सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा छानबिन र सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौँ । काठमाडौंका तीन सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सोमबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको उल्लेख गरिएको छ । महासंघले यस्तो कार्यले सञ्चारमाध्यमको नियमित कामकाजमा अवरोध र पत्रकारमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ ।

महासंघले सञ्चारमाध्यम र पत्रकारको संवैधानिक तथा पेशागत अधिकारमाथि हस्तक्षेप गर्ने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सञ्चारगृहको सुरक्षामा आवश्यक संवेदनशीलता अपनाउन पनि आग्रह गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबरलगायत प्रभावित सञ्चारगृहमा पुगेर घटनास्थलको निरीक्षण गरेको थियो । अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको देखिएको बताउँदै पत्रकार र सञ्चारगृहको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन् ।

उक्त घटनापछि तीनवटै सञ्चारगृहमा प्रहरी पुगेर गाडीधनीको खोजी सुरु गरेको छ । यद्यपि गाडी कसले र किन पार्किङ गरेको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।