काठमाडौ – प्राप्त समाचार अनुसार बेलायतको रक्षा मन्त्रालयले आफ्नो सैन्य क्षमतामा कटौती गर्ने जनाएपछि यसबाट गोर्खा सैनिकको संख्या पनि घट्ने भएको छ । बेलायती दुतावासबाट जारी बिज्ञप्ती अनुसार, सन् २०१५ भित्रमा ७ सय गोर्खा सैनिकको संख्या कटौती हुने भएको छ ।
बेलायतको कुल सैनिक संख्या ९४ हजार ३ सय ५० रहेकोमा आगामी चार बर्ष ७ हजारको अनुपातमा यो संख्या कटौती हुने भएको छ । गोर्खा सैनिकको हकमा भने आगामी सेप्टेम्बरमा पहिलोपटक १ सय ६५ जना कटौतीमा पर्ने जनाइएको छ । सेनामा स्वेच्छिक अवकाशको अवसर समेत दिइने र सेवा अवधी टुङ्गिन लागेकालाई मात्रै अवकाशमा पारिने भएको छ ।
‘यद्यपि बेलायत सरकारलाई जवान युवाहरु आवश्यक परेकाले यस बर्ष १ सय ७६ जना गोर्खा सैनिक भर्ति गर्ने प्रकृया पनि जारी रहनेछ,’ बिज्ञप्तीमा उल्लेख छ । हाल करिव ३४ सय नेपाली युवाहरु बेलायती सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत छन् ।



