यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

काठमाडौँ । एप्पलको नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रम बुधबार राति हुँदैछ । सार्वजनिक विवरणअनुसार कम्पनीले कार्यक्रममा आईफोन १८ प्रो, प्रो म्याक्स र अल्ट्रा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । नयाँ आईफोन सार्वजनिक हुनुअघि करिब दुई दशकमा मोबाइल फोनको संसार नै बदलिदिएको आईफोनको यात्रालाई फर्केर हेर्नु रोचक हुन्छ ।

आईफोन नाम सुरुमा एप्पलकै स्वामित्वमा थिएन । अमेरिकी सञ्जाल प्रविधि कम्पनी सिस्कोसँग आईफोन नामको अधिकार थियो । एप्पलले आईफोन सार्वजनिक गरेपछि सिस्कोले एप्पलविरुद्ध मुद्दासमेत दायर गरेको थियो । पछि दुवै कम्पनीबीच सहमति भएपछि दुवैलाई आईफोन नाम प्रयोग गर्न अनुमति दिइएको थियो ।

आईफोनसँग जोडिएको अर्को रोचक तथ्य यसको अत्यन्त महँगो संस्करण हो । बेलायती डिजाइनर स्टुअर्ट ह्युजले तयार पारेको विशेष आईफोन करिब १ करोड ५० लाख अमेरिकी डलर अर्थात् अहिलेको हिसाबमा करिब १४२ करोड रुपैयाँमा बिक्री भएको थियो । त्यसमा २४ क्यारेट सुनको १३५ ग्राम र ६०० वटा सेतो हिरा प्रयोग गरिएको थियो । होम बटनको स्थानमा २४ क्यारेटको कालो हिरा जडान गरिएको थियो । तर एउटा नाम र एउटा महँगो संस्करणभन्दा निकै ठूलो छ आईफोनको वास्तविक कथा । करिब दुई दशकअघि एप्पलले यस्तो फोन सार्वजनिक गरेको थियो, जसले मानिसले मोबाइल प्रयोग गर्ने तरिकामै ठूलो परिवर्तन ल्याएको थियो ।

यसरी सुरु भएको थियो आईफोनको यात्रा

सन् २००७ जनवरी ९ मा अमेरिकी सहर सान फ्रान्सिस्कोमा एप्पलका तत्कालीन प्रमुख स्टिभ जब्स मञ्चमा उभिएका थिए । उनको हातमा एउटा नयाँ उपकरण थियो । उनले त्यसलाई मोबाइल फोन, टच गरेर चल्ने आइपड र इन्टरनेट सञ्चार उपकरणको संयोजनका रूपमा प्रस्तुत गरेका थिए । यही थियो पहिलो आईफोन ।

त्यतिबेला आईफोनमा न पाँचौँ पुस्ताको मोबाइल सञ्जाल थियो, न एप पसल, न अनुहार पहिचान सुविधा र न कृत्रिम बुद्धिमत्ता । तर यसको ३.५ इन्चको टच स्क्रिनले फोन चलाउने तरिका नै बदलिदियो । औँलाले थिच्ने, तान्ने र दुई औँलाले तस्बिर ठूलो–सानो बनाउने सुविधा थियो । यससँगै स्मार्टफोनमा नयाँ क्रान्ति नै आयो, बटन र किप्याडको आवश्यकता लगभग समाप्त भयो ।

आईफोनले मोबाइलमा इन्टरनेट चलाउने तरिकासमेत परिवर्तन गरिदियो । त्यसअघि मोबाइलमा चल्ने इन्टरनेट सेवा सीमित थियो र वेबसाइटहरू सानो तथा अपूर्ण स्वरूपमा देखिन्थे । एप्पलले आफ्नो सफारी ब्राउजरमार्फत मोबाइलमै कम्प्युटरमा देखिएजस्तै वास्तविक वेबसाइट हेर्न सकिने सुविधा दिएको थियो ।

पहिलो आईफोन सन् २००७ जुनमा बजारमा आएको थियो । सार्वजनिक भएको ७४ दिनमै यसको १० लाखभन्दा बढी प्रति बिक्री भएको थियो । त्यतिबेला यो सानो उपकरण भविष्यमा एप्पलको सबैभन्दा ठूलो शक्तिमध्ये एक बन्ने कुरा धेरैले अनुमान गरेका थिएनन् ।

गोप्य प्रयोगशालामा भएको थियो आईफोनको तयारी

images

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि सुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

