काठमाडौंको बालाजुमा मृत फेला परेकी महिलालाई सैनिक श्रीमान्ले घाँटी रेटेर हत्या गरेको पुष्टि

काठमाडौं  – काठमाडौंको बालाजुमा तीन दिनअघि बालाजुमा मृत फेला परेकी महिलालाई उनकै श्रीमान्ले हत्या गरेको खुलेको छ । गोरखा थुमीका भरत खत्रीले श्रीमती मायाको घाँटी रेटेर हत्या गरेको पुष्टि भएको हो ।

गत २१ गते बालाजु उद्यानभित्र छकुने टहराको छेउमा मायाको शव फेला परेको थियो । हत्यामा संलग्न श्रीमान् भरत र उनका सहयोगी अर्का सिपाही संघर्ष गाउँले खत्री महानगरीय  प्रहरी वृत्त बालाजुको हिरासतमा छन् ।

श्रीमान्-श्रीमतीबीच असहमति बढेपछि श्रीमतीको हत्या गरेको बयान उनले दिएका छन् । गोरखाका कान्छी श्रीमती राखेका उनले श्रीमतीसँग कलह बढेकाले झुक्याएर हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूको ७ वर्षीय छोरासमेत छ ।

बालाजु वृत्तका डिएसपी दिवेश लोहनीका अनुसार २१ गते राति क्याभलरी पछाडिको पर्खालबाट भागेर गएका सिपाही खत्रीले खुकुरी र हम्मर प्रयोग गरेर श्रीमतीको हत्या गरेका थिए ।

‘यसले वास्ता गर्न छाडेका भन्दै श्रीमतीले पैसा लगायत अन्य सेवा सुविधा माग गरेर प्रहरी र नेपाल क्याभलरीमा उजुरी दिएकी थिइन्’ डिएसपीले भने, ‘सेनाले जेठी श्रीमती मेनुकालाई आधा तलब उपलब्ध गराउँदै आएका थियो, आधा पैसा खर्च हुन थालेपछि आफ्नो बाटोबाट हटाउन हत्या गरेको हो ।’ लामो समयदेखि सम्बन्ध बिगि्रए पनि सिपाही खत्रीले १५ दिन पहिलेदेखि सम्बन्ध र व्यवहार राम्रो पारेर फकाउँदै आएका थिए ।

उनले हत्या गर्ने दिन विदेशबाट मामाले कम्बल र बाला पठाइदिएको छ, लिन बोहराटार जाने भन्दै घरबाट लिएर हिंडेका थिए । दुई जना झगडा नगर्ने भन्दै बाटोमा पर्ने मन्दिरमा कसम खाएका उनले केही पर नपुग्दै हत्या गरेको प्रहरीले जनाएको छ । ‘जंगलतिर लगेर बाटो अल्मलिएको बहाना बनाएर उभिएपछि पछाडिबाट आफ्नो सुरले हिंडेझैं गरेर अघि बढेका संघर्ष खत्रीले पछाडिबाट हम्मरले टाउकोमा हानेको देखिन्छ’ डिएसपी लोहनीले भने ।

बालाजु वृत्तमा पहिले पनि श्रीमान्-श्रीमतीबीच झगडा मिलाउन आएकाले प्रहरीलाई थप अनुसन्धान गर्न सहज भएको थियो । आरोपित सिपाही खत्री घटना भएको दिन क्याभलरीमा साँझ ७ बजे खाना खाएर ‘रोलकल’ मा सहभागी भएका थिए । त्यसपछि भागेर पछाडिको पर्खालबाट बाहिरिएको उनले प्रहरीलाई बताएका छन् । ‘तर, लामो समयसम्म आफू क्याभलरीबाट ननिस्किएको भन्दै थिए, थप अनुसन्धान गर्दै जाँदा उनले आफैले गरेको बयान दिए ।’

अन्य समाचारहरु