले प्रक्रिया अनुसार नै चल्नु पर्ने धारणा राखेका छन् ।

८- आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत हुने सिरिजका लागि नेदरल्यान्ड्स जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी रहने उक्त सिरिज जुलाई २१ देखि सुरु हुनेछ । त्यसअघि नेपाली टोलीले जर्सीमा अभ्यास खेल तथा प्रशिक्षणमार्फत आफ्नो तयारीलाई अन्तिम रूप दिनेछ । बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । टोलीका कप्तान रोहित पौडेलले अभ्यास सन्तोषजनक रहेको र खेलाडीहरू शारीरिक तथा मानसिक रूपमा प्रतियोगिताका लागि तयार रहेको बताए । उनले पछिल्लो सातादेखि टोलीले विशेष रूपमा फिटनेस र खेल रणनीतिमा ध्यान केन्द्रित गरेको जानकारी दिए ।

images

९- पछिल्लो २४ घण्टामा १ हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ५ लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।  यसैगरी,‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ ।

१०-  भारत सरकारले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने सशुल्क विज्ञापन इन्स्टाग्राममा देखिएको विषयलाई लिएर मेटासँग जवाफ मागेको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले बालबालिकाको यौन शोषण तथा दुर्व्यवहारसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने वा त्यस्ता सामग्रीमा सहज पहुँच गराउने सबै विज्ञापन तथा सामग्री तत्काल हटाउन इन्स्टाग्रामलाई निर्देशन दिएको छ । साथै मन्त्रालयले यस विषयमा सात दिनभित्र विस्तृत जवाफ पेस गर्न मेटालाई भनेको छ । सरकारले मेटासँग सामग्री निगरानी प्रणाली, विज्ञापन परीक्षण प्रक्रिया तथा अवैध र हानिकारक सामग्री नियन्त्रणका लागि कम्पनीले अपनाएका उपायबारे विस्तृत प्रतिवेदन पनि माग्न सक्ने बताइएको छ । यस विषयमा मेटाले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । यसअघि पनि मन्त्रालयले इन्स्टाग्राममा यस्ता विज्ञापन कसरी प्रसारण भए, तिनलाई रोक्न कम्पनीले के–कस्ता कदम चाल्यो र बालबालिकाको यौन शोषणसँग सम्बन्धित सामग्रीलाई प्रवर्द्धन गर्ने विज्ञापन रोक्न भविष्यमा कस्ता उपाय अपनाइँदै छन् भन्नेबारे स्पष्टीकरण मागेको थियो ।

images

११- बाबर आजमलाई फेरी पाकिस्तान टेस्ट टिमको कप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसुदलाइ बर्स्खात गर्दै आजमलाई पुन: कप्तानको जिम्मेवारी दिएको हो । बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् । वेस्ट इन्डिजविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, शान मसूद र उबैद शाह रहेका छन् ।   त्यस्तै इङल्याण्डविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, साउद शकील (फिट भएमा), शान मसूद र उबैद शाह रहेका छन् ।

images

१२-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४६०५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६१५ मा कारोबार भएको थियो ।

१३- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र काठमाडौँ बाहेक बागमती प्रदेशमा एक एक जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँमा २१ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना र कर्णालीमा ३ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा २५ जना, करंलीमा ३ जना  र सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

१४- भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछि मृत्यु हुनेको आधिकारिक संख्या २ हजार ९५४ पुगेको छ । सरकारले सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा राहत कार्यका लागि करिब ३० हजार सरकारी अधिकारी परिचालन गरिएका छन् । उनीहरूसँगै ३ हजार २८१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा खटिएका छन् । सरकारी तथ्यांकअनुसार १६ हजारभन्दा बढी मानिस घरबारविहीन बनेका छन् । उनीहरूमध्ये केही सरकारी आश्रयस्थलमा बसिरहेका छन् भने अन्य प्रभावितहरू अस्थायी पाल शिविरमा आश्रय लिएर बसेका छन् । यस्तै, गैरसरकारी तर व्यापक रूपमा प्रयोग हुँदै आएको विवरणअनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् । अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ । गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ ।  संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।

