बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के के गरिदैछ ?

काठमाडौं । बुढीगण्डकी र स्यार खोलामा आएको बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ ।आरूघाट गाउँपालिका–३ को केउरपानी र ढुंगेमा दुई ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ ।

सोती, लिदिङ र स्यामराङका तीन ट्रान्सफर्मर तथा धार्चे गाउँपालिकाका सबै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहेको नेपाल विद्युत् प्राधिकरण आरूघाट वितरण केन्द्रले जनाएको छ ।बाढीले गोरखा र धादिङमा विद्युत् वितरण प्रणाली, उच्च भोल्टेजका ७० भन्दा बढी पोल तथा विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ ।

अन्य धेरै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ ।;बाढीबाट बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मे.वा.), दोभान खोला (२४.५ मे.वा.), यारु खोला (३०.५९ मे.वा.), माछा खोला (१६ मे.वा.) लगायतका जलविद्युत् आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।

मन्त्रालयका प्रवक्ता मोहन शाक्यकाअनुसार बाढीले अवरुद्ध भएलगत्तै प्राधिकरणले विद्युत सेवा सुचारु गर्न काम थालेको थियो । करिब १० घण्टामै भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भएको थियो । यसैगरी आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको थियो । मन्त्रालयले यसै हप्ताभित्र सबै ठाउँमा विद्युत् सेवा सुचारु गर्नेगरी काम भइरहेको जनाएको छ ।