
काठमाडौँ । जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एशियाड २०२६) मा नेपालले २२ खेल विधामा सहभागिता जनाउने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका अनुसार प्रतियोगितामा नेपालबाट कुल १३६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने खेलाडीमध्ये ५६ जना महिला र ८० जना पुरुष रहेका छन् । खेलाडीबाहेक नेपालबाट ३२ जना प्रशिक्षक पनि प्रतियोगितामा सहभागी हुनेछन् । यससँगै एशियाड २०२६ का लागि नेपालको कुल टोली संख्या १६८ जना पुग्नेछ ।

परिषदका अनुसार नेपालले सबैभन्दा धेरै खेलाडी कबड्डीमा सहभागी गराउने भएको छ । कबड्डीमा १२ महिला र १२ पुरुष गरी २४ खेलाडी तथा ४ प्रशिक्षकसहित २८ जनाको टोली रहनेछ । त्यस्तै क्रिकेटमा १५ पुरुष खेलाडी र २ प्रशिक्षक गरी १७ जनाको टोली सहभागी हुनेछ । भलिबलमा १२ महिला खेलाडी र २ प्रशिक्षक गरी १४ जनाको सहभागिता रहनेछ ।


उसुमा ३ महिला र ८ पुरुष गरी ११ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन् भने करातेमा ५ महिला र ३ पुरुष गरी ८ खेलाडी तथा २ प्रशिक्षक रहनेछन्। बक्सिङमा ३ महिला र ४ पुरुष गरी ७ खेलाडी तथा २ प्रशिक्षक सहभागी हुनेछन् । जुडोमा ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा २ प्रशिक्षक, एथलेटिक्समा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। टेबल टेनिसमा पनि ३ महिला र ३ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् ।
त्यस्तै कुस्तीमा २ महिला र ४ पुरुष गरी ६ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । टेनिसमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक, पौडीमा २ महिला र ३ पुरुष गरी ५ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । ब्याडमिन्टनमा २ महिला र २ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । गल्फ र सफ्ट टेनिसमा समान रूपमा १ महिला र ३ पुरुष गरी ४ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् । ताइक्वान्दोमा २ पुरुष खेलाडी र २ प्रशिक्षक सहभागी हुनेछन्। तीरन्दाजीमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक रहनेछन् ।

त्यस्तै क्यानो स्लालोममा २ पुरुष खेलाडी र १ प्रशिक्षक, साइक्लिङमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन्। स्केटबोर्डमा २ पुरुष खेलाडी र १ प्रशिक्षक रहनेछन् । यसैगरी स्क्वासमा १ महिला र १ पुरुष गरी २ खेलाडी तथा १ प्रशिक्षक र नृत्य तथा खेलकुद विधामा १ पुरुष खेलाडी तथा १ प्रशिक्षक सहभागी हुनेछन् । जापानको आइची-नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुदमा नेपालले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्दै पदक जित्ने लक्ष्यसहित सहभागिता जनाउने तयारी गरेको छ ।




