एशिया–प्रशान्त क्षेत्रको अर्थतन्त्रमा भू–राजनीतिक द्वन्द्व र ‘एल निनो’ को गम्भीर जोखिमः एडीबी

एशियाली विकास बैंक (एडीबी) ले बढ्दो भू–राजनीतिक द्वन्द्व र शक्तिशाली ‘एल निनो’ प्रभावले एशिया–प्रशान्त क्षेत्रका विकासोन्मुख अर्थतन्त्रहरूमा गम्भीर जोखिम निम्त्याएको चेतावनी दिएको छ । बैंकले बुधवार सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य (एडीओ) सेप्टेम्बर २०२६’ प्रतिवेदनअनुसार यस क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२५ को ५.५ प्रतिशतबाट घटेर यस वर्ष ५ प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ ।

एडीबीको प्रतिवेदनअनुसार सन् २०२७ मा भने यो वृद्धिदर सामान्य सुधार हुँदै ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यो प्रक्षेपण गत जुलाई महिनाको तुलनामा ०.१ प्रतिशत बिन्दुले बढी हो । विश्वभर जारी द्वन्द्वका घटनाहरूले अर्थतन्त्रलाई प्रत्यक्ष प्रभावित पारिरहेको बैंकको निष्कर्ष छ ।

प्रतिवेदनमा मध्यपूर्वको द्वन्द्व विस्तार र रुस–युक्रेन युद्धको निरन्तरताले विश्वव्यापी ऊर्जाको मूल्यलाई उच्च र अस्थिर बनाइराख्ने जनाइएको छ । यसको असर अन्य वस्तुहरूको मूल्यमा पनि पर्न सक्ने जोखिम छ । यद्यपि, मूल्य स्थिरताका लागि लिइएका सरकारी प्रयासहरूले मुद्रास्फीतिमा केही राहत मिल्ने संकेत देखिएको छ ।

सन् २०२६ को मुद्रास्फीति प्रक्षेपणलाई ४.३ प्रतिशतबाट घटाएर ४.२ प्रतिशतमा झारिएको छ । तर सन् २०२७ को लागि भने मुद्रास्फीति ३.४ प्रतिशतबाट बढेर ३.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन सन् २०२५ को ३ प्रतिशतभन्दा बढी हो । अर्कोतर्फ, जलवायु परिवर्तनको असरका रूपमा देखिएको ‘एल निनो’ को प्रभाव सन् २०२७ को पहिलो त्रैमासिकसम्म कायम रहने एडीबीको विश्लेषण छ। यसले सुख्खा मौसम निम्त्याउने, जलविद्युत उत्पादन घटाउने र कृषि उत्पादनमा ह्रास ल्याउनेछ ।

यसले खाद्य तथा इन्धनको मूल्यमा अस्वाभाविक वृद्धि गराउने भएकाले आर्थिक स्थायित्वमा चुनौती थपिएको छ । एडीबीका अध्यक्ष मासातो कान्डाले बढ्दो ऊर्जा संकट, वित्तीय बजारको जोखिम र प्रतिकूल मौसमको सामना गर्न सरकारहरूले बेलैमा तयारी थाल्नुपर्नेमा जोड दिएका छन् ।

उनले विशेषगरी यी जोखिमबाट बढी प्रभावित हुने वर्गको सुरक्षाका लागि प्रभावकारी नीति आवश्यक रहेको औंल्याएका छन्