एप्पलले कुपर्टिनोमा छुट्टै भवन लिएर गोप्य प्रयोगशाला बनाएको थियो । छनोट गरिएका इन्जिनियरहरूलाई त्यहीँ पठाइएको थियो । ढोका बन्द राखिन्थ्यो र कामको निश्चित समयसमेत थिएन । उनीहरू दिनरात परियोजनामा काम गर्थे । कतिपय अवस्थामा खाना त्यहीँ खान्थे र त्यहीँ आराम गर्थे ।

images

यस गोप्य परियोजनाको नाम ‘पर्पल’ राखिएको थियो । करिब साढे दुई वर्षसम्म परियोजनालाई पूर्ण रूपमा गोप्य राखिएको थियो । अन्ततः सन् २००७ जनवरी ९ मा स्टिभ जब्सले सान फ्रान्सिस्कोको मोस्कोन केन्द्रमा आईफोन सार्वजनिक गरेपछि ती इन्जिनियरहरू वर्षौँदेखि के काम गरिरहेका थिए भन्ने रहस्य खुलेको थियो ।

जब फोन केवल फोन रहेन

images

सन् २००७ मा पहिलो आईफोन सार्वजनिक हुँदा स्मार्टफोनको बजारमा नोकिया र ब्ल्याकबेरीजस्ता कम्पनीको ठूलो प्रभाव थियो । अधिकांश फोनमा बटन र कीबोर्ड हुन्थे । एप्पलले भने फोनको पर्दालाई नै किबोर्डका रूपमा प्रयोग गर्ने बाटो रोज्यो । पहिलो आईफोनमा ३.५ इन्चको टच स्क्रिन थियो । त्यसमा २ मेगापिक्सेलको क्यामेरा, ताररहित इन्टरनेट, ब्लुटुथ र इन्टरनेट सुविधा थियो । औँलाले पर्दामा थिचेर, तानेर र दुई औँलाले तस्बिर ठूलो–सानो बनाएर फोन चलाउन सकिन्थ्यो । अहिले सामान्य लाग्ने यी सुविधा त्यतिबेला निकै नयाँ थिए । आईफोनले मोबाइल फोनलाई औँलाको इशाराबाट चल्ने सानो कम्प्युटरको स्वरूप दिएको थियो । पहिलो आईफोनको ४ गिगाबाइट संस्करणको मूल्य ४९९ अमेरिकी डलर र ८ गिगाबाइट संस्करणको मूल्य ५९९ डलर थियो ।

एप स्टोर आएपछि आईफोनको संसार अझ ठूलो बन्यो

पहिलो आईफोनमा एउटा ठूलो कमी थियो, प्रयोगकर्ताले आफूलाई आवश्यक नयाँ एप डाउनलोड गर्न सक्दैनथे । सन् २००८ मा आएको आईफोन ३ जीले यो समस्या समाधान गर्‍यो । त्यसमा तेस्रो पुस्ताको मोबाइल सञ्जाल, स्थान पहिचान प्रणालीसँगै एप स्टोर पनि ल्याइएको थियो । एप स्टोर सुरु हुँदा त्यसमा ८०० भन्दा बढी एप उपलब्ध थिए । पहिलो आईफोनले १० लाख बिक्री गर्न ७४ दिन लगाएको थियो भने आईफोन ३ जीले उक्त संख्या केवल तीन दिनमै पार गरेको थियो । अब आईफोन एउटा फोन मात्र नभएर विभिन्न प्रकारका एप निर्माण गर्न सकिने माध्यमसमेत बनेको थियो ।

सन् २०१० मा एप्पलले आईफोन ४ सार्वजनिक गर्‍यो । यसमा पहिलोपटक रेटिना स्क्रिन प्रयोग गरिएको थियो । ३.५ इन्चको स्क्रिनमा ९६० गुणा ६४० पिक्सेल र करिब ३२६ पिक्सेल प्रतिइन्चको स्पष्टता थियो । अक्षर र तस्बिर यति स्पष्ट देखिन्थे कि पर्दामा पढ्दा कागजमा छापिएको जस्तो अनुभव हुन्थ्यो ।

Nepal life insurance

आईफोन ४ मा ५ मेगापिक्सेल क्यामेरा, उच्च स्पष्टताको भिडियो खिच्ने सुविधा र भिडियो कुराकानीका लागि फेसटाइम पनि आएको थियो । सार्वजनिक भएको तीन दिनमै यसको १७ लाख प्रति बिक्री भएको थियो ।

