
क्रोएसियाको राजधानी जाग्रेबले मंगलवार ‘कार–फ्री डे’ (कारमुक्त दिवस) मनाएको छ । युरोपेली गतिशीलता सप्ताहको एक हिस्साका रूपमा आयोजित यो कार्यक्रमले सहरको व्यस्त केन्द्रमा निजी सवारी साधनलाई निषेध गर्दै सार्वजनिक यातायातलाई निःशुल्क बनाउने निर्णय गरेको छ ।
शहरका अधिकारीहरूकाअनुसार मंगलवार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सहरको मुख्य केन्द्रमा निजी सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ । यो अवधिमा केवल अत्यावश्यक सेवाका सवारी, सार्वजनिक यातायात, ट्याक्सी र स्थानीय बासिन्दाका साधनलाई मात्र प्रवेशको अनुमति दिइएको छ

। शहरलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले अपनाइएको यस नीतिलाई स्थानीय नागरिकले उत्साहजनक रूपमा लिएका छन् । यस विशेष दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक यातायातलाई पूर्ण रूपमा निःशुल्क बनाएको छ । साथै, सहरको लोकप्रिय सार्वजनिक साइकल साझेदारी योजना ‘बाज’ अन्तर्गतका साइकलहरू पनि प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ । यसले सर्वसाधारणलाई निजी कार छोडेर वातावरणमैत्री माध्यम रोज्न प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।


स्थानीय बासिन्दाहरूले यो अभियानको प्रशंसा गरेका छन् । जाग्रेबकी निवासी क्सेनिया प्रोहास्काले भनिन्, ‘यो अत्यन्तै सुन्दर छ । म चाहन्छु कि शहरको मुख्य केन्द्रमा यस्तो व्यवस्था दैनिक रूपमा होस् । डुब्रोभ्निक र स्प्लिट जस्ता सहरका केही स्थानमा झैँ यहाँ पनि सवारी निषेधित हुनुपर्छ ।’
अर्का स्थानीय इगोर होर्भाटले पनि यस्तो प्रयास बारम्बार हुनुपर्ने र नागरिकले निजी सवारी कम प्रयोग गरी सार्वजनिक यातायाततर्फ आकर्षित हुनुपर्ने धारणा राखे ।
उल्लेखनीय छ कि, युरोपभर हरेक वर्ष सेप्टेम्बर १६ देखि २२ सम्म ‘युरोपेली गतिशीलता सप्ताह’ मनाइन्छ । यसको मुख्य उद्देश्य पैदल यात्रा, साइकल चलाउने बानी र सार्वजनिक यातायातको प्रयोगलाई बढावा दिनु हो । जाग्रेब सहरले सहरी ट्राफिक जाम कम गर्ने र वायुको गुणस्तरमा सुधार गर्ने दीर्घकालीन रणनीतिको रूपमा विगत केही वर्षदेखि निरन्तर यस अभियानमा सहभागिता जनाउँदै आएको छ ।





