
यमनको सरकारी सेनाले दक्षिण–पश्चिम ताइज प्रान्तस्थित लाल सागरको रणनीतिक महत्वको बन्दरगाह सहर ‘मोखा’ विद्रोही हुथी समूहबाट फिर्ता लिएको सोमवार दाबी गरेको छ । बाब अल–मान्देब जलडमरु नजिकैको यो महत्वपूर्ण बन्दरगाह पुनः कब्जामा लिनुलाई यमनको गृहयुद्धमा एक निर्णायक मोडको रूपमा हेरिएको छ ।
सरकारी सञ्चारमाध्यम ‘सबा’ ले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार नेशन्स शिल्ड फोर्स, सरकारी समर्थक जायन्ट्स ब्रिगेड र तिहामा रेसिस्टेन्सको संयुक्त टोलीले हवाई हमलाको साथमा सहरको बाहिरी इलाकामा भीषण संघर्षपछि प्रवेश गरेका थिए । सरकारी दाबीअनुसार यस क्रममा हुथी लडाकुहरूको ठूलो क्षति भएको छ भने बाँकी लडाकुहरू शहर छाडेर भागेका छन् । हाल सरकारी फौजले सहर र आसपासका क्षेत्रमा सुरक्षा सुदृढ पार्ने काम (क्लियरिङ अपरेशन) गरिरहेको बताइएको छ ।


यद्यपि, जमिनमा रहेका हुथी विद्रोहीका एक अधिकारीले साउदी नेतृत्वको लडाकु विमानहरूले भीषण बमबारी गरेपछि सरकारी सेनाले आक्रमण शुरु गरेको पुष्टि गरे पनि सरकारी नियन्त्रणको दाबीलाई पूर्ण रूपमा स्वीकारेका छैनन् । नाम नबताउने शर्तमा कुरा गर्दै ती अधिकारीले ५६ भन्दा बढी हुथी लडाकु मारिएको र दर्जनौं घाइते भएको अनुमान गरेका छन् ।

यसैबीच, अर्का एक प्रत्यक्षदर्शी स्रोतले सरकारी सेनाले मोखा र त्यसको बन्दरगाह अझै नियन्त्रणमा नलिएको जिकिर गरेको छ । उक्त स्रोतकाअनुसार सरकारी घोषणा ‘हतारमा गरिएको प्रचारबाजी’ मात्र हो। सेप्टेम्बरको शुरुमा हुथी विद्रोहीले तीव्र गतिमा अघि बढ्दै मोखा कब्जा गरेका थिए, जसले बाब अल–मान्देब क्षेत्रमा उनीहरूको उपस्थिति बलियो बनाएको थियो ।
लाल सागर र गल्फ अफ अडेन जोड्ने बाब अल–मान्देब जलमार्ग विश्वकै सबैभन्दा व्यस्त जलमार्गमध्ये एक हो, जहाँबाट एसिया र युरोपबीच व्यापारिक सामानको ढुवानी हुने गर्दछ । तसर्थ, मोखाको नियन्त्रण युद्धको रणनीतिक र आर्थिक दृष्टिकोणबाट समेत अत्यंत महत्वपूर्ण मानिन्छ । हाल दुवै पक्षबाट फरक–फरक दाबी आइरहँदा सो क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेको छ ।





