इन्सेफलाइटिस रोगबाट डेढ महिनाको अवधिमा धनगढीमा चारजनाको मृत्यु

धनगढी – लामखुट्टेको टोकाईबाट लाग्ने इन्सेफलाइटिस रोगबाट डेढ महिनाको अवधिमा सेती अञ्चल अस्पताल, धनगढीमा चारजनाको मृत्यु भएको छ। गत असार अन्तिम हप्ताबाट देखिएको यो रोगबाट हालसम्म चारजनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल रेकर्डर दिलीप श्रेष्ठले बताए।

 

हालसम्म, सेती अञ्चल अस्पतालमा इन्सेफलाइटिसबाट पीडित भई उपचारका लागि ३६ बिरामी भर्ना भएकामा छ जनालाई थप उपचारका लागि अन्यत्र पठाइएको र हाल चारजनाको उपचार भैरहेको छ।


सुरुको अवस्थामा फाटफुट रुपमा देखिएको यो रोग भदौ पहिलो हप्तामा भने केही बढी व्यक्तिमा देखिएको थियो। इन्सेफलाइटिसका रोगीहरुको अञ्चल अस्पतालमा निःशुल्क रुपमा उपचार हुने गरेको मेडिकल रेकर्डर श्रेष्ठले बताए। हरेक वर्ष साउनदेखि असोजसम्म कैलालीमा यो रोग देखिने गरेको छ।


विगतमा यो रोगविरुद्ध सञ्चालन गरिएको खोप अभियानपछि हाल इन्सेफलाइटिस रोगले महामारीको रुप लिन नपाएको स्वास्थ्यकर्मीहरु बताउँछन्। रासस

अन्य समाचारहरु