राजविराज – सप्तरीको मोहनपुर गाविसमा शनिबार एक जना युवतीको शब फेला परेको छ । कालो ज्याकेट, रातो कुर्ता सुरुवाल लगाएको अन्दाजी २० बर्षीय युवतीको शब मोहनपुरस्थित कजरा खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
पहाडी मूलको जस्तो देखिने मृत युवतीको छातीमा निलडाम रहेका कारण उनको बलात्कार गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि सगरमाथा अंचल अस्पताल राजविराज ल्याइएको छ । मृतकको सनाखत हुन नसकेको र घटनाको बिषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक थपलियाले बताए ।
अपहृत ब्यापारी मुक्त
यसैगरी सप्तरीबाट अज्ञात हतियारधारी समुहको अपहरणमा परेको सुनसरीको हरसाही गाविस-३ का ३५ वर्षीय मधु पाल शनिबार प्रहरीको सक्रियतामा मुक्त भएका छन् ।
अपहरण मुक्त पाल भेंडा ब्यापारी हुन् । सर्चमा खटिएको प्रहरी टोलीले सप्तरीको गोबरगाढा पलारबाट अपहृत पाललाई मुक्त गराएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । तीन दिन अघि सप्तरीको भारदहस्थित कंकालिनी मन्दिर नजिकबाट हतियारधारी समूहले पाललाई अपहरण गरी लगेका थिए ।