स्टिभ जब्सपछि टिम कुकको नेतृत्व

सन् २०११ मा स्टिभ जब्सले एप्पलको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए । केही समयपछि उनको निधन भयो । त्यसपछि कम्पनीको नेतृत्व टिम कुकले सम्हाले । जब्सको समयमा मुख्य प्रश्न नयाँ के बनाउने भन्ने थियो भने कुकको चुनौती आईफोनलाई विश्वभरका करोडौँ मानिससम्म कसरी पुर्‍याउने भन्ने थियो । कुकले एप्पलको उत्पादन र आपूर्ति प्रणालीलाई थप बलियो बनाए । यसको ठूलो प्रभाव सन् २०१४ मा देखियो । एप्पलले पहिलोपटक ठूलो पर्दासहित आईफोन ६ र आईफोन ६ प्लस सार्वजनिक गर्‍यो । त्यही समय एप्पल पे पनि ल्याइयो, जसले आईफोनलाई फोन मात्र नभई भुक्तानीको माध्यमसमेत बनायो । सार्वजनिक भएको पहिलो तीन दिनमै यी दुई मोडलको एक करोडभन्दा बढी बिक्री भएको थियो ।

सन् २०१५ मा आईफोन ६ एस आयो । यसमा तीन आयाममा टच गरेर पहिचान गर्ने सुविधा र लाइभ तस्बिरजस्ता नयाँ विशेषता थिए । यसको पनि पहिलो तीन दिनमै एक करोड ३० लाखभन्दा बढी प्रति बिक्री भएको थियो ।

होम बटन हटाएर क्यामेरामा जोड

सन् २०१७ मा आईफोन सार्वजनिक भएको दस वर्ष पूरा भएको अवसरमा एप्पलले आईफोन एक्स सार्वजनिक गर्‍यो । यसपटक कम्पनीले आईफोनको पुरानो पहिचानमध्ये एक होम बटन नै हटायो । त्यसको स्थानमा ५.८ इन्चको जैविक प्रकाश उत्सर्जक स्क्रिन राखिएको थियो । पहिलोपटक फेस पहिचानमार्फत फोन खोल्ने सुविधा पनि आयो । अगाडिको विशेष क्यामेराले अनुहारको त्रिआयामिक नक्सा तयार पारेर प्रयोगकर्ताको पहिचान गर्थ्यो । त्यसपछि आईफोनको अर्को ठूलो प्रतिस्पर्धा क्यामेरामा केन्द्रित भयो । सन् २०१९ मा आएको आईफोन ११ मा रातको समयमा राम्रो तस्बिर खिच्ने सुविधा र फराकिलो कोणको क्यामेरा थपियो । फोनले केवल क्यामेरामार्फत तस्बिर खिच्ने नभई भित्र रहेको एडिट प्रणाली र सफ्टवेयरको सहयोगमा तस्बिरलाई अझ राम्रो बनाउन थाल्यो । सन् २००७ मा आईफोनले फोनलाई कम्प्युटरजस्तो बनाउने बाटो देखाएको थियो भने सन् २०१९ सम्म आइपुग्दा फोनभित्रको कम्प्युटरलाई यति शक्तिशाली बनाउने दिशामा अघि बढेको थियो कि त्यसले क्यामेराको क्षमतासमेत धेरै हदसम्म प्रतिस्थापन गर्न सकोस् ।

पहिलोपटक पाँचौँ पुस्ताको सञ्जाल

सन् २०२० मा कोरोना महामारीबीच एप्पलले आईफोन १२ सार्वजनिक गर्‍यो । पहिलोपटक आईफोनमा पाँचौँ पुस्ताको मोबाइल सञ्जाल प्रयोग गरिएको थियो । यसले इन्टरनेट गति, भिडियो हेर्ने र अनलाइन खेल खेल्ने अनुभवलाई थप सहज बनायो । आईफोन १२ मा ए १४ बायोनिक चिप प्रयोग गरिएको थियो, जसले फोनको गति बढाएको थियो । त्यसमा कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित काम फोनमै गर्न सहयोग गर्ने १६-कोर न्युरल इन्जिन पनि थियो ।

सन् २०२२ मा आईफोन १४ सँगै एप्पलले उपग्रहमार्फत आपत्कालीन सन्देश पठाउने सुविधा ल्यायो । मोबाइल सञ्जाल वा ताररहित इन्टरनेट उपलब्ध नभएको अवस्थामा पनि आईफोनले उपग्रहको माध्यमबाट आपत्कालीन सेवामा सन्देश पठाउन सक्ने व्यवस्था गरिएको थियो । यसका लागि एप्पलले उपग्रह पूर्वाधारमा ४५ करोड अमेरिकी डलर लगानी गरेको थियो । सन् २०२३ मा आईफोन १५ मा एप्पलले पुरानो चार्ज गर्ने प्रणाली हटाएर यूएसबी सी प्रणाली ल्यायो । अब आईफोन, म्याक र आइप्याड एउटै तारबाट चार्ज गर्न सकिने भयो । आईफोन १५ प्रोमा टाइटेनियमको बाहिरी भाग र ए१७ प्रो चिप पनि प्रयोग गरिएको थियो ।

