
काठमाडौं, २५ साउन । धेरैजसो किराहरूले कहिल्यै कल्पना पनि गर्दैनन् कि लेकाली क्षेत्रमा पाइने कुनै फूल फुल्ने बिरुवा तिनको सिकारी बन्न सक्छ।
तर, अनुसन्धानकर्ताहरूले दक्षिण पश्चिमी चीनका चट्टानी पहाडहरूमा पाइने एउटा कोमल जंगली फूलले किराहरूलाई आहारा बनाउने गरेको पत्ता लगाएका छन्।

यसले आफ्ना टाँसिने खालका रौंहरूको प्रयोग गरी किराहरूलाई आकर्षित गरेर समात्छ र तिनको शरीर पचाएर पोषक तत्वहरू ग्रहण गर्छ। वनस्पतिहरूको यस समूहभित्र पर्ने कुनै बिरुवा मांसाहारी भएको पुष्टि भएको यो पहिलो घटना हो।
यस वनस्पतिको वैज्ञानिक नाम ‘सैक्सीफ्रागा काडेलब्राउम’ हो र यो ‘साक्रप्रागेल्स’ समूहको सदस्य हो। यस वनस्पति समूहमा लगभग २०० प्रजातिहरू समावेश छन्।


यो वनस्पति चीनको छिङहाई तिब्बत पठार र हेङदुआन पर्वतमालाका चट्टानी तथा पोषक तत्वको कमी भएका भू–भागमा पाइन्छ। यसको विस्तार मध्य तथा उत्तरी युनान प्रान्तदेखि दक्षिण पश्चिमी सिचुआन प्रान्तसम्म २,५०० देखि ३,००० मिटरको उचाइमा रहेको छ। यो वनस्पति रातो रङका टाँसिने खालका ग्रन्थियुक्त रौंहरूले ढाकिएको हुन्छ, जसको प्रयोग यसले साना कीराहरूलाई समात्न गर्दछ।

मांसाहारी वनस्पतिहरू प्रायः हिलाम्मे र दलदले क्षेत्रहरूमा पाइन्छन्। यस्ता वातावरणमा, पोषणको कमी पूरा गर्न ‘भेनस फ्लाईट्र्याप’, ‘पिचर प्लान्ट’र ‘सन्ड्यू’ जस्ता वनस्पतिहरूले सिकार गर्छन्। कुनै वनस्पतिलाई मांसाहारी भनी वर्गीकृत गर्नका लागि केवल कहिलेकाहीँ कीरा समात्नु मात्र पर्याप्त हुँदैन। यसले समातिएका जीवहरूबाट पोषक तत्वहरू पनि ग्रहण गर्नुपर्छ। यी वनस्पतिहरू जीवहरूलाई लोभ्याउन र पासोमा पार्न तथा तिनलाई खाएर पोषक तत्वहरू प्राप्त गर्न विशेष रूपमा अनुकूलित भएका हुनुपर्छ ।
सन् १८७५ मा चार्ल्स डार्विनले ‘युरोपेली स्याक्सिफ्रागा’ का दुई प्रजातिहरू मांसाहारी हुन सक्ने अनुमान गरेका थिए। तिनका टाँसिने खालका रौंहरू अवलोकन गरे पछि र तिनले कहिलेकाहीँ कीराहरूलाई समात्ने गरेको कुरा याद गरेपछि उनले यो निष्कर्ष निकालेका थिए। यद्यपि, उनले प्रयोगशालामा यसलाई प्रमाणित गर्न भने सकेका थिएनन्।

हाल मांसाहारीका रूपमा पहिचान गरिएको यो बिरुवा डार्विनले अध्ययन गरेका बिरुवाहरू भन्दा भिन्न रहेकाे डिडब्लुले उल्लेख गरेकाे छ। यद्यपि, यो तिनैसँग नजिकको सम्बन्ध राख्छ र तिनै बिरुवाहरूका आधारमा त्यो सिद्धान्त प्रतिपादन गर्न सघाउ पुर्याउने खालको कीरा समात्ने विधि नै यसले पनि अपनाउँछ।
चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको ‘कुनमिङ इन्स्टिच्युट अफ बोटनी’ का प्राध्यापक होङ सन भन्छन, ‘हामीले यस वनस्पति माथि विभिन्न परीक्षणहरू गर्यौं र अन्ततः यो वास्तवमै कीरा खाने वनस्पति हो भन्ने कुरा पुष्टि गर्यौं। यसले डार्विनको परिकल्पनालाई प्रमाणित गर्नुका साथै उहाँको सोचको वैज्ञानिक प्रकृतिलाई पनि उजागर गर्छ।’
नेचर कम्युनिकेसन्स’ नामक जर्नलले यस ‘मांसाहारी वनस्पति’ सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रकाशित गरेको छ। होङ सन यो अनुसन्धानको नेतृत्व गर्नेहरू मध्ये एक हुन ।


