– उमाकान्त पाण्डे गाउले
मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि
दुबई — कामचलाऊ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित गैर आवासीय नेपाली सङ्घको पाँचौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सो अवसरमा उहाँले गैर आवासीय नेपालीका जायज मागलाई कानुनी रुपले स्थापित गर्न विभिन्न कदमहरु चालिसकेको परिप्रेक्ष्यमा थप अग्रसरताका साथ नेपालको विकास तथा राष्ट्र निर्माणका लागि ठोस योगदान दिन विदेशमा रहेका नेपालीहरुसँग आग्रह गर्नुभयो ।
विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका सीप, दक्षता र पूँजीलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा खासगरी ग्रामीण क्षेत्रको विकास, शैक्षिक क्षेत्रको प्रबर्द्धन तथा भौतिक पूर्वाधार निर्माणमा लगाउन सकेमा नेपालको विकासमा उल्लेखनीय टेवा मिल्ने कुरा पनि उपप्रधानमन्त्री कोइरालाले व्यक्त गर्नुभयो ।
उहाँले खाडी क्षेत्रका विभिन्न मुलुकस्थित नेपाली राजदूतहरुलाई नेपाली श्रमिकहरुलाई आत्मसम्मानका साथ काम गर्न पाउने अवसर सिर्जना गर्ने दिशामा उन्मूख हुन तथा नेपालको आर्थिक तथा सामाजिक रुपान्तरण कार्यमा वैदेशिक लगानी प्रोत्साहन गर्ने कार्यमा अग्रणी भूमिका खेल्न र संवाहकको काम गर्नका निम्ति आहृवान गर्नुभयो ।
गैर आवासीय नेपाली सङ्घको तीनदिने पाँचौं क्षेत्रीय सम्मेलन आज सुरु भएको हो ।