१५- महान्यायाधिवक्ता कार्यालयले देशभरका उच्च सरकारी वकिल र जिल्ला सरकारी वकिल कार्यालयलाई जेनजी आन्दोलनसम्बन्धि घटनाका पेसी स्थगित गर्न निर्देशन दिएको छ । शुक्रबार सहायक अधिवक्ता विश्वास तिमिल्सिनाले लेखेको पत्रमा  जेनजी आन्दोलनसम्बन्धी घटनाका फौजदारी अभोय्ग फिर्ता लिन मिल्ने नमिल्ने विषयमा सरकारले कार्यदल बनाउने प्रक्रियामा रहेकाले कार्यदलले प्रतिवेदन नदिएसम्म ती मुद्दाको पेसी स्थगित गर्न निर्देशन दिएको उल्लेख छ । २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनसम्बन्धी घटनाका फौजदारी अभोय्ग फिर्ता लिन मिल्ने नमिल्ने विषयमा सरकारले कार्यदल भने अझै बनाएको छैन । पत्रमा भनिएको छ- ‘उपर्युक्त सम्बन्धमा गृह मन्त्रालयको मिति २०८३/०३/१८ को निर्णयानुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको सम्बन्धमा फौजदारी अभियोग भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानविन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न नेपाल सरकारबाट कार्यदल गठन गर्ने कार्य प्रक्रियामा रहेकोले २०८२ भाद्र २३ र २४ को घटनामा संलग्न भएकै कारण विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दा उक्त कार्यदलबाट प्रतिवेदन पेश नभएसम्मको लागि सम्बन्धित मुद्दाहरुको पेशी स्थगितको अनुरोध भई आएको हुँदा सहजिकरण गर्न निर्देशानुसार अनुरोध छ ।’

Nepal life insurance

१६- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना नेपाल सरकारकै स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु गरिएको हो। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिका को ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ। पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्र सिँचाइ हुने परिकल्पना गरिएको छ। आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भएको यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार कुल अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने योजना रहेकामा हाल दोस्रो चरणको कार्य अघि बढिरहेको छ। आर्थिक वर्ष २०८९/९० भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको करिब ५०.५० प्रतिशत भौतिक तथा ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिसम्म करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भइसकेको छ। पश्चिमतर्फ ५० क्युमेक्स क्षमताको ४५.२५ किलोमिटर मूल नहर तथा पूर्वतर्फ १४.५ क्युमेक्स क्षमताको ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटरसम्म मूल नहर निर्माण सम्पन्न भएको छ। त्यस्तै कुल २३३ किलोमिटरमध्ये ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर, करिब ३० किलोमिटर तटबन्ध निर्माण, नहर तथा संरचना निर्माणका लागि १८७ हेक्टर जमिन अधिग्रहण, किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण, विभिन्न जलाशय निर्माण तथा कचनापुर, बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

१७- युक्रेनले रूसको उत्तरपश्चिमी सहर सेन्ट पिटर्सबर्गस्थित एक प्रमुख तेल टर्मिनलमा ड्रोन आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त तेल टर्मिनल रूसको युद्धका लागि आम्दानी जुटाउने महत्वपूर्ण पूर्वाधार भएको दाबी गरेका छन् । युक्रेनले सोही क्षेत्रमा रहेको रूसको एक प्रमुख नौसैनिक अड्डामा पनि आक्रमण गरिएको जनाएको छ । सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जान्दर बेग्लोभले सहरमाथि ठूलो परिमाणमा ड्रोन आक्रमण भएको स्वीकार गर्दै तेल टर्मिनलमा क्षति पुगेको जानकारी दिएका छन् । उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । हालका महिनाहरूमा युक्रेनले रूसका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ । ती आक्रमणका कारण रूसका विभिन्न क्षेत्रमा इन्धन आपूर्तिमा समस्या देखिएको युक्रेनको दाबी छ । युक्रेनका अनुसार रूसको करिब ४३ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय बनाइएको छ । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । युक्रेनले रूसले युद्ध सञ्चालनका लागि तेल र ग्यास निर्यातबाट ठूलो आम्दानी गर्ने भएकाले ती पूर्वाधारहरू वैध सैन्य लक्ष्य भएको बताउदै आएको छ । जेलेन्स्कीका अनुसार आक्रमण गरिएका स्थानहरू युक्रेनको सीमाबाट करिब ८५० किलोमिटर टाढा रहेका छन् । उनले सार्वजनिक गरेको भिडियोमा ड्रोन लक्ष्यतर्फ उड्दै गरेको तथा आक्रमणपछि बाक्लो कालो धुवाँ आकाशमा फैलिएको दृश्य देखिएको छ । युक्रेनी सेनाले उक्त तेल टर्मिनल रूसकै सबैभन्दा ठूलोमध्ये एक रहेको र वार्षिक करिब एक करोड २५ लाख टन पेट्रोलियम पदार्थ उत्पादन गर्न सक्ने क्षमता भएको जनाएको छ । गभर्नर बेग्लोभका अनुसार सेन्ट पिटर्सबर्ग र वरपरको लेनिनग्राड क्षेत्रमा युक्रेनका ७२ वटा ड्रोन खसालिएको छ । सेन्ट पिटर्सबर्गमा ५० लाखभन्दा बढी मानिस बसोबास गर्छन् । यसैबीच, युक्रेनको सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर कोस्त्यान्तिनिभ्का पूर्ण रूपमा रूसको नियन्त्रणमा गएको भन्ने दाबी अस्वीकार गरेको छ । युक्रेनी सेनाका प्रवक्ता मेजर आन्द्री कोभाल्योभले कोस्त्यान्तिनिभ्का अझै पनि युक्रेनको रक्षा बलको नियन्त्रणमै रहेको बताएका छन् । उनले केही साना रूसी पैदल सैनिक समूह युक्रेनी मोर्चाभित्र प्रवेश गरेको स्वीकार गरे पनि त्यस्ता समूहको पहिचान गरी नष्ट गरिरहेको दाबी गरेका छन् । रूसका राष्ट्रपति पुटिनले एक दिनअघि कोस्त्यान्तिनिभ्का जुन महिनामै रूसी नियन्त्रणमा आएको दाबी गरेका थिए । तर उनले त्यसको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । यस विषयमा जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यदि कोस्त्यान्तिनिभ्का वास्तवमै रूसको नियन्त्रणमा रहेको भए पुटिन त्यहीँ आएर आफूसँग भेट गरी युद्ध अन्त्यका लागि कूटनीतिक समाधान खोज्न सक्ने बताएका छन् । उनले वास्तविक अवस्था पुटिनको दाबीभन्दा फरक रहेको पनि उल्लेख गरेका छन् ।

