अर्घाखाँची: गत बर्ष भूमिकास्थानको अवस्थाः ८४.४३% भौतिक र ८०.५३% वित्तीय प्रगति

 

 -गोपाल प्रसाद भट्टराई

साउन–०७,अर्घाखाँची- गत आर्थिक बर्ष २०८०÷०८१ मा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ८४ दशमलव ४३ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । सबै शिर्षकमा कुल ७३ करोड ५८ लाख रुपैंया बजेटको शिलिङ्ग प्राप्त गरेको भूमिकास्थानले करिब ८५ प्रतिशत भौतिक प्रगति हाँसिल गर्दा ५९ करोड, २५ लाख रुपैंया खर्च गरेको छ।

गत आर्थिक बर्ष २०८०÷०८१ को अवधिमा भूमिकास्थानले गरेका प्रगति प्रस्तुत तथा बार्षिक समिक्षा गर्न सोमबार आयोजित कार्यक्रम मार्फत यस्तो तथ्याकं सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनका अनुसार खर्च प्रगतिलाई प्रतिशतमा हेर्दा भूमिकास्थानले गत आर्थिक बर्षमा ८० दशमलव ५३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमुख झविलाल थापाले कर्मशिल जनशक्ति परिचालन कार्यक्रम, पढ्दै–कमाउँदै–रमाउँदै विद्यालय कार्यक्रम र लक्ष्य भन्दा बढि राजश्व संकलन जस्ता उत्कृष्ट कार्यलाई भूमिकास्थानको उपलब्धिमा राख्नुभएको छ ।

जसमध्ये कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि खेती जस्तैः प्याज,कांक्रो, करेला, मकै, धान, अकबरे खुर्सानी, कोदो खेती, मकैको पोष्कर–थाकलको पातबाट झोला–टोपी निर्माण, बरोजगारको सुचिमा रहेकाहरुलाई स्वरोजगार हुनुलाई प्रमख उपलब्धिको रुपमा लिनुभएको छ ।

यस्तै ३८ किलोमिटर मध्ये गत बर्षमात्रै ३.५ किलोमिटर सडक कालोपत्रे, २ सय २० घरधुरीमा एक घर एक धारा अन्तरगत खानेपानीको मिटर जडान, सिंचाईको लागि ४.५ किलोमिटर पक्की कुलो निर्माण, नगरपालिकालाई आवस्यक पर्ने अधिकांश ऐन, नियम र कार्यविधि तयार हुनु र सबै वडाको प्रतिनिधित्व हुने गरि सार्वजनिक सुनुवाई गर्न सफल हुनु जस्ता कार्यक्रमलाई महत्वपूर्ण उपलब्धिको रुपमा राखिएको नगर प्रमुख थापाको भनाई छ ।

images

अहिले विकासले गाउँ भरिने, मानिसले शहर भरिने अवस्था आएको प्रति दुःख व्यक्त गर्दै नगर प्रमुख थापाले बसाईसराई न्युनिकरणको निम्ती नागरिक सचेतना बढाउनु पर्नेमा जोड दिनुभएको छ । भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले सिमित स्रोतका कारण नगरपालिकासंग जनताका सबै माग पुरा गराउन नसकिएको स्विकार गर्दै आन्तरिक आम्दानी बढाउनुपर्ने तर्क गर्नुभएको छ ।

images

यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत तुवलाल सापकोटाले जनताका माग र समस्या ठुलो मात्रामा भएकोले भनेजती काम गर्न नसकिएको स्विकार गर्नुभएको छ । कार्यक्रममा सबै राजनितिक दलको तर्फबाट एमाले नगर अध्यक्ष मणिराम पौडेल, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि राम बहादुर थापा र पत्रकार महासंघका सह–सचिव हृदय कुमार भुसालले मन्तव्य राख्दै भूमिकास्थानको समग्र विकासमा सबैसंग समन्वय गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ ।

योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालको सहजीकरण र कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थानका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, भूमिकास्थानमा क्रियाशिल राजनितिक दलका नेताहरु, भूमिकास्थानका बिभिन्न बिषयगत शाखाका प्रमुखहरु, वार्ड सचिवहरु, पत्रकार र अन्य सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

images

समिक्षा कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले भौतिक संरचना मात्रैले दिगो र पूर्ण विकास नहुने भन्दै सचेतना र व्यवहार परिर्वतनको लेभल उकास्ने गरि चौतर्फि विकासको काम गर्न सुझाव दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि सहितका सेवाको गुणस्तर सुधार गर्न पनि सहभागिले जोडदार माग गरेको नगरपालिकाले जनाएको छ ।

 

 

Nepal life insurance