यो बिरुवा वास्तवमै कीराहरू खाएर बाँच्छ । यस कुराको पुष्टि गर्न अनुसन्धानकर्ताहरूले नाइट्रोजनको स्थिर समस्थानिक भएको आहारमा हुर्काइएका फल झिँगाहरूको प्रयोग गरेका थिए। सन भन्छन्, ‘बिरुवाको वृद्धिका लागि नाइट्रोजन अत्यावश्यक हुन्छ। अधिकांश मांसाहारी बिरुवाहरू नाइट्रोजनको कमी भएको वातावरणमा पाइन्छन् र तिनले कीराहरू खाएर नाइट्रोजन प्राप्त गर्छन्।’
बिरुवाका टाँसिने खालका रौंहरूमा कीराहरू राखि सके पछि उनीहरूले बिरुवाभित्र नाइट्रोजनको प्रवाह अवलोकन गरे। उनीहरूले देखे कि किरामा पाइएका नाइट्रोजन अन्ततः बिरुवा भित्र प्रवेश गर्यो र यसका तन्तुहरू हुँदै अघि बढ्यो।
बिरुवाभित्र पोषक तत्वहरूको वितरण एकनासको थिएन। शिकारबाट प्राप्त नाइट्रोजन कणहरू फूलहरूतर्फ पठाइन्थ्यो। यो प्रजातिले आफ्नो जीवनकालमा एक पटक मात्र प्रजनन गर्छ। अनुसन्धानकर्ताहरूका अनुसार यसलाई प्रजननका लागि सम्भवतः यी पोषक तत्वहरूको आवश्यकता पर्छ किनकि अस्तित्व रक्षाका लागि प्रजनन अपरिहार्य हुन्छ।

अनुसन्धानकर्ताहरूले यो बिरुवाले आफ्ना सिकारलाई सक्रिय रूपमा आकर्षित गर्छ भन्ने प्रमाण पनि फेला पारेका छन्। प्रयोगहरूले देखाएका छन् कि फूलहरूतर्फ कीराहरूलाई आकर्षित गर्नमा गन्धले महत्त्वपूर्ण भूमिका खेल्छ। यसका साथै, यसका टाँसिने खालका रौंहरूमा पाचन इन्जाइमहरूको गतिविधि देखिएको छ, जसले यो बिरुवाले आफूले समातेको सिकारलाई टुक्रा टुक्रा पार्न वा पचाउन सक्छ भन्ने कुरा स्पष्ट पार्छ।
कीराहरू समात्नुको एउटा सम्भावित बेफाइदा पनि छ। धेरैजसो ‘मांसाहारी बिरुवा’ हरू परागसेचनका लागि कीराहरूमा निर्भर हुन्छन् । त्यसैले तिनै बिरुवामा परागसेचन गराउने कीराहरू नै तिनको सिकार बन्न सक्ने जोखिम हुन्छ।

सन भन्छन्, ‘परासेचनको प्रक्रिया मुख्यतया झिंगाजस्ता ठूला कीराहरूद्वारा हुन्छ। यस्ता कीराहरूलाई यसका टाँसिने खालका रौंहरूले दह्रोसँग समात्न सक्दैनन् र ती सजिलै उम्कन सक्छन्, केवल साना कीराहरू मात्र त्यसमा फँस्छन्। यसरी, परासेचनमा सघाउने कीराहरूलाई कुनै हानि नपुर्याई यो बोटबिरुवाले ती साना कीराहरूबाट अतिरिक्त पोषण प्राप्त गर्छ।’
आफ्नो समूहमा मांसाहारी हुने यो एउटै मात्र बिरुवा हो। यद्यपि, अन्य मांसाहारी बिरुवाहरूको अझै पहिचान नभएको पनि हुन सक्छ। तिब्बती पठार हजारौं प्रजातिका फूल फुल्ने बिरुवाहरूको वासस्थान हो। सनका अनुसार त्यहाँ कीराहरूको सिकार गर्न सक्ने अन्य बिरुवाहरू पनि हुन सक्छन्, जसको अझै पत्ता लाग्न बाँकी छ।




