
सर्लाही – एसएलसीको आइतबारको परीक्षा दिन आफ्नो सट्टा छोरीलाई पठाएकी सभासद किरणदेवी यादव सोमबार आफैं बरहथवा परीक्षा केन्द्र पुगिन् । परीक्षा दिन उनी एमाले कार्यकर्ताको दलबल सहित गएकी थिइन् । छोरीलाई जाँच दिन लगाएर किर्ते काम गर्ने उनलाई जिल्लास्थित दल र कार्यकर्ताको संरक्षणका कारण प्रहरीले पक्राउ गर्न सकेन । परीक्षामा किर्ते गर्न सघाएर ‘परीक्षाको मर्यादा बिगारेको’ भन्दै केन्द्राध्यक्ष निलम्बन गरेको जिल्ला परीक्षा समन्वय समितिले सोमबारको परीक्षामा सभासदलाई भने सामेल गरायो ।
नियम अनुसार आफूबाहेकलाई परीक्षा दिन लगाएर ‘किर्ते गर्ने र गराउने’ दुवैलाई दोषी मानेको छ । परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूका अनुसार आमाछोरी दुवैमाथि कानुनी कारबाही हुनुपर्छ । केन्द्राध्यक्षको मिलेमतोमा भएको यस्तो अपराध रोक्न सभासदलाई पक्राउ गर्नुपर्नेमा शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय र प्रहरी सबै एकमत छन् । तर सम्बन्धित पार्टी तथा स्थानीय कार्यकर्ताले सोमबार अबेरसम्म उनलाई पक्राउ पर्नबाट जोगाएका छन् ।
शिक्षा मन्त्रालय तथा परीक्षा नियन्त्रण कार्यालयका उच्च अधिकारीहरूलाई ‘सभासदले छोरीलाई परीक्षा दिन लगाएको तथा दबाबका कारण पक्राउ गर्न नसकेको’ रिपोर्ट जिल्लाले आइतबार दिएको थियो । मिलेमतो थाहा पाएपछि केन्द्राध्यक्षलाई भने निलम्बन गरिएको थियो । मन्त्रालयका एक अधिकारीले केन्द्राध्यक्षले सभासदकी स्नातक अध्ययनरत छोरीलाई भगाउन सघाएको बताए । ‘आइतबार रातिसम्म पनि सीडीओलाई कार्यकर्ताले घेरेर राखेका थिए,’ ती अधिकारीले भने, ‘सभासदले अनियमितता गरेका छन् भने दल र कार्यकर्ताले उनको संरक्षण ।’
एमाले संसदीय दलका प्रमुख सचेतक भीमप्रसाद आचार्यले आफूले सभासद यादवलाई सोमबार सम्पर्क प्रयास गरे पनि असफल भएको बताए ।
आइतबार आफू रौतहटस्थित माधोपुरमा आमाको श्राद्धका लागि गएको दाबी सभासदले गरिन् । उनले आफू सुरुकै दिनदेखि परीक्षामा सामेल भएको दाबीसमेत गरिन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले आइतबारको परीक्षामा सभासद उपस्थित नभएकाले नक्कली परीक्षार्थी उनकै सट्टामा आए/नआएको प्रस्ट नभएर पक्राउ गर्न समस्या भएको बताए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस्तो मुद्दामा परीक्षा समितिले अघिल्लो दिनको परीक्षामा भएको हाजिरीको सही रुजु गरेर फरक देखिए परीक्षार्थीको परीक्षा रद्द तथा दोषीलाई कानुनी दायरामा ल्याउन सक्छ । सभासदको अनियमिततामाथि परीक्षा समितिले यस्ता कुनै प्रक्रिया अपनाएको छैन । केन्द्रीय परीक्षा समितिले समेत त्यसबारे ठोस निर्देशन दिएको छैन । एमालेकै सिफारिसमा शिक्षामन्त्री भएका गंगालाल तुलाधरले परीक्षा मर्यादित बनाउन अनियमितता गर्नेलाई कुनै पार्टीले संरक्षण नगर्ने बताएका थिए । परीक्षा समितिका अध्यक्षसमेत रहेका शिक्षा सचिव शंकर पाण्डेले घटनाबारे आफूले जानकारी लिइरहेको प्रतिक्रिया दिए भने सदस्यसचिव परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जसले गरे पनि व्यक्ति फेरेर परीक्षा दिनु अमर्यादित र गैरकानुनी भएको जनाए ।