१८- सहआयोजक क्यानडा फिफा विश्वकप फुटबलबाट बाहिरिने पहिलो आयोजक टोली बनेको छ । अन्तिम १६ को खेलमा मोरक्कोसँग ३-० गोल अन्तरले पराजित भएपछि क्यानडाको ऐतिहासिक यात्रा टुंगिएको हो । पहिलो हाफमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको मोरक्कोले दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै अग्रता लिएको थियो । अचराफ हाकिमीको फ्रिकिकबाट आएको कटब्याक पासलाई अजेदिन उनाहीले पेनाल्टी क्षेत्रको किनारबाट उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । क्यानडाका रक्षकले उनलाई रोक्न नसक्दा मोरक्कोले खेलमा नियन्त्रण जमायो । खेल सकिन आठ मिनेट बाँकी रहँदा उनाहीले व्यक्तिगत अवसरलाई सदुपयोग गर्दै दोस्रो गोल गरे र मोरक्कोको जित लगभग सुनिश्चित बनाए । इन्जुरी समयमा सौफियान रहिमीले गोलरक्षक म्याक्सिम क्रेपोको मुनिबाट बल छिराउँदै तेस्रो गोल गरेपछि मोरक्कोले सहज जित दर्ता गरेको थियो । यद्यपि खेलको सुरुआत भने क्यानडाको पक्षमा थियो । टेक्सासमा भएको खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक दबाब सिर्जना गरेको थियो । जोनाथन डेभिड र टानी ओलुवासेयीले पहिलो ११ मिनेटमै उत्कृष्ट अवसर पाए पनि मोरक्कोका गोलरक्षक बोनोले दुवै प्रहार बचाएका थिए । क्यानडाका मुख्य प्रशिक्षक जेसी मार्सले आफ्ना खेलाडीको सुरुआती प्रदर्शनको प्रशंसा गर्दै टोली नै खेलमा हावी भएको बताए । उनले विश्व वरीयताको सातौं स्थानमा रहेको मोरक्कोविरुद्ध आफ्नो टोली उत्कृष्ट देखिएको प्रतिक्रिया दिए । खेलभर दुवै टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको थियो। अंग्रेज रेफ्री माइकल ओलिभरले खेलमा कुल आठ पहेंलो कार्ड देखाएका थिए । पहिलो हाफमा संघर्ष गरिरहेको मोरक्कोले भने दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । यस जितसँगै मोरक्को लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनलमा पुगेको छ । अब मोरक्कोले क्वाटरफाइनलमा फ्रान्सको सामना गर्ने छ । पराजयसँगै क्यानडाको पुरुष विश्वकप इतिहासकै सबैभन्दा सफल अभियान समाप्त भएको छ। यस संस्करणमा क्यानडाले पहिलो पटक विश्वकपमा अंक, जित, समूह चरण पार गर्ने उपलब्धि र नकआउट चरणको जित हासिल गर्दै नयाँ इतिहास रचेको थियो ।

