
– रामेश्वर कार्की
धादिङ – धादिङको बेनीघाटबाट गोरखाको घ्यालचोक जोड्ने भैंसेगौंडामा रहेको तुइन सोमबार बिहान साँढे एघार बजेतिर चुडिँदा चार जना त्रिशूली नदीमा डुबेर हराइरहेका छन्।पृथ्वी राजमार्गस्थित गोरखाको घ्यालचोकबाट धादिङको बेनिघाट-८ भैंसेगौंडातर्फ आउँदै गर्दा तुइन चुँडिएको हो।
तुइनमा क्षमताभन्दा बढी यात्रु एकैपटक चढेर नदी पार गर्न खोज्दा चुँडिएको प्रत्यक्षदर्शीले बताए। सात जना सवार तुइन नदीको बीच भागमा पुगेर लच्किँदा तुइनमा रहेका चार जना मानिस नदीमा बगेपछि तुइन माथि उठेको थियो। बेपत्ता हुनेहरु चारै जना गोरखा घ्यालचोकका हुन्।
बेपत्ता हुनेहरुमा ३० वर्षिया निशा श्रेष्ठ, ३६ वर्षीय अमृत श्रेष्ठ, ३६ वर्षीय रञ्जित गैरे नेपाली र ३५ वर्षीय जगनारायण श्रेष्ठ छन्। तुइन लच्किएर माथि उठ्दा तीन जना मानिस सकुशल बच्न सफल भएका छन्। नदीमा परी बेपत्ता हुनेहरुको पहिचान भए पनि नदीले बगाएकाले उद्दार हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दलबहादुर बोगटीले जानकारी दिए।
घटनास्थलमा बेनीघाट प्रहरी र इप्रका गजुरीको टोली पुगिसकेको छ। बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य सुरु गरिएको प्रहरी निरीक्षक बोगटीले बताए।
२०२५ सालतिर बनेको तुइनको लठ्ठा चुँडिन लागेपछि एक महिनाअघि गाउँलेहरु लठ्ठा फेरिदिनु पर्यो भन्दै स्थानीय विकास अधिकारी समक्ष पुगेका थिए। स्थानीय विकास अधिकारीले ‘लठ्ठा छैन’ भन्ने जवाफ दिएर गाउँलेलाई फर्काएका थिए। स्थानीय विकास अधिकारीले लठ्ठा फेर्न बजेट नभएको बताएपछि आज मात्रै स्थानीय बासि डोलिडा (झोलुङगे पुल बनाउने निकाय) मा पुगेका थिए। मर्मतका लागि स्थानीयको चासो समयमै भए पनि सरोकार वालाहरुले ध्यान नदिँदा दुर्घटना भएको छ।