– अनमोलमणि पौडेल (काठमाडौं)/ अमन कोइराला, रासस
प्रधानमन्त्री झलनाथ खनाल अध्यक्ष रहेको पार्टी एमालेकी एक सभासदको परीक्षा नक्कली परीक्षार्थीबाट
सर्लाही – एसएलसी परीक्षामा हुने अनियमितता रोक्न सरकारले त्यसमा संलग्न हुने र हुन लगाउनेलाई सार्वजनिक अपराधअन्तर्गत ६ महिना जेल र एक लाख जरिवाना गर्ने घोषणा गरे पनि प्रधानमन्त्री झलनाथ खनाल अध्यक्ष रहेको पार्टी एमालेकी एक सभासदको परीक्षा नक्कली परीक्षार्थीले दिएको खुल्न आएको छ ।
बरहथवा परीक्षा केन्द्रमा आइतबार सभासद किरणदेवी यादवको नाममा परीक्षा दिन आएकी एक युवती ‘भागेर उम्कन सफल’ भएपछि यसको खुलासा भएको हो । स्रोतका अनुसार सभासदको नाममा उनकै स्नातक पढ्ने छोरीले परीक्षा दिइरहेकी थिइन् । नक्कली परीक्षार्थी भन्ने खुलेपछि ती युवतीलाई पक्राउ गरिए पनि सभासदकी छोरी भएको थाहा पाएपछि छाडिएको आरोप स्थानीय बासिन्दा र अन्य परीक्षार्थीले लगाएका छन् ।
केन्द्राध्यक्ष राजकुमार ठाकुरले ‘आइतबारको परीक्षामा नक्कली परीक्षार्थी युवती भागेको’ प्रतिक्रिया दिए । ‘घटनापछि हेर्दा परीक्षा केन्द्रमा सभासद किरणदेवी यादव अनुपस्थित भएको पाइएकाले शंका पैदा गरेको छ,’ उनले भने ।
पहिलो दिनदेखिकै परीक्षामा सभासद यादव उपस्थित भएको नदेखेको पनि उनले बताए । ‘एक युवती कम्प्युटर स्क्यान गरेको प्रवेशपत्र लिएर आएपछि सक्कल प्रवेशपत्र ल्याउन भन्दा भागिन्,’ उनले भने, ‘ती युवतीले परीक्षा दिन नपाएपछि आइतबारको परीक्षामा सभासद यादवको सिट खाली रह्यो ।’ यादवलाई एमालेले समानुपातिकबाट सभासद बनाएको हो । छानबिन हुन थालेपछि किरणदेवी यादवको नाममा परीक्षा दिन आएकी युवती भागेको जिल्ला शिक्षा अधिकारी हेमन्त सिंहले बताए ।
‘सभासदको नाममा परीक्षा दिने नक्कली परीक्षार्थीलाई जानी-जानी छाडेको हल्ला चलेपछि पत्ता लगाउँदा मानपुर माविबाट सभासद यादवले नै परीक्षाका लागि आवेदन गरेको जानकारी पायौं,’ केन्द्राध्यक्ष ठाकुरले भने । मानपुर सभासद किरणदेवीकै गाउँ हो । सुरक्षा निकायका अधिकारीले पनि सभासदले छोरीलाई परीक्षा दिन लगाएको जानकारी पाएको बताए । ‘तर हामीले औपचारिक रूपमा भन्न मिल्दैन,’ ती सुरक्षा अधिकारीले भने, ‘हामीलाई पनि आइतबार मात्र त्यस्तो भइरहेको थाहा भएको हो ।’
सभासदको नाममा नक्कली परीक्षार्थीले परीक्षा दिएको समाचार काठमाडौंसम्म पुगेपछि केन्द्रको निर्देशनमा स्थानीय प्रशासनले छानबिन सुरु गरेको थियो । साँझ बसेको एसएलसी परीक्षा समन्वय समिति बैठकले ‘परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न नसकेको’ भन्दै केन्द्राध्यक्ष ठाकुरलाई जिम्मेवारीबाट बर्खास्त गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले बताए ।