म्याग्दीमा चौरीको आलो रगत बेचेर ४ लाख रुपैयाँ संकलन

-दिलीप पौडेल

 बाग्लुङ – म्याग्दीको खोप्रा लेकमा चलेको चौरीको आलो रगत पिउने मेलामा ४ लाख रुपैयाँ संकलन भएको छ। म्याग्दीलगायत छिमेकी बाग्लुङ, पर्वत, कास्की र चितवनबाट त्यहाँ पुगेकाले रगत किनेर पिएका हुन्।

‘सैयौँ मान्छे यहाँ आएर रगत पिई फर्किएका छन्,’ संयुक्त चौरीपालन समिति अध्यक्ष रुद्रबहादुर मगरले भने, ‘रगत बेचेर ४ लाख आम्दानी गर्‍यौँ।’ एक सातादेखि सञ्चालन भएको मेला शनिबार सकिएको हो। उच्च हिमाली क्षेत्रमा चरेका जिउँदा चौरीको आलो रगत पिएपछि गानोगोला, तुस, अपचको समस्या समाधान भई शारीरिक स्फूर्ति र यौनउत्तेजना बढ्ने जनविश्वास छ।

‘तीन वर्षयता चौरीको रगत पिउने गरेको छु,’ बाथको समस्या भएका बाग्लुङका रामशंकर सापकोटाले भने, ‘विभिन्न ठाउँमा गएर उपचार गर्दा पनि निको भएको थिएन, रगत पिएपछि कुनै समस्या छैन।’

३ हजार मिटरमाथिको उच्च हिमाली क्षेत्रमा चरेका चौरीले यार्सागुम्बा, निरमसीलगायत जडिबुटी खाएकाले रगत निकै शक्तिवर्द्धक हुन्छ । किसानले चौरीको रगत बेचेर मनग्ये आम्दानी गरेका छन्।

किसानले एक गिलास रगतको मूल्य ५० रुपैयाँ तोकेका छन्। मेलाका लागि ४ सय चौरी राखिएको थियो।

एउटै चौरीबाट ६०-६५ गिलाससम्म रगत निकालेको किसान प्रेमबहादुर पुनले बताए। ‘चौरीको मोटोपन हेरेर रगत निकाल्ने गरेका छौँ,’ उनले भने, ‘न्यूनतम ३० देखि ६० गिलाससम्म रगत निकाल्यौँ।’

चौरीको स्वास्थ्य परीक्षण गरेर मात्र रगत निकालिएको थियो। चौरीको स्वास्थ्य परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय, म्याग्दीका पशु स्वास्थ्य प्राविधिक राजेश पाण्डेसहितको नेतृत्वको टोली खोप्रा लेकमै एक साता बसेको थियो।

रगतमा भएका परजीवीले मानव स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राखी पशु सेवा कार्यालयले जुकाविरुद्धको औषधी निःशुल्क वितरण गरेको थियो। प्राविधिकको सिफारिसपछि चौरीको घाँटीमा फलामको तिखो हतियारले सानो प्वाल पारेर रगत निकालिन्छ। २०५३ सालमा म्याग्दीको खोप्रो लेकमा आलो रगत पिउने मेला सुरु गरिएको हो। 

अन्य समाचारहरु