जापानबाट अधिकांश नेपाली नेपाल र्फकन चाहे पनि हवाई टिकट, पुनः प्रवेश भिसा र कानुनी प्रक्रियाका कारण अलमलमा

– देवेन्द्र भट्टराई

 

काठमाडौ – आणविक विकिरणको त्रासमा जापानको सेन्दाई प्रान्तबाट टोकियोमा ल्याएका ४७ विद्यार्थीमध्ये अधिकांश नेपाल र्फकन चाहन्छन् । तर हवाई टिकट, पुनः प्रवेश भिसा र कानुनी प्रक्रियाका कारण उनीहरू अलमलमा परेका छन् ।

आणविक केन्द्र रहेको फुकुसिमाबाट उद्धार मागेर आएका १३ विद्यार्थी भने सुरक्षित गन्तव्यमा आफन्त खोज्दै ओसाका, नागोया, कोबे लगायतका स्थानमा पुगेका छन् । टोकियोस्थित राजदूत गणेश योञ्जनका अनुसार आणविक केन्द्र आसपासबाट आएका भए पनि केन्द्रको ३० किलोमिटरभित्र बसोबास नरहेकाले यी १३ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नु नपर्ने चिकित्सकले जनाएका छन् । सेन्दाईमा रहेका अरू १७ जना विद्यार्थी सम्पर्कमा आएपछि उनीहरूलाई लिन टोकियोबाट बिहीबार पुनः गाडी पठाइएको छ । सेन्दाई केन्द्र टोकियोबाट झन्डै ३ सय किलोमिटर दूरीमा छ ।

‘हामी टोकियोनजिकै फुनाबुरी स्टेसनको गोविन्दाज रेस्टुरेन्टमा आश्रति भएका छौं,’ सेन्दाईबाट उद्धारमा परेर आएका चितवनका दीपेन्द्र पौडेलले भने, ‘यहाँ रहेकामध्ये अधिकांश नेपाल फिर्ने सोचाइमा छौं, तर रि-इन्ट्री भिसासहित फिर्ती टिकटको कठिनाइ सबैसँग छ ।’ राजदूत योञ्जनले उद्धार गरेर ल्याइएका नेपालीको आश्रयस्थलमा बिहीबार पुगेर आवश्यक सहयोगको आश्वासन दिएका छन् । तर टिकटका लागि आर्थिक स्रोत जुटाउने र रि-इन्ट्री भिसाको काम विद्यार्थीलाई जापान ल्याउने कन्सल्टेन्सी संस्थाले बेहोर्नुपर्ने राजदूत योञ्जनले स्पष्ट पारेका छन् । एनआरएनसहितका स्थानीय नेपाली समाज र दूतावासको संयोजनमा उद्धारमा आएकालाई खान र बस्ने अस्थायी प्रबन्ध भने मिलाइएको छ । 

सेन्दाईमा भाषा विषय पढ्न गएका विद्यार्थीको बिचल्ली थाहा पाएर उनीहरूलाई पढाउने टोपा इन्टरनेसनलका प्रतिनिधि कपिलदेव थापा बुधबारै टोकियो पुगेका छन् । उनको कन्सल्टेन्सीबाट मात्रै ४४ जना विद्यार्थी आएकोमा अहिले सबैजना आश्रयस्थलमा रहेका छन् । ‘आवश्यक परेमा फिर्ती टिकटसहितको खर्च बेहोर्न हामी तयार छौं तर रि-इन्ट्री भिसासहितको कानुनी प्रक्रिया टुंग्याउन निकै समय लाग्ने भएकाले जापानमै सुरक्षित स्थलमा विद्यार्थी राख्ने सल्लाह भइरहेको छ,’ थापाले कान्तिपुरसँग फोनमा भने । ओसाका क्षेत्र सुरक्षित भएकाले विद्यार्थीहरूलाई त्यता अस्थायी बसोबास गराउन सकिने उनले बताए । थापासम्बद्ध टोपा इन्टरनेसनलले मात्रै ५ सयभन्दा बढी विद्यार्थी जापान पुर्‍याएको छ ।

