
इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तस्थित सोलोक जिल्लामा सोमवार राति आएको विनाशकारी बाढीमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भारी वर्षाका कारण बालुवा, ढुङ्गा र लेदोसहित उर्लिएको बाढीले व्यापक भौतिक क्षति पु¥याउनुका साथै सो क्षेत्रको मुख्य सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनाएको स्थानीय अधिकारीहरूले मंगलवार पुष्टि गरेका छन् ।
पश्चिम सुमात्रा प्रान्तीय प्रहरी प्रमुख जति वियोतो अबाधीकाअनुसार स्थानीय समयअनुसार सोमबार राति करिव ८ बजे भीषण बाढी बस्ती र सडकमा पसेको थियो। बाढीले बगाएर ल्याएको गेग्रान, बालुवा र ढुङ्गाका कारण पाडाङ र सोलोक जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएको छ । जसका कारण यातायात आवागमन ठप्प हुनुका साथै आवतजावतमा गम्भीर समस्या पैदा भएको छ ।


बाढीले मानवीय क्षतिका अलावा ठूलो परिमाणमा भौतिक संरचनामा समेत क्षति पु¥याएको विपद् व्यवस्थापन निकायले जनाएको छ । प्रारम्भिक विवरणअनुसार ११ वटा सरकारी कार्यालय, २१ वटा चारपाङ्ग्रे सवारीसाधन र सात वटा मोटरसाइकल बाढीको चपेटामा परी क्षतिग्रस्त भएका छन् । बाढीको तिब्र बहावले सडक किनारका संरचना तथा सवारीसाधनहरूलाई नराम्ररी क्षति पु¥याएको छ । घटनालगत्तै प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सरसफाइ कार्यलाई तिब्रता दिइएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन करिव ३०० जना अतिरिक्त प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

विपद् व्यवस्थापनमा इण्डोनेसियाली सेना, राष्ट्रिय खोज तथा उद्धार निकाय र स्थानीय विपद् व्यवस्थापन प्राधिकरणका टोलीहरू समेत संयुक्त रूपमा खटिएका छन् । इण्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले क्षेत्रमा परेको अत्यधिक मुसलधारे वर्षा नै यस बाढीको प्रमुख कारण रहेको जनाएको छ । सुरक्षा निकाय र उद्धार टोलीहरूले हाल सडकमा जम्मा भएको लेदो तथा भग्नावशेष पन्छाउने र प्रभावित क्षेत्रको पूर्ण क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखेका छन् ।




