
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको वार्षिक बहस न्युयोर्कस्थित मुख्यालयमा मंगलवार औपचारिक रूपमा शुरु भएको छ । ‘विश्वासको पुनस्र्थापना र रूपान्तरणको व्यवस्थापनः सबैका लागि नतिजामुखी संयुक्त राष्ट्रसंघ’ भन्ने मुख्य नाराका साथ शुरु भएको यस सत्रमा विश्वका साझा चुनौतीहरूको समाधान र संस्थागत सुधारका विषयले प्राथमिकता पाएका छन् ।
महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ८१ औँ महासभाका अध्यक्ष खलिलुर रहमानले बदलिँदो विश्व परिवेशमा राष्ट्रसंघको सान्दर्भिकता कायम राख्न विश्वासको पुनस्र्थापना अनिवार्य रहेको बताउनु भयो । उहाँले विश्वका राष्ट्रहरूलाई केवल परिवर्तनको साक्षी बन्न नभई परिवर्तनको नेतृत्व गर्न आह्वान गर्नुभयो । अध्यक्ष रहमानले विश्वासलाई ‘आर्जन गर्ने कुरा’ भन्दै यसका लागि तीनवटा आधारभूत मार्गहरू प्रश्तुत गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘हामीले कहाँ चुकिरहेका छौँ भन्ने विषयमा यथार्थवादी बन्नु पहिलो आवश्यकता हो । दोस्रो, नतिजा सुधारका लागि राष्ट्रसंघको संरचनामा आधारभूत सुधार आवश्यक छ र तेस्रो, हाम्रा कामहरूलाई थप समावेशी बनाउँदै समाजका सबै तहका सरोकारवालाहरूलाई सहभागी गराउनु जरुरी छ ।’

महासभामा सहभागी सदस्य राष्ट्रहरूले वर्तमान वैश्विक संकट, जलवायु परिवर्तन र द्वन्द्व व्यवस्थापनका विषयमा आफ्ना धारणा राख्नेछन् । रहमानले यस सत्रलाई विगतका अनुभवबाट पाठ सिक्ने र त्रुटिपूर्ण अभ्यासहरूलाई सच्याएर अघि बढ्ने अवसरका रूपमा व्याख्या गर्नुभएको छ । यस पटकको बहसले राष्ट्रसंघलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।




