टर्कीमा लागुऔषध विरुद्धको ठूलो कारबाहीः ९८६ केजी लागुपदार्थसहित १२ सयभन्दा बढी पक्राउ

टर्कीमा लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि चलाइएको देशव्यापी विशेष सुरक्षा कारबाहीमा झन्डै एक हजार किलोग्राम लागुपदार्थ बरामद भएको छ । टर्कीको गृह मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार ७५ प्रान्तमा गरिएको समन्वयकारी अपरेसनका क्रममा ९८६ केजी लागुपदार्थ र १५ लाख ४० हजार थान लागुऔषधजन्य चक्की बरामद गरिएको हो । टर्कीको सुरक्षा प्रणाली र जनरल डिरेक्टोरेट अफ सेक्युरिटीको लागुऔषध नियन्त्रण विभागको प्रत्यक्ष समन्वयमा यो वृहत अपरेसन सञ्चालन गरिएको थियो ।

स्थानीय प्रहरी विभाग र सरकारी वकिलको कार्यालयसँगको सहकार्यमा देशभर एकैसाथ ‘सर्च एण्ड सिज’ अभियान चलाइएको मन्त्रालयले जनाएको छ । यस कारबाहीको क्रममा सुरक्षा निकायले लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा १ हजार २ सय ९७ जना संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको र सम्बन्धित अभियोजनकर्ताको कार्यालयमा बुझाउने तयारी भइरहेको छ । टर्की लामो समयदेखि अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको ट्रान्जिट विन्दु र प्रयोगको चपेटामा रहँदै आएको छ । यस्तो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै टर्कीका सुरक्षा निकायहरूले पछिल्लो समय देशव्यापी रूपमा सक्रियता बढाएका छन् । लागुपदार्थको दुरुपयोग र अवैध तस्करी रोक्न सरकारले पछिल्ला दिनहरूमा गुप्तचर सूचनाका आधारमा नियमित रूपमा यस्ता ठूला अपरेसनहरू सञ्चालन गर्दै आएको छ । यसअघि पनि टर्कीले विभिन्न अन्तर्राष्ट्रिय गिरोहहरू विरुद्ध कारबाही गर्दै आएको थियो । यो पछिल्लो सफलताले लागुऔषध तस्करीमा संलग्न सञ्जालहरूमाथि ठूलो धक्का पुगेको सुरक्षा अधिकारीहरूको दाबी छ ।