१९- विश्वकपको उपाधि दाबेदार फ्रान्सले कडा प्रतिस्पर्धापछि पाराग्वेलाई -० गोल अन्तरले हराउँदै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । दोस्रो हाफमा प्राप्त पेनाल्टी अवसरलाई कप्तान किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई अन्तिम आठमा पुर्‍याएका हुन् । यससँगै उनले प्रतियोगितामा आफ्नो सातौं गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीसँग सर्वाधिक गोलकर्ताको दौडमा बराबरी गरेका छन् । खेल ३८ डिग्री सेल्सियससम्म पुगेको अत्यधिक गर्मीमा सुरु भए पनि फ्रान्सले सुरुदेखि नै बलमा नियन्त्रण कायम राखेको थियो । तर अनुशासित पाराग्वे रक्षापंक्तिका कारण फ्रान्सले स्पष्ट अवसर सिर्जना गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले पहिलो ४५ मिनेटमा लक्ष्यतर्फ एक पनि प्रहार गर्न सकेनन् । दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्‍यो । ५४औं मिनेटमा मानु कोनेको टाढाबाट गरिएको प्रहारलाई गोलरक्षक ओर्लान्डो गिलले बचाएका थिए, जुन फ्रान्सको लक्ष्यतर्फको पहिलो प्रहार थियो। खेलको निर्णायक क्षण भने प्रशिक्षकले परिवर्तनका रूपमा मैदानमा उतारेका डिजिरे डुय आएपछि सिर्जना भयो । मैदान प्रवेश गरेको चार मिनेटमै उनले बायाँतर्फबाट उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरेका थिए । त्यसक्रममा डिएगो गोमेजले उनलाई लडाएपछि सुरुमा खेल जारी राखिए पनि भिडियो सहायक रेफ्रीको सुझावपछि रेफ्री इलगिज टान्टाशेभले पेनाल्टी दिएका थिए । एम्बाप्पेले पेनाल्टीलाई सहज रूपमा गोलमा परिणत गर्दै गोलरक्षक गिललाई गलत दिशामा पठाए र फ्रान्सको जित सुनिश्चित गरेका थिए । यसअघि अन्तिम ३२ चरणमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएर सनसनीपूर्ण जित निकालेको पाराग्वेले यस खेलमा पनि उत्कृष्ट रक्षात्मक प्रदर्शन गरे पनि अन्ततः फ्रान्सको चुनौती रोक्न सकेन । अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्ने छ ।

२०- इंग्ल्यान्डले पाँच खेलको टी- २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा भारतलाई चार विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण पहिलो खेल रद्द भएकाले यो सिरिजको पहिलो निर्णय भएको खेल थियो । १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमै ६ विकेट गुमाएर जित हात पारेको थियो । भारत पराजित भए पनि खेलमा दुई ऐतिहासिक उपलब्धि बने । अक्षर पटेल टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने पहिलो भारतीय स्पिनर बने भने १५ वर्षीय वैभव सूर्यवंशी भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी बने । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १९० रन बनाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका वैभव सूर्यवंशीले सुरुमै दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे पनि १४ रनमा स्टम्प आउट भएका थिए । त्यसपछि अभिषेक शर्माले २४ बलमा ४३ रनको तीव्र इनिङ्स खेले । मध्यक्रममा श्रेयस अय्यरले ३७ तथा ईशान किशनले ४९ रन बनाउँदै तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । अन्तिम ओभरहरूमा तिलक वर्माले ११ बलमा अविजित २४ रन जोड्दै भारतलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए । १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डको सुरुआत भने निकै खराब रह्यो । अर्शदीप सिंहले पहिलो ओभरमै फिल साल्ट र जोस बटलरलाई आउट गर्दै घरेलु टोलीलाई दबाबमा पारेका थिए । तर कप्तान ह्यारी ब्रुकले केवल १५ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेल्दै खेलको लय परिवर्तन गरे । त्यस्तै जेकब बेथेलले एक छेउ सम्हाल्दै अविजित ७६ रन बनाए भने टम ब्यान्टनले ३९ रनको योगदान दिए । भारतले बीचका ओभरमा पुनरागमन गरे पनि १७औं ओभर निर्णायक बन्यो । रवि विश्नोईले दुई नो-बलसहित २९ रन खर्चिएपछि इंग्ल्यान्डले खेल आफ्नो पक्षमा मोड्यो । बेथेलले फ्रिहिटको भरपुर फाइदा उठाउँदै टोलीलाई जित दिलाए ।  यो खेलको सबैभन्दा ठूलो आकर्षण १५ वर्षीय वैभव सूर्यवंशीको अन्तर्राष्ट्रिय डेब्यु रह्यो । १५ वर्ष ९९ दिनको उमेरमा उनले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नयाँ इतिहास रचेका छन् । यससँगै उनले १६ वर्ष २०५ दिनको उमेरमा डेब्यु गरेका सचिन तेन्दुलकरको ३७ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।  अब सिरिजको तेस्रो खेल मंगलबार हुदैछ ।