दाङको घोराहीमा विपरीत दिशाबाट आइरहेका दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु, तीनजना घाइते

दाङ –  घोराहीनजिक कटुवा खोलानेर विपरीत दिशाबाट आइरहेका दुईवटा मोटरसाइकल आज बिहान एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।


घोराहीबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१प १६३७ नंको मोटरसाइकल र लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा१प ५७०५ नंको मोटरसाइकल कटुवाखोला नजिकै एकआपसमा ठोक्किँदा ढिकपुर गाविस पोखरा निवासी महेश केसीको मृत्यु भएको हो ।


दुर्घटनामा लक्ष्मीपुर-४ गोग्ली निवासी ज्ञानेन्द्र पोख्रेल, घोराही नगरपालिका-११ निवासी विशाल केसी र कपिलवस्तु घर भई हाल विद्युत् प्राधिकरण घोराहीमा कार्यरत राहुल यादव घाइते भएका छन् ।


घाइतेमध्ये पोख्रेल र केसीको अवस्था गम्भीर रहेकाले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार गरी थप उपचारका लागि नेपालगन्ज सिफारिस गरिएको छ ।


घाइते यादवको भने राप्ती उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

अन्य समाचारहरु