लमजुङ – हिमाल पारीको जिल्ला मनाङमा अत्याधिक चिसो बढेपछि अहिले सबै विद्यालयहरु बन्द भएका छन् ।
२ उच्च मावि सहित २९ विद्यालय रहेको मनाङ जिल्लाका विद्यालयहरु गत वर्षहरुमा पुस १० गतेवाट विदा गरिने भएपनि यस पटक भने चाडै अत्याधिक जाडोका कारण छिट्टै विद्यालय वन्द गरिएको जिल्ला शिक्षा कार्यलय मनाङले जनाएको छ ।
समुन्द्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको उपल्लो मनाङका अत्याधिक चिसो बढेपछि विद्यालयहरु मंसिर महिनादेखि नै बन्द गरिएको मनाङका जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताउनुभयो ।
हाल तल्लो मनाङका विद्यालयहरु पनि बन्द गरिए पछि मनाङमा सबै विद्यालयहरुहरु बन्द भएका हुन् । उपल्लो मनाङमा तीन महिना र तल्लो मनाङमा २ महिना जाडो विदा हुने गर्दछ । जाडो छल्न मनाङ्गेहरु मंसिरको पहिलो साता नै जिल्ला छाड्ने गर्दछन् ।
यसैबीच, मनाङ जिल्लाको चामे बजार पुन विहीबारदेखि अन्धकारमय भएको छ । स्यार्पू खोलाबाट निकालिएको लघु जलविद्युत आयोजनामा खरावी आएपछि विहीबारदेखि विद्युत सेवा अवरुद्ध भएपछि बजार विद्युतविहीन भएको हो ।