सन् २०२४ मा आईफोन १६ सँग एप्पलले एप्पल इन्टेलिजेन्स सार्वजनिक गर्‍यो । ए१८ चिप र क्यामेरा नियन्त्रणजस्ता सुविधा पनि थपिए । यससँगै आईफोन केवल प्रयोगकर्ताको आदेश पालना गर्ने उपकरण नभई आवश्यकताअनुसार सहयोग गर्ने दिशामा अघि बढ्न थालेको थियो ।

सन् २०२५ मा आईफोन १७ सँग आईफोन एयर सार्वजनिक भयो । यसको मोटाइ केवल ५.६ मिलिमिटर थियो । ठूलो पर्दा र ए१९ प्रो चिपसहित आएको यस मोडलले थोरै ठाउँमा अझ धेरै प्रविधि समेट्ने एप्पलको प्रयास देखाएको थियो ।

एप्पलको नेतृत्वमा अब जॉन टर्नस

जॉन टर्नस कम्युटर इन्जिनियर हुन् । उनले पेन्सिल्भेनिया विश्वविद्यालयबाट अध्ययन गरेका थिए। उनी सन् २००१ मा एप्पलमा आबद्ध भएका थिए । एप्पलमा आउनुअघि उनले चार वर्ष ‘भर्चुअल रिसर्च सिस्टम्स’ मा काम गरेका थिए । एप्पलमा उनले म्याक कम्प्युटरको पर्दा डिजाइन गर्ने कामबाट आफ्नो यात्रा सुरु गरेका थिए । विस्तारै उनी कम्पनीको हार्डवेयर समूहका प्रमुख अधिकारीमध्ये एक बने । कम्पनीका अनुसार टर्नसको नेतृत्वमा म्याक, आईफोन, एयरपड्सलगायत उपकरणमा बलियो संरचना, राम्रो सामग्री र सजिलै मर्मत गर्न सकिने डिजाइनमा काम भएको थियो । उनले स्टिभ जब्सको नेतृत्वको समय पनि देखेका छन् र टिम कुकसँग पनि काम गरेका छन् । अब कम्पनीको नेतृत्व सम्हाल्दै उनले एप्पललाई नयाँ दिशामा अघि बढाउने जिम्मेवारी पाएका छन् ।

कृत्रिम बुद्धिमत्तामा प्रतिस्पर्धा : गुगल र माइक्रोसफ्टजस्ता कम्पनीको तुलनामा एप्पल कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा पछाडि रहेको आलोचना हुँदै आएको छ । टर्नसका लागि यस क्षेत्रमा एप्पललाई पुनः अग्रस्थानमा ल्याउनु ठूलो चुनौती हुनेछ । त्यस्तै, अमेरिका र युरोपमा एप्पलको व्यापारिक शैलीमाथि प्रश्न उठिरहेका छन्। कम्पनीमाथि एकाधिकारसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपसमेत लाग्दै आएको छ । यी विवादबाट कम्पनीलाई जोगाउनु उनको अर्को चुनौती हुनेछ ।

अर्कोतर्फ, अमेरिकी सरकार र चीनबीचको विवादका बीच एप्पलले उत्पादन प्रणालीलाई भारत र भियतनामजस्ता मुलुकमा विस्तार गरिरहेको छ । यसलाई व्यवस्थित रूपमा अघि बढाउनु पनि टर्नसका लागि महत्वपूर्ण हुनेछ । आलोचकहरूले एप्पलमा विगतको जस्तो नयाँ सोच र ठूलो परिवर्तन ल्याउने क्षमता नरहेको टिप्पणी गर्दै आएका छन् । टर्नसले एप्पल अझै पनि विश्वकै नयाँ प्रविधि विकास गर्ने अग्रणी कम्पनीमध्ये एक रहेको प्रमाणित गर्नुपर्नेछ ।

करिब दुई दशकको यात्रामा आईफोनले केवल एउटा मोबाइल फोनको रूप परिवर्तन गरेको छैन, मानिसले फोनलाई हेर्ने र प्रयोग गर्ने तरिका नै परिवर्तन गरेको छ । अब आईफोनको अर्को अध्यायमा एप्पलले कस्तो नयाँ परिवर्तन ल्याउँछ भन्ने चासो अब सार्वजनिक कार्यक्रममा केन्द्रित भएको छ ।