-सुदिप पन्त, लस्एन्जेलेस
अर्घाखाँची टाईम्स यूएई डेस्क– झापास्थित महारानी ७ दुरामाढी स्थायी घर भएका रोशन भण्डारी वर्ष २३ को मंगलबार विहान क्यालिफोर्नियास्थित लजएन्जलसको बेल्ल्फ्लोवर सिटीमा रहेको सेभेन इलेभन पसल अगाडि स्थानीय अपराधीहरुले हानेको गोली प्रहारबाट निधन भएको छ । गोली कारभित्रै उनको छातीमा लागेको छ । विगत दुइ वर्षअघि डीभी परेर अमेरिका आएका भण्डारी केही वर्षयतादेखि सोही सेभेन इलेभेनमा काम गर्दै आएका थिए ।
सो सेभेन इलेभेन पसलमा तीन महिनाअघि डकैती भएको र सो डकैतीमा परेका अपराधीहरुको स्थानीय अदालतमा मुद्दा चलिरहेको थियो र आज मुद्दाको फैसला हुने दिन भएको जानकारी सेभेन इलेभेनका संचालकबाट थाहा भएको छ । भण्डारीमाथि सोही अपराधीहरुले गोली प्रहार गरिएको हुन सक्ने आशंका स्थानिय युबराज सिटौलाले गरेका छन ।
निजका अनुसार आज पनि भण्डारी सोही मुद्दाका लागि सेभेन इलेभेन पसलका तर्फबाट स्थानीय अदालत जाने क्रममा बाहिर पार्क गरिरहेको गाडीमा बस्दा बस्दै उनीमाथि गोली प्रहार भएको थियो । स्थानीय प्रहरीले गोली प्रहार भएको सेभेन इलेभेन क्षेत्रलाई धेरै समयसम्म घेरा गरेर राखेको र कसैलाई त्यहाँ भित्र जान नदिएकाले गोली लागेका भण्डारीको स्थितिबारे प्रहरीले दिउँसो १२ बजेतिर मात्र मृतकका आफन्तलाई बोलाएर निधन भएको जानकारी गराएका थिए ।
झापा दुरागढी ७ निवासी रानेन्द्रबहादुर भण्डारी र देवीमाया भण्डारीका दुइ छोराहरुमध्ये रोशन अविवाहित जेठा छोरा हुन् । सो घटना बाट आफु धेरै दुखी रहेको र नेपाली समुदाय बाट यो घडीमा शोकाकुल परिवारलाई आवश्यक सहयोग सबैले मिलेर गर्नु पर्ने यहाँ स्थित फ्रेन्डस अफ नेपालका अधक्ष्य डा. शम्भु ढुंगानाले बताउनु भयो। घटना भएको स्थलमा धेरै नेपालीहरु पुगेका थिए ।