
काठमाडौँ । अमेरिकाले इरानसँग सम्बन्धित १६ व्यक्ति र १० संस्थामाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार इरानले आर्थिक प्रतिबन्ध छल्न प्रयोग गरिरहेको भनिएका वित्तीय सञ्जाल, गोप्य बैंकिङ कारोबार र तेल व्यापारका माध्यमलाई रोक्नु प्रतिबन्धको उद्देश्य हो ।
अमेरिका र इरानबीच तनाव बढिरहेका बेला बिहीबार घोषणा गरिएको यो कदमले तेहरानमाथि आर्थिक दबाब थप बढाउने अपेक्षा गरिएको छ। अमेरिकी अधिकारीहरूले इरानले आफ्नो सेना र क्षेत्रीय सहयोगी सशस्त्र समूहलाई आर्थिक सहयोग उपलब्ध गराउन यस्ता सञ्जाल प्रयोग गरिरहेको आरोप लगाएका छन् ।


अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको अर्थतन्त्रमाथि दबाब बढिरहेको बताएका छन्। उनले भनेका छन्, ‘इरानको अर्थतन्त्रमाथि शिकञ्जा कसिँदै छ। इरानका तथाकथित सहयोगीहरूले पनि उसलाई बचाउन सक्दैनन् ।’

उनले इरानी सरकारको आर्थिक स्रोत र युद्ध सञ्चालनमा सहयोग गर्ने वित्तीय माध्यम पूर्ण रूपमा बन्द नभएसम्म अमेरिकी अर्थ मन्त्रालय पछि नहट्ने बताएका छन् ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत गरिएको कारबाहीले इरानले इराकस्थित एउटा बैंकमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँच बनाउने प्रयासलाई रोक्ने लक्ष्य राखेको छ। उक्त बैंकले इरानसमर्थित सशस्त्र समूहलाई समेत सहयोग गरेको अमेरिकी पक्षको आरोप छ ।

प्रतिबन्धको दायरामा इराकस्थित इन्टरनेसनल डेभलपमेन्ट बैंक फर इन्भेस्टमेन्ट एन्ड फाइनान्स पनि परेको छ। अमेरिकी अधिकारीहरूले उक्त बैंकले इरानलाई वित्तीय सुविधा र अमेरिकी डलरमा पहुँच उपलब्ध गराएको आरोप लगाएका छन्। बैंकको इरानी सरकारी निकाय तथा इरानसमर्थित सशस्त्र समूहसँग सम्बन्ध रहेको पनि अमेरिकाको दाबी छ ।
त्यस्तै, इरानसँग सम्बन्धित जजीरेह इन्टरनेसनल बैंक कम्पनी र चाबहार इन्टरनेसनल बैंक ओभरसिज कम्पनीमाथि पनि प्रतिबन्ध लगाइएको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार यी बैंक क्रमशः बैंक मेल्लत र बैंक शहरसँग सम्बन्धित छन् ।

प्रतिबन्धमा इरानी तेल कारोबारमा संलग्न भनिएका सैयद रुहोल्लाह रजावी र उनीसँग सम्बन्धित दुई कम्पनी तेजारत गोस्तार एटलस पर्सियन किश कम्पनी तथा फर्जनेगान इनर्जी पार्स कम्पनी पनि परेका छन्। रजावीले इरानी तेल बिक्री गरी प्राप्त रकम गोप्य बैंकिङ सञ्जालमार्फत इरान पठाउन सहयोग गरेको अमेरिकी आरोप छ।
यसका साथै इरानको बैंक शहरसँग सम्बन्धित फरब सोरोग केशम कम्पनीका सात कर्मचारीमाथि पनि प्रतिबन्ध लगाइएको छ। उनीहरूले हङकङ र संयुक्त अरब इमिरेट्समा रहेका आवरण कम्पनीमार्फत इरानी तेल कारोबारसँग सम्बन्धित विदेशी मुद्रा लेनदेनको समन्वय गरेको अमेरिकी अर्थ मन्त्रालयको दाबी छ।
अमेरिकाले इरानको वित्तीय तथा पेट्रोलियम क्षेत्रलाई लक्षित गर्ने कार्यकारी आदेश १३९०२ अन्तर्गत नयाँ प्रतिबन्ध लगाएको जनाएको छ। यी प्रतिबन्धले इरानको अन्तर्राष्ट्रिय वित्तीय कारोबार र तेल व्यापारमा संलग्न सञ्जालमाथि थप दबाब पार्ने अमेरिकी पक्षको भनाइ छ ।




