
‘बढ्दो तापक्रमले हिमनदी सुक्दै, हिमताल फैलिँदै’
हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम भएको बताउनुभएको छ ।
राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको उहाँले बताउनु भयो । अध्ययनकाअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढिरहेको उहाँले बताउनु भयो । उहाँले नेपालको अन्य क्षेत्रको तुलनामा पनि मनाङ जिल्लामा तापक्रम बढ्ने दर अझै उच्च रहेको बताउनु भयो ।


यसले भविष्यमा हिमताल फुटेर बाढी आउने जोखिम बढ्दै गएको उहाँको भनाइ छ । कायस्थले सन् १९७८ देखि विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको र यही कारण जलवायु परिवर्तनजन्य घटना बढ्दै गएको उल्लेख गर्नुभयो । जल तथा मौसम विज्ञान विभागले सन् १९७१ देखि २०१४ सम्म ९३ वटा स्टेशनबाट संकलित तथ्यांक विश्लेषण गरी सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा अधिकतम तापक्रम प्रतिवर्ष ० दशमलव ०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको उहाँले बताउनु भयो ।

उहाँले विश्व बैंक समूहको अध्ययनले सन् २००० देखि २०१७ सम्मको अवधिमा नेपालमा तापक्रम उल्लेख्य रूपमा बढेको देखाएको बताउनु भयो । उहाँले हिमनदी, समुद्री बरफ, तालको बरफ र हिउँलाई क्रायोस्फेयरका प्रमुख तत्वका रूपमा व्याख्या गर्दै हिमनदी हिउँ पुनःक्रिस्टलीकरणबाट बनेको गतिशील बरफको पिण्ड भएको बताउनु भयो । उहाँले हिमताल फुट्दा पानी मात्र नभई पानीसँगै ढुंगा, माटो र अन्य पदार्थ बगाएर ल्याउने भएकाले त्यसले तल्लो क्षेत्रमा ठूलो क्षति गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामीले जुन जलवायु परिवर्तन भन्छौँ त्यसमा तापक्रम र आद्रतालाई प्यारामीटरको रुपमा लिएको छ । यो वार्मिङ पिरियड १९८० देखि नियमित रुपमा भइरहेको छ । सन् १९७८ देखि नै निरन्तर रुपमा ग्लोबल टेम्परेचर बढिराखेको अवस्थ छ । यही कारण जलवायु परिवर्तनको कारण भइरहेका घटनाहरु हामीले भोगिराखेका छौँ । नेपालको चाँही १९७१ देखि २०१४ सम्मको ९३ वटा स्टेसनको डाटा एनालाइसिस गरेर डिपार्टमेन्ट अफ हाइड्रोलोजी एण्ड मिटिओरोलोजीले २०१७ मा निकालेको रिपोर्टअनुसार हाम्रो म्याक्सिमम टेम्परेचर ० दशमलव ०५६ डिग्री प्रतिवर्ष रहेको देखिरहेको छ । र न्युनतम तापक्रम ० दशमलव ००२ प्रतिशतले बढिराखेको अवस्था छ । यो समग्र देशको अवस्था भयो । जिल्लास्तरमा हेर्ने हो भने सबैभन्दा धेरै मनाङ जिल्लामा बढिराखेको देखिएको छ । हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर बढी छ । त्यसकारण हाम्रो हिमनदिहरु सानो भएको र हिमतालहरु ठूलो भएको अवस्था हो । वल्र्ड बैंक गु्रपको हो । २००० देखि २०१७ अर्थात रिसेन्ट पास्टमा नेपालमा टेम्परेचर धेरै बढेको छ । गत वर्ष पनि बढेको छ भने यो वर्ष पनि बढेको देखिन्छ । त्यस्तै फोरकास्ट पनि थियो । हामी चिसो पदार्थलाई क्रायोस्फेयर भन्छौँ । ग्लेसियर्स, सी आइस, लेक आइस, स्नो क्रायोस्फेयरको तत्व हुन् । अनि ग्लेसियर भनेको ‘फ्लोइङ बडी अफ अ मुभिङ बडी अफ स्नो एण्ड आइस द्याट ह्याज बिन फर्मड बाइ रिक्रिस्टलाइजेसन अफ स्नो’ भन्छौँ । यहीबाट ग्लेसियर बन्ने हो । ग्लेसियरको तल्लो भागलाई एब्लेसन एरिया भन्छ, एक्युमुलेसन एरिया भन्छ । यहाँ हिउँ जम्मा हुन्छ र वर्षैपिच्छे आइसमा परिणत हुन्छ । पहिला स्नोको डेन्सिटी ५० देखि ८० किलोग्राम परमिटर क्युब हुन्छ । त्यो बढ्दै गएपछि हामी आइस भन्ने हो । हामीले बनाउने फ्रिजमा बनाउने आइस पानी बाट बन्ने हो । फ्रिजमा बन्ने आइसको डेन्सिटी बढी नै हुन्छ । ग्लेसियरले बनाएको ताललाई हामी हिमताल भनेर भन्छौँ । नेपालमा हिमतालको संख्या धेरै नै छ । ताल फुटेपछि उसले ढुंगा, माटो पनि सोहोरेर ल्याउने कुरालाई हामी मोरेन भन्छौँ । रोल्पाको र दोलखाको हिमतालहरु भयो । यस्ता १ हजारभन्दा मािथको क्षेत्रमा भेटिने आइल्याण्डहरु अरु पनि छन् । ग्लेसियरले तल्लो तहसम्म पुग्दा उसले माटो र ढुंगा समेत लिएर आउँदा त्यसलाई मारेन भनिन्छ । त्यो फुट्यो भने बाढी उत्पन्न हुन्छ । हामीकहाँ यस्ता तालहरु धेरै छन् । तर यो प्रक्रिया एकैचोटि नभई पाँच–छ वर्षजति लाग्छ ।’
उहाँले हिमपहिरो तथा हिमताल फुट्ने घटना एकैचोटि नभई ५–६ वर्ष लाग्ने भन्दै जोखिमयुक्त हिमतालहरुको निरन्तर निगरानी गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
(नोटः यो समाचार सामग्रि आईतवार काठमाडौंमा भएको कार्यक्रमबाट बनाइएको हो ।





