दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

 

काठमाडौँ- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो । बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिइसकेको थियो ।

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश – Pardafas.com

अदालतले नै परमादेश दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए ।

ती सदस्यले बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री दाहाल आफैँले प्रस्ताव गरेको बताए । आयोगको १४ बैठकको मुख्य एजेन्डा नै बिएन्डसीको सम्बन्धनबारे थियो । बैठकमा आयोगका सह-अध्यक्ष स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि थिए ।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र बिएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिस सहितको पत्र पठाएको थियो ।

बिएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशय पत्र लिई पूर्वाधार निर्माण लगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो । तर, सबै प्रक्रिया पूरा गर्दा पनि सम्बन्धन नपाएको भन्दै बिएन्डसी सञ्चालक दुर्गा प्रसाईं सर्वोच्च अदालत गएका थिए ।