तीन महिनामा ३० करोड क्षतिपूर्ति भराउन सफल भयौँ, अब तीन महिनाभित्र श्रम क्षेत्र पूर्ण व्यवस्थित गर्छौंः श्रममन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन महिनाभित्र श्रम क्षेत्रलाई पूर्ण रुपमा व्यवस्थित गर्ने दाबी गर्नुभएको छ ।  सोमवार प्रतिनिधि सभाको बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो ।

पछिल्लो तीन महिनामा वैदेशिक रोजगार र श्रम निरीक्षणको क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभयो । मन्त्री यादवकाअनुसार देशका ११ वटा श्रम कार्यालयमार्फत भइरहेको श्रम निरीक्षणको कार्यमा ५९ प्रतिशतले वृद्धि भएको छ । आफ्नो कार्यभार सम्हाल्नुअघिको ९ महिनामा १ हजार ९ सय ९१ वटा निरीक्षण भएकोमा, पछिल्लो तीन महिनामा मात्रै १ हजार ३२१ वटा निरीक्षण सम्पन्न भएको उहाँले बताउनु भयो ।

वर्तमान श्रम ऐनले निरीक्षणका क्रममा ‘हार्ड स्किल्स’ भन्दा ‘सफ्ट स्किल्स’ (सचेतीकरण र भरपाई) मा जोड दिएकाले सोहीअनुसार काम भइरहेको मन्त्रीले स्पष्ट पार्नुभयो । यस अवधिमा आन्तरिक श्रम बजारका विभिन्न प्रतिष्ठानहरूबाट श्रमिकहरूलाई ४ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन मन्त्रालय सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

वैदेशिक रोजगारको क्षेत्रमा भएको ठगी नियन्त्रण र क्षतिपूर्ति भराउने कार्यमा ठूलो उपलब्धि हासिल भएको मन्त्री यादवको भनाइ छ । यस्तै, मुद्दा अनुसन्धान र फस्र्यौटको दरमा पनि २४२ प्रतिशतले सुधार आएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगार विभाग काठमाडौंमा मात्र केन्द्रित हुँदा ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका र जान चाहने नागरिकलाई सेवा दिन चुनौतीपूर्ण रहेको मन्त्रीले स्वीकार गर्नुभयो ।

दैनिक करिव ५० वटा ठगीका मुद्दा दर्ता हुने र महिनामा करिव ५ सय पक्राउ पुर्जी जारी हुने गरे पनि हाल महिनामा ७० देखि ७१ जनालाई मात्र नियन्त्रणमा लिन सकिएको उहाँले बताउनु भयो । यो समस्या समाधानका लागि अन्तर–मन्त्रालय समन्वय आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको उहाँको भनाइ छ । मन्त्री यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्णतः डिजिटल बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।