




-गोपाल प्रसाद भट्टराई
जेठ–४,अर्घाखाँची / अर्घाखाँची – गणतन्त्रको रक्षा, प्रतिगमनका विरूद्द संघर्ष र संघीयता खारेजीको निम्ती जनचेतना जगाउने उदेश्यका साथ संचालन गरेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको एक हप्ते कार्यक्रम सम्पन्न भएको छ ।


पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लाका ६ वटा पालिकाको ७ ठाउँमा चेतनासभा गरि राष्ट्रिय जनमोर्चाले यो अभियान समापन गरेको हो । गत बैशाख २२ गते सन्धिखर्कमा पत्रकार सम्मलेन गरि अभियानको सार्वजनिक गरेको राष्ट्रिय जनमोर्चाले गत बैशाख २६ गते मालारानीको रतनमारे, बैशाख २७ गते भूमिकास्थानको ढाकावाङ्ग–पिपलनेटा, बैशाख ३० गते सन्धिखर्क–शान्तिबगैंचा र बैशाख ३१ गते भूमिकास्थानको असुरकोट–उदयठाँटीमा सभा सम्पन्न गरेको राजमोले शनिबार जिल्लाको शितगंगा, पाणिनी र छत्रदेवमा कोणसभा गरेको छ ।

सत्तारुढ दल र सरकारकै गलत प्रवृतिले गणतन्त्रको खिल्ली उडाएको, राजावादीहरु सल्बलाउन थालेको र संघियताले देश कंगाल हुने अवस्थामा पुगेको बिषय आम नागरिकलाई जानकारी गराउने उदेश्यले यस्तो अभियान संचालन गरिएको राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.को भनाई छ । चेतनासभा मार्फत नागरिकले देशको वास्तविक अवस्था बुझ्ने मौका पाएको राजमो अर्घाखाँचीको दाबी छ ।


अभियान समापनको दिन शनिबार शितगंगाको सितापुर, पाणिनीको पाली र छत्रदेवको बल्कोटमा भएका छुट्टा–छुट्टै कार्यक्रममा बोल्ने नेताहरुले गणतन्त्रको विकल्प राजतन्त्र किमार्थ हुन नसक्ने जिकिर गरेका छन् । अन्धकारबाट उज्यालोमा आएका नेपालीहरु फेरि अध्याँरोमा फर्किन नसक्ने भन्दै नेताहरुले लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रको विकल्प गणतन्त्र नै हुने तर्क गरेका छन् ।

नेपाली जनता ठग्नेहरुलाई जनताले चुनावमा ठग्नुपर्नेमा उनिहरुको जोड छ । देशमा उद्योग बन्द गर्ने र युवा विदेश बेचेर देशमा समृद्धिका कुरा गर्नेहरुका कारण गणतन्त्रको बिरोध हुन थालेको उनिहरुको दाबी छ ।

गणतन्त्रको विकल्प खोज्ने बेला भइनसकेको बताउँदै उनिहरुले यदि विकल्प खोज्ने अवस्था आएमा जनगणतन्त्र गणतन्त्रको विकल्प हुने तर राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् ।


सत्तारुढ पार्टी र ब्युरोक्रेसीको स्वार्थले नेपालमा खाद्यान्नदेखि बिउ सम्म बाहिरबाट आयात गर्दा नागरिकमा निराशा छाएको उनिहरुको धारणा छ । देशको शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपूर्ण क्षेत्र नै सरकारले बिचौलियाको हातमा सुम्पिएको नेताहरुको आरोप छ ।


कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी., अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना, राजमो जिल्ला अध्यक्ष थम्मन के.सी., सचिव बाबुराम पन्थी, नेकपा मसाल जिल्ला प्रवक्ता पशुपति ढकाल, अनेम संघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल, अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी. लगायतले बोल्नुभएको थियो ।

३ वटै पालिकामा राजमोका स्थानिय नेता कार्यकर्ताहरुको सहजीकरणमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष भूपाल वि.सी., अखिल छैठौंका जिल्ला अध्यक्ष प्रकाश चुंदाली, रक्तिम सांस्कृतिका अभियानका जिल्ला संयोजक दिपक पन्थी र प्रगतिशिल पत्रकार संघका जिल्ला सदस्य सन्तोष सुनार लगायतको सहभागिता रहेको थियो ।
थप तस्बिर :










