




नेपालमा मनसुन चाँडै भित्रिने संकेत : यसवर्ष नेपालमा मनसुन औसत मिति (जुन १३ तारिख) भन्दा ६ दिनअघि प्रवेश गर्ने लक्षण,औसत मितिभन्दा ६ दिनअघि नै केरला आइपुग्यो मनसुन
यस वर्ष नेपालमा मनसुन (वर्षायाम सुरु गराउने मौसम प्रणाली) औसत मिति (जुन १३ तारिख) भन्दा केही दिनअगाडि नै प्रवेश गर्ने लक्षण देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको प्रारम्भिक अध्ययनले यसपटक मनसुन जुन १३ तारिख अघि नै भित्रिने संकेत देखिएको हो। ‘तर अहिले यो अनुमान मात्र हो, यो आउने कुरा निश्चित गर्न ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्छ’, मौसमविद् अर्यालले आइतबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले अहिले यो अध्ययनकै क्रममा छ।’

तथापि भारतको केरलामा यस वर्ष मनसुन औसत मिति मे ३० तारिखभन्दा ६ दिनअघि नै मे २४ तारिख (जेठ १० गते) नै भित्रिसकेकाले नेपालमा पनि औसत मितिभन्दा चाँडै मनसुन प्रवेश गर्ने अनुमान गरिएको उनले बताए।
मौसम महाशाखाले आइतबार सूचना जारी गर्दै भनेको छ: बंगालको खाडीको उत्तर-पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रमा साथै भारतको केरला आसपासका क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भूभागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढने क्रममा छ।
-NK



