सुरक्षित आप्रवाशनको लागि प्रतिबद्ध छु : रामेश्वर शाह

रामजी बगाले – काठमाण्डौ -वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूको सुरक्षित आप्रवाशनका लागि आफूहरू प्रतिबद्ध रहेको जनाउँदै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष रामेश्वर शाहले यसका लागि आफू आवाज उठाउन सदैव तयार रहेको बताएका छन्। एनआरएनको आगामी सम्मेलनमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका शाहले वैदेशिक रोजगारका क्षेत्रमा रहेका हर नेपालीका आवाजलाई उठाउन आफू तत्पर रहेको बताएका छन्।


अहिले विशेषगरी खाडी मुलुकमा नेपाली कामदारहरू बढी समस्यामा पर्ने गरेको बताउँदै शाहले यसका लागि सरकार पनि गम्भीर हुनुपर्ने बताएका छन्। विशेषगरी खाडीमा महिला कामदारहरू समस्यामा परेको बताउँदै शाहले ओरेन्टेशन, सीप तथा आवश्यक ज्ञान विनानै रोजगारीमा जाने गरेका कारण धेरै नेपालीहरू न्यून पारिश्रमिकमा आफ्नो श्रम बेच्न बाध्य भएको बताए। उनका अनुसार खाडी मुलुकमा महिलासम्बन्धी कानुन कडा हुँदाहुँदै पनि महिला कामदारहरू घरभित्रै सीमित हुँदा उनीहरूका समस्या बाहिर आउन नसकेका हुन्। यसका लागि सरकारले पहल गरेर अनुगमन गर्नुपर्ने व्यवस्था लागू गराउन उनको सुझाव छ।


उता, वैदेशिक रोजगारमा जाने कामदारहरू सेमीस्कील भएर जान सके अहिलेको कमाईभन्दा झडै दुई तीन गुणा बढी उनीहरूले पारिश्रमिक पाउन सक्ने बताउँदै शाहले यसका लागि सरकार एवं सम्बन्धित निकायले ओरेन्टेशन, सीपमुलक तालिमका लागि छुट्टै व्यवस्था गर्नुपर्ने समेत जनाए। सामान्य ज्ञानकै अभावमा खाडीका नेपालीहरू हृदयघात, ट्राफिक समस्यालगायतका कारणले मृत्युको मुखमा पर्ने क्रम बढेको छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिई सम्बोधन गर्न सक्नु पर्ने शाहको तर्क छ।


आफूले विश्वभर छरिएर रहेका ३० लाखभन्दा बढी नेपालीहरूको हक, हित र सुरक्षित आप्रवाशनका लागि आवाज दह्रो बनाउन नै एनआरएनको आशन्न सम्मेलनमा उपाध्यक्षको लागि उम्मेदवारी दिएको बताउँदै शाहले यसका लागि आफू सदैव तत्पर रहेको बताएका छन्।