
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठुलो रकम छुट्याएको बताउनुभएको छ ।
सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञान तथा प्रविधिका क्षेत्रमा यसअघि कहिल्यै यति ठूलो बजेट विनियोजन नभएको बताउनु भयो । यसअघि १ अर्ब रुपैयाँसम्म छुट्याएको र सो रकम समेत आवश्यक कानुनी व्यवस्था नहुँदा खर्च हुन नसकेकोले बताउनु भयो ।
सोही कारण हाल धेरै मान्छेलाई यो रकम कहाँ खर्च होला ? भन्ने उत्सुकता बढेको उहाँको भनाई छ । तर ४ अर्व रुपैयाका विज्ञान तथा प्रविधि क्षेत्रमा एकदमै कम रकम भएको बताउनु भयो ।


यदपी अहिलेलाई भने यो रकम पर्याप्त रहेको उहाँको भनाई छ । उहाँले खर्च गर्ने कार्यक्रम निर्धारण गर्न बाँकी रहेकोले विनियोजित ४ अर्ब रुपैयाँमध्ये ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको जानकारी दिनुभयो । मन्त्री पुनकाअनुसार मन्त्रालयका अघिल्ला कार्यक्रम सञ्चालनका लागि ६० करोड रुपैयाँ छुट्याइएको छ भने बाँकी ३ अर्ब ४० करोड रुपैयाँको खर्च योजना ऐन तथा नियमावली बनेपछि मात्रै तय गरिनेछ । उहाँका अनुसार मन्त्रालयले अहिले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी ऐन र नियमावली तयार गर्ने काम अघि बढाएको छ । ती कानूनी आधार तयार भएपछि मात्रै अबण्डामा रहेको बजेट कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई ४ अर्ब रुपैयाँ छुट्याएको छ, यो भनेको पुँजीगत खर्चको एक प्रतिशत हो । यसमा पहिलेदेखि नै सञ्चालन भईरहेका केही कार्यक्रममा ६० करोड रुपैयाँ छुट्याइएको छ, बाँकी ३ अर्ब ४० करोड रुपैयाँ अबण्डामा राखिएको छ, यो बजेट जेठ १५ गते आँउदाखेरी के गर्ने, कसो गर्ने भन्ने थाहा नै थिएन, त्यही भएर अवण्डामा राखिएको हो । यो वैज्ञानिक भएन भन्ने कुरा नी छ, वैज्ञानिक त भएन तर अबण्डामा राखेर पनि काम गर्ने चलन रहेछ, त्यसकारण यो कानुन विपरित पनि भएन होला । अब यो साँढे ३ अर्ब रुपैयाँ कसरी खर्च हुन्छ भन्नेकुरा धेरैलाई अचम्म लागेको छ, किनभने अहिलेसम्म यति रकम छुट्याएको नै थिएन, अहिलेसम्मको ईतिहासमा २०८० मा विज्ञान, प्रविधिको लागि १ अर्ब रुपैयाँ छुट्याएको थियो, त्यो पनि खर्च गर्ने ऐन नभएर खर्च हुन सकेन, अर्थमन्त्रालयले त्यो रकम विश्वविद्यालयहरुलाई बाँड्यो । अहिले ४ अर्ब रुपैयाँ बजेट छुट्याउँदा धेरैलाई अचम्म लागेको छ। यो बजेट कसरी, कहाँबाट खर्च होला भन्ने छ तर यो ४ अर्ब टिको लगाउने भन्छ, दशैमा टिको लगाउने हो, यसले केही हुँदैन । तर अहिलेको अवस्थामा यो पनि धेरै भयो । किन धेरै भयो भन्दा ऐन कानून, नियमावली केही पनि छैन, बल्ल शुरु भयो । एकदुई हप्तादेखी हामी यसको ऐन, नियमावली बनाउँदैछौँ । ऐन, नियमावली नबनएसम्म खर्च गर्न पाईदैन, ऐन कानून नबनाई खर्च गरेमा अख्तियारले समात्छ ।’
उहाँले युवाहरुलाई विज्ञान तथा नवप्रर्वतनको क्षेत्रमा लाग्न मन्त्रालयले प्रोत्साहन गर्ने बताउनु भयो । स्थानीय सरकार र प्रदेश सरकारले पनि विज्ञान प्रविधिको क्षेत्रमा बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो । पूर्वाधारमा विकासले मात्रै देश विकास नहुने बताउनु भयो । देशविकासको लागी अर्थतन्त्र मजबुद बनाउनुपर्ने र अर्थतन्त्रको आकार बढाउन खोज अनुसन्धान तथा नवप्रवर्तकको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको उहाँको भनाई छ । विज्ञानमा गरिएको खर्चलाई लगानीको रुपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । विज्ञानमा लगानी नगरेका कारण नै नेपाल पछाडी परेको उहाँको दाबी छ । विकसित सबै देशहरुले विज्ञान तथा प्रविधि क्षेत्रमा लगानी गरेका कारण नै उनीहरु विकसीत भएको उहाँले बताउनु भयो ।





