होर्मुज जलडमरूमध्य खुला गर्नेसम्बन्धी इरानको शर्तसहितको प्रश्ताव अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अस्वीकृत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक तथा अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले संवेदनशील मानिने होर्मुज जलडमरूमध्य पुनः खुला गर्नेसम्बन्धी इरानको शर्तसहितको प्रश्तावलाई औपचारिक रूपमा अस्वीकार गर्नुभएको छ । तेहरानले मध्यस्थकर्ता कतारमार्फत पठाएको सात दिने समयसीमासहितको उक्त सम्झौता प्रस्ताव वर्तमान अवस्थामा आफूहरूलाई स्वीकार्य नहुने ट्रम्पले शनिबार स्पष्ट पार्नुभएको हो । राष्ट्रपति ट्रम्पले शनिबार पत्रकारहरूसँग कुरा गर्दै इरानले सम्झौता गर्न चाहे पनि उसको तर्फबाट आएका सर्तहरू अमेरिकाका लागि अनुकूल नरहेको बताउनु भयो ।

‘उनीहरूले एउटा प्रस्ताव अघि सारेका थिए, तर मैले त्यसलाई अस्वीकार गरिदिएको छु,’ ट्रम्पले भन्नुभयो, ‘उनीहरू सम्झौता गर्न चाहन्छन् र सम्झौता हुनु राम्रो कुरा हो, म पनि सम्झौताको पक्षधर हुँ ।तर उनीहरूले राखेको सम्झौताका शर्तहरू बिल्कुलै स्वीकार्य छैनन् ।’

ल्लयसअघि शुक्रवार संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा पत्रकारहरूसँग बोल्दै इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कतारमार्फत वासिङ्टनसमक्ष एक ‘ठोस’ कार्ययोजना प्रश्तुत गरिएको जानकारी दिनुभएको थियो । सो योजनाअनुसार आवश्यक सर्तहरू पूरा भएको खण्डमा सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन सकिने इरानको प्रश्ताव थियो । इरानी विदेशमन्त्री अराघचीकाअनुसार अमेरिकाले प्रश्ताव स्वीकार गरेको दिनदेखि सात दिने समयावधि गणना शुरु हुने ढाँचा बनाइएको थियो । प्रश्तावित योजनाअनुसार शुरुवाती चार वा पाँच दिनभित्र अमेरिकाले केही निश्चित कदमहरू चाल्नुपर्ने व्यवस्था गरिएको थियो । त्यसपछि छैटौँ दिनमा उक्त जलमार्ग खुला गर्ने र सातौँ दिनमा आपसी सहमतिमा तय गरिएका विषयहरूमा अन्तिम सम्झौताका लागि द्विपक्षीय वार्ता शुरु गर्ने कार्यसूची इरानले अघि सारेको थियो । इरानले अमेरिकाबाट अपेक्षा गरेका कदमहरू नौला नभएको र ती गत जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्रमै समेटिएको विषय भएको जिकिर विदेशमन्त्री अराघचीले गर्नुभएको थियो । तर राष्ट्रपति ट्रम्पले उक्त प्रस्तावलाई अस्वीकार गरेसँगै विश्वकै प्रमुख तेल ढुवानी मार्गका रूपमा रहेको होर्मुज जलडमरूमध्यमा जारी तनाव तत्काल अन्त्य हुने सम्भावना कमजोर बनेको छ ।