जापानी महिलाको हत्यापछि टोकियोमा अमेरिकी सैनिकविरुद्ध प्रदर्शन, ओकिनावाबाट आधार शिविर हटाउन माग

जापानको ओकिनावामा अमेरिकी मरीनद्वारा एक स्थानीय महिलाको हत्या गरिएको घटनालाई लिएर टोकियोस्थित अमेरिकी दुतावास नजिकै विरोध प्रदर्शन भएको छ । आक्रोशित नागरिकहरूले ओकिनावाबाट अमेरिकी सैन्य आधार हटाउन र अमेरिकी सेनाको आपराधिक गतिविधिलाई रोक्न माग गरेका छन् । गत अक्टोबर ३ मा ओकिनावाको राजधानी न्हाहास्थित एक होटलमा २० वर्षीय अमेरिकी मरीन डेभिन बेलार्डले एक जापानी महिलाको हत्या गरी उनको वालेट र अन्य सामान लुटेको आरोप लागेको छ । उक्त घटनापछि ओकिनावा प्रान्तीय प्रहरीले बेलार्डलाई पक्राउ गरेको छ । यस घटनाले स्थानीय नागरिकमा तिब्र आक्रोश जन्माएको छ र ओकिनावा प्रान्तीय सभाले उक्त घटनाको निन्दा गर्दै कडा कारबाही र ‘जापान–अमेरिका स्ट्याटस अफ फोर्सेस एग्रिमेन्ट’ (क्इँब्) को पुनरावलोकनको माग गर्दै प्रश्ताव पारित गरेको छ ।

प्रदर्शनकारीहरूले ‘ओकिनावाबाट अमेरिकी सैन्य आधार फिर्ता गर’ र ‘अमेरिकी सेना, हत्या बन्द गर’ जस्ता नारा लगाएका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । आन्दोलनकारी म्यात्सुमोतोले अमेरिकी सेना ओकिनावामा रहेसम्म यस्ता हिंसात्मक घटनाहरू दोहोरिरहने भन्दै कडा चेतावनी दिएका छन् ।

उक्त घटनापछि अमेरिकी सेनाले ओकिनावामा ४८ घण्टाका लागि नियमित गतिविधि स्थगन गर्दै ३० दिनका लागि मध्यरातदेखि बिहान ५ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । यद्यपि, स्थानीय बासिन्दाहरूले यी कदमहरू केवल आगामी सैन्य अभ्यासलाई प्रभावित हुन नदिने उद्देश्यले गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सबैतिरबाट चर्को विरोध भइरहे पनि जापान र अमेरिकाले अक्टोबर १९ देखि २९ सम्म तय गरिएको ‘किन स्वर्ड २७’ नामक संयुक्त सैन्य अभ्यास रद्द गर्ने कुनै योजना नरहेको बताएका छन् । जापानको सेल्फ–डिफेन्स फोर्सका चिफ अफ ज्वाइन्ट स्टाफ हिरोआकी उचिकुराले सैन्य अभ्यासको आकार वा स्थानमा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन् ।