काठमाडौमा महिला प्रहरीले शौचालय जाँदा कम्मरमा भिरेका हतियार भुलेपछि पदोन्नति रोक्का

– केदार ओझा

 

काठमाडौ  – राजधानी काठमाडौमा सुरक्षित शौचालय अभावमा एक महिला प्रहरीले अकल्पनीय क्षति बेहोर्नुपरेको छ । शौचालय जाँदा कम्मरमा भिरेका हतियार छेवैमा राखी र्फकंदा लिन भुलेपछि महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत असई रोजी थापालाई यो विपत आइलागेको हो ।

उनले आफ्नो जिम्मामा लिएको ३१६-७७-२२०३१२० नम्बरको सानो चाइनिज पेस्तोल र त्यसको ६ राउन्ड गोली ग्वार्कोस्थित सार्वजनिक शौचालयमा बिर्सेकी थिइन् । सीआरभीमा ड्युटी गरिरहेकी ती महिला प्रहरीले हतियार छाडेर आएको सम्झना भएलगत्तै पुनः लिन जाँदा पेस्तोल र गोली दुवै गायब भएपछि उनी अत्तालिएकी थिइन् ।

शौचालयबाट मिनेटभरमै हतियार हराएको सूचना रोजीले गाडीमै बसेका समकक्षी साथीहरू र ललितपुर जिल्लाका सबै अधिकृतलाई बताएकी थिइन् । सबैले खोजतलासका लागि चेकजाँच र विशेष प्रयास गरे तर पेस्तोल र गोली दुवै भेटिएन ।

संगठनको जिम्मेवार प्रहरी अधिकृत भएर हतियारजस्ता संवेदनशील वस्तु सुरक्षित स्थानमा राख्नुपर्ने व्यावहारिक ज्ञान हुँदाहुँदै लापरबाही एवं हेलचक्र्याइँ गर्दा हतियार हराएको दोष असई थापामाथि लागेको छ ।

हतियार वास्तवमै शौचालयमा बिर्सेकै हो कि रोजीले अन्यत्र कसैलाई दिएर नाटक गरिन् भन्ने सम्बन्धमा ललितपुर प्रहरीले सई सुजित देवकोटाको अध्यक्षतामा छानबिन टोली गठन गर्‍यो । टोलीले रोजी र उनीसँगै ड्युटीमा रहेका सुरक्षाकर्मीसँग बयान लिँदा शौचालयमा बिर्सेकै ठहर गरेपछि हाल रोजीलाई प्रहरी नियमावली २०४९ अनुसार तीन वर्षका लागि पदोन्नति रोक्का गरिएको छ ।

यो नसिहतले रोजीको वृत्ति विकासमा ठूला असर पर्छ ।

अब उनी एकै योग्यताका समकक्षी साथीहरूभन्दा ढिलो बढुवामा पर्छिन् । त्यतिमात्रै नभएर रोजीलाई हतियार र गोली समेतको बिगो बराबरको जम्मा हुन आउने रकम १८ हजार ८ सय जरिवानासमेत तिराइएको छ । प्रहरी मुख्यालयका अनुसार हराएको उक्त चाइनिज पेस्तोल प्रहरी मुख्यालयले खरिद गर्दा २ सय २५ र गोलीको १ दशमलव ४ अमेरिकी डलर परेको छ ।

‘पुरुषको तुलनामा महिला सुरक्षाकर्मीलाई शौचालय जाँदा कम्मरमा भिरेको हतियार वास्तवमै समस्या हुन्छ,’ महानगरीय आयुक्त कार्यालयका प्रवक्ता माधव नेपाल भन्छन्, ‘रोजीको बयान बनावटी नभएकै ठानी संगठनले उनलाई तुलनात्मक रूपमा कम सजाय गरेको हो ।’

उनका अनुसार सुरक्षाकर्मीले आफूले बुझेको हतियार हराउनुलाई गम्भीर अपराधका रूपमा लिइन्छ र अधिकांश घटनामा हतियार हराउनेलाई बर्खास्तसम्म गर्ने प्रचलन छ । अहिलेसम्म उक्त हतियार कहीं कतै नभेट्टाइएकाले अपराधीले उक्त हतियार प्रयोग गर्न सक्ने आशंका प्रहरीको छ ।

अन्य समाचारहरु