तर राजदूत डा.योञ्जनका अनुसार प्राकृतिक बिपत्ति बेहोरिरहेको अवस्थामा एक दिनमै रि-इन्ट्री भिसाको सुविधा जापान सरकारले दिइरहेकाले टोपा इन्टरनेसनलबाट आएका विद्यार्थी घर फिर्नमा कठिनाइ नहुने बताए । ‘आज एकै दिनमा ५ जना नेपाली विद्यार्थीले रि-इन्ट्री भिसा पाएका छन्, बरु घर फिर्न चाहनेले दूतावासको आवश्यक सन्दर्भ-पत्र लिएर अध्यागमन गए हुन्छ,’ उनले भने । टोकियोबाट काठमाडौं फिर्न औसतमा ७० हजार रुपैयाँ एकतर्फी हवाई भाडा छ । तर घर फिर्नेहरूको भीड बढेकाले कम्तीमा १० दिनसम्म टिकटका लागि पर्खनुपर्ने स्थिति रहेको छ । घर फिर्न चाहने अधिकांश विद्यार्थी भएकाले उनीहरू हवाई टिकट किन्न नसक्ने अवस्थामा छन् । 

टोपा इन्टरनेसनलमा ७ लाख रुपैयाँ बुझाएर चार वर्षअघि जापान छिरेका अर्घाखाँचीका यमबहादुर गुरुङका अनुसार अहिले आश्रय पाइएको स्थलबाट पनि जतिसक्दो चाँडो आफ्नै प्रबन्धमा कतै बस्न टोकियो दूतावासले भनेकाले यसबारे विकल्पको खोजी भइरहेको छ । ‘उद्धारमा परेर नयाँ विद्यार्थी यहाँ आउने सम्भावना छ, तपाईंहरूले यहाँबाट आफ्नै व्यवस्थापनमा कतै सारिदिनुभए राम्रो हुन्छ,’ राजदूत योञ्जनको आग्रह उद्धृत गर्दै यमबहादुरले भने । ‘बंगालादेश, चीन, जर्मनीजस्ता मुलुकले आफ्ना नागरिकलाई यतै सुरक्षित स्थानमा अथवा चार्टर प्लेनमा घर फर्काइसकेका छन्,’ यमले भने, ‘हाम्रा बारेमा पनि नेपाल सरकारले केही सोचिदेओस् ।’ तर परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले आपतकालीन रूपमा आइपर्ने खानेबस्ने समस्यालाई सम्बोधन गर्न सहयोग गर्न सकिने भए पनि हवाई टिकट वा अन्य प्रबन्धमा अहिले सहयोगी बन्न नसकिने बताए । आपतकालीन उद्धार प्रयोजनमा ३५ लाख रुपैयाँ टोकियो नियोगलाई तत्काल पठाइने भएको छ । अझै पनि फुकुसिमा र सेन्दाई क्षेत्रमा झन्डै एक सय नेपालीको स्वेच्छापूर्वक बसोबास रहेको अनुमान छ  ।


नेपाली सेनाको उद्धार टोलीलाई तत्काल नपठाइने

 

जापानमा हालै आएको भुइँचालो तथा सुनामीमा परेका जापानी नागरिकलाई उद्धार सहयोग गर्न पठाइने भनिएको नेपाली सेनाको उद्धार टोलीलाई तत्काल नपठाइने भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवत्ता रुद्र नेपालका अनुसार जापान सरकारले सहायता लिन विशेष संयन्त्र तयार नभइसकेको अवस्थामा उद्धार टोली तत्काल नपठाउन आग्रह गरेको हो । जापानले अर्को सूचना नदिएसम्म टोली ‘स्ट्यान्डवाइ’ रहनेछ । जापानलाई दिइने भनिएको कम्बल सामग्री पनि दक्षिण कोरियाबाट किनेर उतैबाट पठाइने प्रवक्ता नेपालले जानकारी दिए ।