महेश्वर चामलिङ राई
– पोथी बंगुरसँग सहवास गराउने क्रममा भाले बंगुरको आक्रमणबाट घाइते मलेसियामा कार्यरत उदयपुरका एक युवाको शनिबार विहान मृत्यु भएको छ।
उदयपुर जाँते गाविस-५ चौलाने घर भई मलेसियाको पेनाङस्थित बंगुर फाराममा कार्यरत टीकासेर राईको कामको सिलसिलामा कम्पनीमै मृत्यु भएको आफन्तले जनाएका छन्।
आफन्त मिलन राईले बताएअनुसार सख्त घाइते ३४ वर्षीय राईको एउटा करङ भाँचिनुका साथै नलिखुट्टामा १२ वटा टाँका मार्नुपरेको थियो। राईलाई स्थानीय मेडिकलमा भर्ना नलिएपछि सरकारी अस्पताल लाँदा उपचार गर्न ढिला भएको थियो।
राईको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हुनसक्ने छिमेकी दीपक राईले बताए।
७ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका उनले दुई वर्षअघि श्रीमतिलाई पनि मलेसिया झिकाएर रोजगारीमा लगाएको आफन्तले जनाएका छन्।
तीन छोरीका बाबु उनका दुईजना नाबालक छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ। उनको लाश स्वदेश ल्याउने बारे कुनै टुङ्गो लागेको छैन। पछिल्लो समय उनी अनधिकृत) भिसामा रहेकाले लाश ल्याउन कानुनी प्रक्रिया मिलाउन कठिन भइरहेको आफन्त केशर राईले बताए।