मलेसियाको सेवा उत्पादन मूल्य सूचकांकमा वृद्धिः दोस्रो त्रैमासिकमा २.९ प्रतिशतले बढ्यो

सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको सेवा उत्पादन मूल्य सूचकांक (एसपीपीआई) वार्षिक २.९ प्रतिशतले वृद्धि भएको छ । मुख्य सेवा क्षेत्रहरूको मूल्यमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको २.१ प्रतिशतको तुलनामा यस अवधिमा सूचकांकको वृद्धिदर थप तिब्र भएको बिहीवार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेसियाको तथ्याङ्क विभागले जारी गरेको विज्ञप्तिअनुसार आवास तथा खाद्य र पेय पदार्थ सेवा सूचकांकमा सबैभन्दा उच्च ६.४ प्रतिशतको वृद्धि रेकर्ड गरिएको छ ।

पहिलो त्रैमासिकमा यस क्षेत्रको वृद्धि दर ५.७ प्रतिशत रहेको थियो । त्यसैगरी, यातायात सूचकांक अघिल्लो त्रैमासिकको ३.८ प्रतिशतको तुलनामा बढेर ५.६ प्रतिशत पुगेको छ भने शिक्षा क्षेत्रमा २.१ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो त्रैमासिकमा शिक्षा क्षेत्रको मूल्य १.९ प्रतिशतले बढेको थियो ।

उच्च उत्पादन मूल्य रेकर्ड गर्ने अन्य क्षेत्रहरूमा कला, मनोरञ्जन तथा स्वास्थ्य सेवा (१.६ प्रतिशत), घरजग्गा कारोबार (१.३ प्रतिशत) र व्यावसायिक सेवाहरू (१ प्रतिशत) रहेका छन् । त्रैमासिक आधारमा भने अप्रिलदेखि जुन महिनाको अवधिमा एसपीपीआई १.१ प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो त्रैमासिकमा देखिएको १.४ प्रतिशतको वृद्धिको तुलनामा केही न्युन हो । सबै सेवा उप–क्षेत्रहरूमा भएको मूल्य वृद्धिका कारण समग्र त्रैमासिक सूचकांकमा सुधार आएको विभागले उल्लेख गरेको छ ।